ओझेलमा घाँसीकुवा

पृथ्वी राजमार्गसँगै रहेको घाँसीकुवा अहिले बत्तीमुनिको अँध्यारो जस्तै छ
सम्झना रसाइली

तनहुँ — घाँसीलाई आदिकवि भानुभक्त आचार्यको प्रेरणका स्रोत मानिन्छ । घाँसीले गरेको कार्यबाट प्रभावित भई भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाएका थिए ।

ओझेलमा घाँसीकुवा

भर्जन्म घाँसतिर मन दिई धन कमायो,

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,

म भानुभक्त धनी भैकन किन आज यस्तो,

मेरा इनार न त सत्तल पाटीकै छन्,

जे धन चिजहरू छन् घरभित्र नै छन्

त्यस घाँसीले कसरी आज दिएछ अर्ती,

धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।’


तनहुँको सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । घाँसीले कुवा खनाएका कारण यो ठाउँको नाम घाँसीकुवा रहन गएको भनाइ छ । पृथ्वी राजमार्गसँगै रहेको घाँसीकुवा अहिले बत्तीमुनिको अँध्यारो जस्तै छ ।


घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । यिनैको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकीकरण गरेका थिए । रामायणलाई नेपाली भाषामा अनुवाद गरी घरघरमा पढ्न सजिलो बनाएका भानुभक्तलाई धेरैले चिनेका छन् तर उनलाई प्रेरणा दिने स्रोतका रूपमा रहेका घाँसीलाई भने कसैले चिन्दैनन् ।


मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता विसं १८९१ मा लेखेका हुन् । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा गरिरहेका छन् । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई ११ र १२ वडा कायम भएको छ । तर घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएका कारण समस्या पर्ने गरेको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउँछन् । स्मारक पार्क संरक्षणका लागि समिति बनाइए पनि घाँसीबारे जानकार छैनन् ।


‘सडकभन्दा केही तल बुल्दीखोला किनारमा भएको कुवा घाँसीले खनाएको मानिन्छ,’ भट्टराई भन्छन्, ‘घाँसीको परिचय र घर खोजिरहेका छौं । घाँसीकुवामा भानुभक्त पानी खान आएका थिए । त्यही भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ । यी सबै सूचनाको स्रोत मोतीराम भट्ट नै हुन् । यो भन्दा बढी सूचना छैन ।’


घाँसीकुवाको पार्कमा राखिएको घाँसीको सालिक काल्पनिक भएको उनले बताए । घाँसी मगर वा रानाभाट हुने सम्भावना नभएको भट्टराइले बताए । ‘बाहुन हुन् भनौं भने त्यतिबेला बाहुनले अरूको काम गर्न जाने चलन थिएन,’ उनी भन्छन्, ‘मगर बस्ति यता छैन, छेउमा दराइ छन्, उनीहरू वनारस पढेर आएका भानुसँग तर्क गर्ने क्षमता राख्दैनथे ।’


आदिकविले लेखेको ‘घाँसी’ शिर्षकको कवितामा घाँसीलाई दरिद्रको संकेत गरेका कारण यहाँका स्थानीयले आफ्नो पुर्खा दरिद्र थिए भन्ने देखाउन नचाहेकाले पनि घाँसीको जन्मथलो र वंश पत्तालाग्न नसकेको भट्टराइको भनाई छ । भानुभक्त र घाँसीको सम्झनामा भव्यताका साथ दिवस र कार्यक्रम गरिने व्यास–१२ घाँसीकुवाकी सुशिला अछामी बताउँछिन् । ‘वर्षको एकदिन असार २९ गते भानुभक्त र घाँसीको स्मरण गर्नेबाहेक अन्य केहि कार्यक्रम हुनसकेको छैन ।’ उनले भनिन्, ‘राष्ट्रिय विभूतिलाई चिनाउने प्रयास गर्नुपर्ने हो ।’


राजमार्गमा गुड्ने सवारी चालक र यात्रुले पनि पानी खाने, शौचालय र एकछिनको विश्रामका लागि घाँसीकुवामा रोकिने गरेको व्यास–११ घाँसीकुवाका सम पन्थले बताए ।


पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुँदैछ । सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने अवस्था छ । यसपछि घाँसीको स्मारक पार्क कहाँ बनाउने भन्ने विषय अन्यौलता बढ्दै गएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले बताउँछन् । वाग्ले भन्छन्, ‘तनहुँबासि र राज्यले आवश्यक ध्यान पुर्‍याउन नसक्दा घाँसीको प्रेरणा र भानुभक्त आचार्यको योगदान ओझेलमा पर्दै गएको हो ।’ घाँसीकुवाको प्रवर्द्धन हुन नसकेको भन्दै उनले अव प्रवर्द्धनात्मक कार्यक्रमको आवस्यकता रहेको बताए ।


अहिले तीन तहका सरकारले ऐतिहासिक स्थलको आवश्यक पूर्वाधारहरू तयार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ध्यानु दिनुपर्ने र आफु पनि त्यसका लागि पहल गर्ने वाग्लेले बताए ।


घाँसीकुवा संरक्षणमा नगरपालिकाबाट केहि पहल नभएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने स्वीकार्छन् । उनले भने, ‘सडक विस्तार गर्ने क्रममा भानु–घाँसी स्मारक पार्क पनि हटाउन पर्ने हो कि भनेर अन्य विकासका कार्यक्रम अगाडि बढाउन सकिएको छैन । तर सरसफाई, मर्मतको काम भने गर्दै आएका छौ ।’

प्रकाशित : कार्तिक ९, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?