सीप सिके घरमै रोजगार

अगन्धर तिवारी

(पर्वत) — बिमला विकलाई ४ वर्ष अघिसम्म बेरोजगारको चिन्ता थियो । सदरमुकाम नजिकै भएर पनि कुश्मा–९ कटुवाचौपारीकी बिमलालाई त्यतिबेलासम्म पैसा देख्ने माध्यम ज्यालामजदुरीको विकल्प थिएन ।

सीप सिके घरमै रोजगार

साथीको सल्लाहमा ६ महिना सिलाइकटाइ सिकेकी उनलाई यतिबेला गाउँमै हातखाली छैन । बिमला मात्रै होइन, कटुवाकै सम्झना सुनारले पनि घरमै सिलाइ मेसिन राखेर राम्रो आम्दानी गरिरहेकी छिन् ।


कुश्माको व्यावसायिक सीप विकास तालिम केन्द्रमा खुलेको ६ महिने तालिम लिएका बिमला र सम्झनाजस्ता सयौं युवायुवतीले हिजोआज गाउँगाउँमा सिलाई व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका छन् । कुश्मा आसपासमा मात्रै नभएर महाशिला, बिहादी, पैयुं गाउँपालिका र फलेबास नगरपालिकामा सीप सिकेर घरमै स्वरोजगार हुनेको संख्या बढ्दो छ ।


‘भर्खरै यान्त्रिक हलोको सिजन सुरु भएको थियो,’ फलेबास–६ देवीस्थानका युवा विकास श्रेष्ठले भने, ‘त्यहि बेलामा तालिम सिकेको । ढुङ्गो खोज्दा देउतै भेटिएजस्तो भयो ।’ मोटरसाइकल र पावर टेलर मर्मतको तालिम सिकेका श्रेष्ठले अहिले मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुने बताए । देविस्थानमै फलेबास रिकन्डिसन वर्कसप सञ्चालन गरेका उनले २ कामदार समेत राखेका छन् । व्यावसायिक सीप विकास तालिम केन्द्रमै केश शृङ्गार तालिम सिकेकी बिहादी–२ बर्राचौरकी शान्ति शर्माले गाउँपालिका नजिकै व्यवसाय सञ्चालन गरेको २ वर्ष भयो । ‘पहिलोपटक कुश्मा जाने क्रममा तालिम खुलेको थाहा पाएँ,’ ३ वर्षअघिको अनुभव सुनाउँदै उनले भनिन्, ‘ख्यालख्यालमै फर्म भरेको नाम निस्कियो ।


नि:शुल्क सिक्न पाएँ । तालिम सिकेपछि गाउँमै व्यवसाय गर्ने सोचेर सुरु गरेकी हुँ ।’ शुरुका केही समय व्यवसाय धान्न मुस्किल परे पनि अहिले राम्रो व्यापार भएको उनले बताइन् । ‘अहिले हरेक युवतीलाई कपाल स्टेट गर्नैपर्छ,’ उनले भनिन्, ‘एउटैको गर्दा १५ सय सम्म आम्दानी हुन्छ ।’ शान्तिले कस्मेटिक र व्युटी पार्लरबाट मात्रै मासिक ३० हजारसम्म आम्दानी हुँदै आएको बताइन् ।


व्यावसायिक सीप विकास तालिम केन्द्रले तालिम सिकेर विदेश जाने माहोल बिस्तारै घटिरहेको दाबी गरेको छ । ‘पहिला विदेशमा भिसा लगाउनकै लागि सीप सिक्ने धेरै हुन्थे,’ केन्द्र प्रमुख डम्बरबहादुर जिसीले भने, ‘अहिले हामीले सिकाएको सीप स्थानीयस्तरमै प्रयोगमा आएका छन् । यो हाम्रा लागि निकै खुशीको कुरा हो ।’ केन्द्रले सिकाएकामध्ये सिलाइकटाइ, प्लम्बिङ, व्युटिसियन, मोबाइल मर्मत लगायतका तालिम सिकेर प्रयोगमा ल्याउनेको संख्या बढ्दो क्रममा रहेको उनले बताए ।


धौलागिरिका चार जिल्लालाई लक्षित गरेर कुश्मामा सञ्चालित तालिम केन्द्रबाट वर्षेनी १३ देखि १४ सय युवायुवतीले विभिन्न प्रकारका तालिम लिन्छन् । मुस्ताङबाहेक बाग्लुङ, पर्वत र म्याग्दीमा सीपमूलक तालिम बाह्रै महिना सञ्चालन हुने केन्द्रका सूचना अधिकारी एवं तालिम प्रमुख प्रकाश पौडेलले बताए । तालिमको प्रभावकारिताबारे औपचारिक अध्ययन नभए पनि बजार र ग्रामिण क्षेत्रमा युवायुवतीले सञ्चालन गरेको व्यवसायले स्थानीयका समस्या गाउँमै समाधान हुनु सकारात्मक पक्ष भएको पैयुंका लालबहादुर प्रधानले बताए ।


प्रकाशित : कार्तिक ८, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?