२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्न थाले दुरुत्साहन मुद्दा

प्रकाश बराल

(बागलुङ) — चालु आर्थिक वर्षको भदौ र असोज महिनामा जिल्ला अदालत बागलुङमा दुई वटा आत्महत्या दुरुत्साहन मुद्दा परेका छन् । मुलुकी फौजदारी संहिता लागू भए पनि गत बर्ष दुरुत्साहन मुद्दा परेका थिएनन् । 

रवि लामिछाने प्रकरणपछि दुरुत्साहनसम्बन्धी मुद्दाले स्थान पाएको कानुन व्यवसायीले बताएका छन् । यसअघि दुरुत्साहन मुद्दा छिटफुट चले पनि चासोको विषय बन्दैनथे । असोजमा परेको एक दुरुत्साहन मुद्दामा जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । बागलुङ नगरपालिका–४ की एक युवतीले असोज ५ मा गरेको आत्महत्या घटनामा उनका श्रीमान् भुवन केसी पक्राउ परेका थिए । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । उक्त मुद्दामा मुछिएका २ लाई जनही ५० हजार रुपैयाँ धरौटी लिइएको छ । दुरुत्साहनकै मुद्दामा मदनबहादुर लाल नामका अर्का युवक पनि पक्राउ परेका छन् । उनको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको छ ।


‘मुद्दा अन्य प्रकारले परिरहेकै थिए तर अहिले नयाँ व्यवस्थाबारे बुझेपछि दुरुत्साहन भनेर आउन थाले,’ अधिवक्ता भूमिश्वर गौतमले भने, ‘यसअघि कर्तव्य ज्यान मुद्दा चल्ने गर्थ्यो ।’ आत्महत्या गरेको देखिने हुँदा कतिपय मुद्दामा कर्तव्य ठहर नहुँदा सफाइ पाउने उनले बताए । यसअघि झुन्डिएर, डुबेर वा बिष सेवन गरेर आत्महत्या गरेका घटनामा परिवारका सदस्यले मुद्दा नदिने चलन पनि थियो । कतिपयले दिइहाले पनि मानसिक, शारीरिक यातना दिए नदिएको छानबिन कमै मात्रामा हुन्थ्यो । गौतम भन्छन्, ‘नयाँ संहितामा व्यवस्था भएर पनि प्रयोगमा आएको दुई महिनादेखि मात्रै हो ।’ प्रविधिको विकाससँगै मुद्दाका प्रकृतिमा पनि फेरबदल आएको अधिवक्ता राम शर्मा बताउँछन् । यसअघि बागलुङ जिल्ला अदालतले दुरुत्साहन मुद्दाका दोषीलाई धरौटीमा छाड्नेसमेत गरेको थियो । तर उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेपछि जेल पठाएका घटना पनि छन् । ती मुद्दाहरू चर्चामा आएका थिएनन् ।


कारबाही कस्तो छ ?

दुरुत्साहन मुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय फरक छ । कर्तव्य ज्यान मुद्दामा हत्याको मनसाय राखेको, उद्योग गरेको र आफैंले हत्या गरेको हुनुपर्छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय हुन्छ । त्यस्तो घटनामा कम्तीमा १५ वर्ष जेल र एक लाख रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । दुरुत्साहन मुद्दामा भने ५ वर्षसम्म जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तै आत्महत्या गर्नेले कसैको नाम लिंदैमा मात्र दुरुत्साहन गरेको ठहर गर्दैन ।


उक्त घटनामा मुद्दा परेको प्रतिवादीले जानीबुझी सक्रियपूर्वक भूमिका खेलेको हुनुपर्छ । मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १८५ ले दुरुत्साहन हुनका लागि मर्ने व्यक्तिले बाँच्ने अवसर नपाएको हुनुपर्नेसमेत उल्लेख छ । त्यस्तो मुद्दामा प्रहरीको अनुसन्धान टोलीसमेत विज्ञ हुनुपर्ने अधिवक्ता शर्माले सुझाव दिए । ‘प्रविधिको जटिलता बढेपछि प्रहरीको अनुसन्धान प्रणाली पनि परम्परागत भएर पुग्दैन,’ उनले भने, ‘सही रेकर्ड उतार्न नसकेमा हरेक घटनामा दुरुत्साहन लाग्न सक्छ ।’


जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलका अनुसार पछिल्लो समय आत्महत्या दुरुत्साहन मात्र नभई साइवर अपराधका मुद्दा पनि बढेका छन् । ‘प्रविधिको प्रयोगका कारण धेरै मुद्दाको प्रकृति फेरिएको छ,’ पौडेलले भने, ‘सूचना प्रविधि र पत्रकारितामार्फत हुने कतिपय घटनाले पनि ठूलो मुद्दाको रूप लिएको छ ।’ कसैको चरित्रहत्या गर्ने वा झूटा समाचार लेख्ने प्रवृत्ति पनि बढेको उनले जनाए । पत्रकार महासंघले भने सजाय तोक्ने अधिकार अदालतलाई दिइनुपर्ने भन्दै विधेयकको संशोधनको माग गरेको छ ।


प्रकाशित : कार्तिक ६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?