२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हङकङ छोडी कुखुरापालन

आश गुरुङ

लमजुङ — खानालाउन कुनै समस्या छैन । काठमाडौंमा घर छ । बुबा, आमासहित सपरिवार हङकङमा बस्छन् । बेंसीसहर नगरपालिका–१० खासुरका ३६ बर्षीय रामचन्द्र गुरुङलाई न कार्ड बनाउन मन लाग्यो, न हङकङ बस्न नै । बेंसीसहरको घर विक्री गरेर काठमाडौं गएका उनको परिवार अहिले सबै हङकङमा बस्छन् । दाइ अमेरिकामा छन् । दिदी बेलायत छिन् । उनी भने गाउँ फर्केर लोकल कुखुरा र तरकारी खेतीमा लागेका छन् ।

हङकङ छोडी कुखुरापालन

गाउँबाट बेंसीसहर आउने बाटोमा पर्ने भोटेफाँटमा उनको ९ रोपनी जग्गा छ । बेंसीसहरका होमप्रसाद गुरुङ र भोंजेका हीरा गुरुङलाई साथ लिएर उनले व्यावसायिक कुखुरापालन तथा तरकारी खेती गरेका हुन् । करिब २० लाख रुपैयाँ लगानी रहेको लमजुङ पोल्ट्री एन्ड कृषि फार्म सञ्चालन गर्न उनीहरूले ऋण लिएका छैनन् । कृषि ज्ञान केन्द्रको सहयोगमा ३ वटा टनेलमा प्लास्टिक छ । हाते ट्याक्टर अनुदानमा पाएका छन् । सबै रकम तीन जनाले उठाएर लगानी गरेका हुन् । आफ्नै जग्गा भएकाले भाडा तिर्नुपर्दैन ।


दसैं र तिहारको समयमा मात्रै उनले ३ सय कुखुरा बिक्री गरे । लोकल कुखुरा ४ महिनामा हुर्किने उनले सुनाए । हुर्केर बिक्री गर्ने बेला २ देखि अढाई किलोसम्म हुन्छ । एक किलोको ७ सय रुपैयाँ पर्छ । अहिले बिक्री हुने बेलाका करिब १ सय कुखुरा छन् । हुर्कंदै गरेका करिब ३ सय कुखुरा छन् । उनले प्रत्येक महिना ३ सय लोकल कुखुराका चल्ला राख्ने गरेका छन् । दुईवटा टनेलमा गोलभेंडा फलेको छ । एउटा टनेलमा लहरामा फल्ने काँक्रो लटरम्मै छ । गोलभेंडा ८० रुपैयाँ र काँक्रो ५० रुपैयाँ किलोमा बिक्री हुन्छ । काउली रोपेर फल्न लागेको छ । आलु साथै सागपात खेती गरिएको छ । केही जग्गा खनजोत गरेर राखिएको छ । ‘म एक्लै खटिएर गरिराखेको छु । काम गर्ने मान्छे नपाएर हैरान छु,’ उनले भने । उनका अनुसार होमप्रसादले बजार व्यवस्थापन हेर्छन । हीराको गाउँमा आफ्नै ४० रोपनीमा अलैंची खेती गरिएकाले त्यहाँ जाने आउने गर्छन् ।


बेंसीसहरको भूपू सैनिक आवासीय माविमा १२ कक्षा पास गरेपछि काठमाडौं गएका उनी धेरैपटक हङकङ आउजाउ गरे । ‘पढ्ने थिएँ । आँखा अलि कमजोर छ । अन्य काम गर्न भने मज्जाले सकिन्छ,’ उनले भने, ‘हङकङमा गएर पनि काम गर्ने नै हो । बरु आफ्नै जन्मभूमिमा पसिना बगाउनु बेस लाग्यो ।’ अहिले औसत मासिक कमाई ३ लाख रुपैयाँ बढी हुने उनले सुनाए । खर्चमात्रै आधाभन्दा बढी हुन्छ । उनले पालेको लोकल कुखुरा घलेगाउँदेखि भुजुङसम्म पुग्छ । मनाङ र तनहुँमा समेत खपत हुन्छ । ‘अहिले पुग नपुग १ सय जति कुखुरा बिक्री गर्न मिल्नेछ,’ उनले भने, ‘हुर्किंदै गरेको बिक्री गर्न मिल्ने नभएसम्म राख्नु पर्‍यो । धेरै त बेंसीसहरकै होटल व्यवसायीले लान्छन् ।’ ३ वर्षअघि १२ लाख लगानी गरी व्यवसाय थाल्दा ब्रोइलर कुखुरा पालेका थिए । गत वर्षदेखि मात्रै उनले लोकल कुखुरा पाल्न सुरु गरेका हुन् । खोरअगाडि कुखुरा चर्ने ठाउँ बनाएका छन् ।


प्रकाशित : कार्तिक १७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?