जुत्ता सिलाउँदै चेली

‘आफ्नै पौरखमा रमाएको छु, आफ्नै कमाइ खाएको छु’
आश गुरुङ

(लमजुङ) — बेंसीसहर नगरपालिका–३ की सुस्मिता गोतामेले ९ कक्षामा पढ्दै गर्दा १६ वर्षकै उमेरमा विवाह गरिन् । उनले सुन्दरबजार नगरपालिका–२ हाँडेटारका रबि गोतामेको घर सम्हाल्नुपर्‍यो । बुवाको २ वर्षअघि मृत्युपछि जुत्ता सिलाउने व्यवसाय सम्हाल्ने जिम्मा रबि र सुस्मिताकोमा सर्‍यो । उनीहरूले घरमा भएको व्यवसायलाई सुन्दरबजारमा ल्याए ।

जुत्ता सिलाउँदै चेली

सुन्दरबजार नगर कार्यपालिका कार्यालय अगाडि मासिक ४ हजार रुपैयाँ भाडा तिरेर गोतामे दम्पत्तीले जुत्ता पसल सञ्चालन गरेका छन् । घरबाट बजार झरेसँगै सुस्मिताले जुत्ता सिलाउन थालिन् । अहिले १४ महिना भयो । ‘यही पनि नगरे के खानु, बालबच्चा कसरी पढाउनु,’ सुस्मिताले सुनाइन्, ‘विदेश गएका उहाँ (पति) को पनि कमाई राम्रो भएन ।’


सुस्मिता बिहान उठेदेखि भान्साको काम गर्छिन् । छोराछोरीलाई स्कुल पठाएपछि जुत्ता सिलाउन बस्छिन् । पतिले झोला र जुत्ता बनाउँछन् । सुरुमा जुत्ता सिलाउने सियोले हातमा घोच्दा पीडा पनि सहिन् । ‘अहिले बानी परेको छ । आफूले जानेको गरेर खानुपर्छ,’ उनले भनिन्, ‘काम नगरे के खाने, के खुवाउने ?’


उनी दिनमा १० जोर बढी जुत्ता सिलाउँछिन् । एकजोरको १ सय रुपैयाँ लिन्छिन् । कम हुने दिनमा ५ वटा आउँछ । ‘महिनाको २०/२५ हजार हुन्छ । यसले खानलाउन पुगेको छ,’ उनले भनिन् । रविले ३/४ वटा जुत्ता बिक्री गर्छन् । यसमा ६ सय रुपैयाँ जति नाफा आउने उनी बताउँछन् । उनको कमाइ पनि त्यही २० हजार वरपर हुन्छ । ‘कमाइ नै तुलना गर्ने हो भने मेरोभन्दा बूढीको धेरै हुन्छ,’ उनले भने ।

कतार गएर मासिक १८ हजार तलबमा काम गरेका उनी २ वर्षपछि फर्किएका हुन् । ‘कमाइ भएन । कम्पनी पनि सानो रहेछ । यतिको पैसा त गाउँमै कमाउँछु भनेर फर्किएँ,’ उनले भने ।


उनले पसलमा २ लाख लगानी गरेका छन् । सहकारीबाट ऋण लिएर उनले व्यवसाय सञ्चालन गरेका हुन् । घर जानमात्रै हिँडेर १ घण्टा लाग्थ्यो । चाँडो आउन नसकिने र ढिलो जान गाह्रो हुने भएपछि उनीहरूले मोटरसाइकल किनेका छन् । सुस्मिताले भनिन्, ‘आफ्नै पौरखमा रमाएको छु, आफ्नै कमाइ खाएको छु ।’

प्रकाशित : कार्तिक ७, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?