१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोखिम मोलेर यात्रा

प्रताप रानामगर

(दमौली) — कच्ची सडक । यात्रु धेरै । सवारी साधन कम । यात्रुलाई गन्तव्यमा नपुगी हुँदैन । तनहुँका ग्रामीण भेगका यात्रु दिनहुँ जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दुलेगौंडा लामागाउँ बाडखोला मोटर मार्गमा दिनहुँ यात्रुको चाप हुन्छ । तर, सवारी साधन भने सीमित छन् । सवारी साधन सीमित हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

दुलेगौडा बजारबाट रातामाटा, फिरफिरेको लामागाउँ हुदै स्याङजाको पुतलीबजार नगरपालिकाको बाडखोलासम्म आधादर्जन जीप संचालनमा छन । कच्ची सडकमा ज्यान जोखिम मोलेर यात्रा गर्न बाध्य भएको यात्रु प्रितम ठकुरीले बताए । ‘सवारी साधन कम चल्छन,’ उनले भने, ‘यात्रु धेरै हुन्छन । यसले कोचाकोच गरेर वा छतमा यात्रा गर्नुपर्ने बाध्यता रहन्छ ।’ नभए गन्तव्यमा पुग्न नसकिने यात्रुको गुनासो छ । सडक कच्ची र साँघुरो भएकाले जोखिपूर्ण यात्रा गर्नुपर्ने उनले बताए ।


सडक चौडा र स्तरोन्नति गरेमा ठूला बस संचालन भएर राहत मिल्ने स्थानीय बताउँछन । उनले शुक्लागण्डकी नगरपालिकासंग सडक स्तरउन्नती गरी बस संचालन गरिदिन माग गरे । ‘छतमा यात्रु राख्नु हाम्रो रहर नभइ बाध्यता हो,’ एक जीपका सहचालक विशाल गौतमले भने, ‘छतमा नराखे यात्रु मान्दैनन । यात्रुको दवाव थेग्न नसकेपछि राख्नुपर्छ ।’ जीपको अगाडी भागमा जम्मा ५ जना र पछाडि ६ जना गरी १३ जना क्षमता मात्र हुन्छ । तर, भित्र र छतमा गरी ३० देखि ३५ जना यात्रु राखेर जीप चलाउन बाध्यता भएको उनले बताए । यात्रुसंगैं खाद्यान्न र अन्य सामान पनि राख्नुपर्छ । बाटो कच्ची छ । कच्ची भएपनि क्षमता भन्दा तेब्बर यात्रु राख्न बाध्यता छ ।


दुलेगौडा, लामागाउँ, बाडखोला, मोटर मार्गको स्तरोन्नतिको काम सुरु भएको शुक्लागण्डकी नगरपालिका– १२ का वडा अध्यक्ष मनराज गुरुङ्गले बताए । नगरपालिका र गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि अघिल्लो वर्षदेखि सडक स्तरोन्नतिको काम भएको उनको भनाइ छ । नगरपालिकाले ६० लाख र प्रदेश सरकारले ५० लाख बजेट खर्च गरेको उनले बताए । यस वर्ष पनि अघिल्लै वर्षको जति बजेट विनियोजन भएको छ । दिनहुँ जोखिम मोलेर यात्रा गर्न बाध्य भएकाले समस्या समाधानमा लागिपरेको उनले बताए । ‘नगरबस संचालनको पहल भइरहेको छ,’ गुरुङले भने, ‘त्यसका लागि बस व्यवसायीसंग छलफल भइरहेको छ ।’ पोखरादेखि दुलेगौडा, घारी, मालेबगर, लिलाचोक, तालबेंशी, रातामाटासम्म नगरबस संचालन गरेर यात्रुलाई सहज यात्रा गराउने तयारी भइरहेको उनले बताए ।


दुलेगौडाबाट फिरफिरे लामागाउँ हुदै स्याङ्गजाको सीमानासम्म १७ किमी दुरी छ । दुलेगौडा लामागाउँ बाडखोला मोटर मार्गमा मात्र होइन यो समस्या । श्रंगपथ, सिन्धुलाल्ध्वज र साँखे राईपुर र कृष्णमार्गमा पनि समस्या उस्तै छ । यी सडकमा धेरै मात्रामा बस संचालन भएपनि यात्रुको चाप भएकाले यात्रुहरू दिनहुँ जोखिम मिलेर यात्रा गर्छन । छतमा यात्रु बोक्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले सवारी साधनको छत निकालेको छ । तनहुँमा मात्र दशैं अगाडि २ सय सवारी साधनका छत निकालेको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले बताए । क्षमता भन्दा बढी यात्रु राखेपछि दुर्घटना हुनसक्ने उनले बताए । मालसामान ओसार्ने जीपमा पनि पछाडीको सीट राखेर यात्रु बोकेको पाइएको उनले बताए । नियम अनुसार मालसामान बोक्ने जीपको सीट पनि हटाएको छ । ट्राफिक नियम उल्लघन गरे कानुनी कारवाही गर्ने उनले बताए । तनहुँमा राजमार्ग र साहयक मार्ग गरी दुई हजार २ सय किमी दुरी सडक छन । त्यस मध्ये ६ सय किमी ग्रामिण सडक रहेको भौतिक पूर्वधार मन्त्रालय नवलपुरका सव इन्जिनियर लक्ष्मण नेपालीले बताए ।


प्रकाशित : कार्तिक १६, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?