२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

माछा मार्ने जात्रा

भिमादको मालेबगरमा धान पाकेपछि जात्रा लाग्ने चलन 
प्रताप रानामगर

(दमौली) — तनहुँको भिमादको मालेबगरमा माछा मार्ने जात्रा बर्सेनि हुन्छ । धान पाकेपछि जात्रा लाग्ने मालेबगर सिंचाइ जलउपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त भुजेलले बताए । 

माछा मार्ने जात्रा

यस्तो जात्रा सुरु भएको ४ दशक पुगेको छ । ‘कात्तिकमा धान पाक्छ,’ उनले भने, ‘यही समयमा माछा मार्ने जात्रा लाग्ने गरेको छ ।’ उपभोक्ताको भेला बसी वर्षभरिको समीक्षा पनि हुने गर्छ । भेलापछि माछा मार्ने जात्राको समय तोकिन्छ । जात्रा सकिनसाथ धान काट्ने उनले बताए । माछा मार्ने जात्राका लागि सिंचाइ आयोजनाको मुल र सहायक कुलोमा पानी सुकाउने गरिन्छ । कुलो सुकाएपछि माछा मार्ने जात्रा सुरु हुन्छ । गाउँघरदेखि सहर बजारबाट जात्रामा माछा मार्न आउने गरेको उनले बताए । थकौली, ढडिया, डोको, जालको प्रयोग गरी माछा मार्ने गरिन्छ । जात्रामा माछा मार्दा कुनै शुल्क लाग्दैन । जात्रा दुई दिनसम्म चल्छ । यसपटक बुधबारदेखि जात्रा लागेको छ । यसले बुदुवा खोला र कुलोमा माछा मार्नेको भीड छ । यसअघिका वर्षमा दुईदेखि तीन सय जनाले खोला र कुलोमा माछा मार्थे । यसपटक तिहारको भोलिपल्ट जात्रा भएकाले अघिल्लो वर्षको तुलनामा कमैको सहभागिता रहेको उनले बताए ।


जात्रामा बर्सेनि माछा मार्न आउने भिमाद–३ माझकोटका तुलबहादुर थापाले बताए । ‘जात्रामा बर्सेनि माछा मार्दै आएको छु,’ उनले भने, ‘पहिले माछा खुबै पाउँथ्यौं । ‘तर, पछिल्ला समयमा माछा पाउन छाडेको छ ।’ जात्रामा मारेको माछा स्थानीय भिमाद बजारमा खपत हुन्छ । खोला र कुलोको माछा स्वादिलो मानिन्छ ।


यहाँ विशेष गरी भोटी, बाम, भित्ते जातका माछा पाइन्छन् । स्थानीय जातका माछा भएकाले व्यापारी जात्रा स्थलमा नै आइपुग्छन् । तर, अहिले खोला र कुलोमा माछा नभएकाले बिक्रीका लागि भन्दा आफैं खानका लागि जात्रामा माछा मार्ने आएका छन् । सेर्का, माझकोट, आम्डाँडा, मिछुर्लुङ, खेक्रेटार, मालेबगर, भिमाद, छाङपाटनलगायत ठाउँबाट जात्रामा माछा मार्ने आउने गरेका उनले बताए ।

प्रकाशित : कार्तिक १५, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?