कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकैमा फौजी कीराको प्रकोप

कान्तिपुर संवाददाता

(गण्डकी) — मकै छर्ने र पाक्ने समय अहिले होइन, पछिल्लो समय स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न स्थानमा व्यावसायिक रूपमा बेमौसमी मकै खेती लगाउन थालिएको छ । यस वर्ष भने फौजी कीराले मकै सखाप पारेपछि किसान निराश भएका छन् । 

मकैमा फौजी कीराको प्रकोप

उर्वरभूमि, हावापानी भएका कारण मकैको उत्पादन राम्रो भएपछि गल्याङका किसान बेमौसमी मकै खेतीमा आकर्षित भएका बेला अहिले अमेरिकी फौजी कीराको प्रकोप देखिएको हो । वडा ९ को गेझा, टेक्रे, बेलचौर, जिमुहालगायतका क्षेत्रमा कीराले आक्रमण गरेको स्थानीय किसान नन्दराम शर्मा कँडेलले बताए ।


‘बेमौसमी मकै राम्रै उत्पादन भइरहेको र आम्दानी पनि राम्रै दिइरहेको थियो,’ उनले भने, ‘फौजी कीरा लागेर यसपटक स्वाहा बनाउने भयो । किसानलाई जसै पनि सुख भएन ।’ उनले तत्काल कीरा नियन्त्रणको माग गरे । मकैमा घोगा लाग्ने बेला कीराको प्रकोप हुने गरेको प्राविधिक बताउँछन् । मकैको घोगा, डाँठ र पातमा कीराले आक्रमण गर्दा मासिंदै गएको गल्याङ नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए । ‘कीराले मकै सखापै पारेर किसानलाई धुरुक्कै रुवाएको छ,’ अर्याल भन्छन्, ‘मकै घोगा लाग्ने बेला कीराले आक्रमण गर्‍यो । ठूलो मात्रामा लगाइएको खेती सखाप पार्ने भयो । उत्पादन स्वत: घट्ने भयो ।’


नगरपालिकाका कृषि प्राविधिकसहितको टोलीले निरीक्षण गरी फौजी कीराको प्रकोप भएको ठहर गरेको हो । यसपछि मात्र नियन्त्रणको प्रयास गरिएको अर्यालले बताए । यो स्थान विभिन्न प्रकारको खेती उत्पादन हुने क्षेत्र भएकाले पनि यस्ता रोगलाई बेलैमा निराकरण गर्नुपर्ने उनले सुझाए । वरिष्ठ कृषि प्राविधिक शिव ढकालले निरीक्षणका क्रममा मकैमा देखिएको रोग दक्षिण अमेरिकी फौजी कीरा रहेको पहिचान गरिएको बताए । किसानलाई फौजी कीरा नियन्त्रणका लागि प्रयोग गर्नुपर्ने औषधिबारे पनि जानकारी गराएको उनले सुनाए ।


प्रकाशित : कार्तिक ६, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?