कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

स्थानीय तह : गाउँ फर्काउने योजना

प्रताप रानामगर

(दमौली) — खानेपानी, सडक र बिजुली बत्ती नहुनु बसाइसराइको मुख्य कारक बन्यो । रमाइलो गाउँ भए पनि सुविधा खोज्दै स्थानीयवासी बजार झर्न थाले । सुविधा खोर्ज्दै बसाइ जानेमा तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारी गाउँ पनि अछुतो रहेन । झुरुप्प ३५ घर रहेकोमा अहिले आधा मात्रै बाँकी छन् । अरू भने पोखरा, खैरेनीटार र दमौली बसाइ सरिसकेका छन् । 

सुविधा खोज्दै बजार झरेको तुलबहादुर थापाले बताए । ‘गाउँमा विकास थिएन,’ उनले भने, ‘पैसा कमाउनासाथ बजारमा घर बनाउन थाले ।’ १८ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थापाले छुट्टीमा आउँदा खैरेनीटारमा जग्गा लिएर घर बनाई बजारमै बस्न थालेको उनले सुनाए । उनी भन्छन्, ‘बजार झरेको २० वर्ष भएछ ।’ यतिबेला उनको मन जन्मभूमि मूलाबारीमा फर्केर बस्ने योजनामा छ । ‘बेलायत र खैरेनीबजार बस्ने सोच छैन,’ उनले भने, ‘जन्मभूमि गाउँमा बस्ने मन छ ।’ शान्त वातावरण, स्वच्छ हावापानी र गाउँले दाजुभाइको अत्मीयताले गाउँमा फर्किन लागेको उनले बताए । गाउँमा मोटरबाटो, बिजुलीबत्ती, खानेपानीको सुविधाका कारण गाउँ फर्कने उनको योजना हो ।


गाउँबाट बसाइ झरेकालाई गाउँ फर्काउन स्थानीय युवा पनि लागिपरेका छन् । गाउँलाई कृषि र पर्यटकीय क्षेत्र बनाउने अभियानमा लागेको स्थानीय युवा बसन्त आलेले बताए । उनले भने, ‘बसाइ जानेलाई गाउँ फर्काउने मुख्य माध्यम पर्यटन हो ।’ प्राकृतिक सुन्दरता रहेको गाउँमा अब पूर्वाधार बनाउने योजना उनले सुनाए । पर्यटकीय पूर्वाधारका लागि मूलाबारी घर भएर बिदेसिएका युवाले चन्दा संकलन गर्न थालेका छन् । कालाभैरव मन्दिरसहित २ रोपनी क्षेत्रफलको पर्यटकीय पूर्वधार तयार गरेको उनले बताए । गाउँको विकासका लागि ५ हजारदेखि डेढ लाख रुपैयाँसम्म चन्दा दिएका छन् । कालाभैरव मन्दिर निर्माण समिति अध्यक्षसमेत रहेका आलेले चन्दाबाट ४० लाख संकलन भएको र सबै रकम पूर्वधारमा खर्च भइसकेको बताए । उक्त रकमले कालाभैरव मन्दिर, पिकनिङ स्पोटमा ट्रस, शौचालयलगायतका संरचना बनिसकेको छ । ०७३ सालमा गुरुयोजना बनाएर काम गरिएको थियो ।


‘सरकारको मुख नताकी पूर्वाधार काम गरेका छौं,’ उनले भने । आफूहरूले पूर्वाधार निर्माणमा बाटो देखाएकाले अब स्थानीय, प्रदेश र संघीय सरकारले काम गर्नुपर्ने उनले बताए । डेढ करोड रुपैयाँ भए पर्यटकीय पूर्वाधार हुने उनको अनुमान छ । पूर्वधार बनेपछि बजारमा बसाइ गएका दाजुभाइ गाउँ फर्कर्ने तयारी गरेको उनले बताए ।


आफ्नो गाउँ आफैं बनाउने अभियान लिएर पैसा संकलन गरेर अभियान सम्भव भएको हङकङ बस्दै आएका युवा विपिन थापाले बताए । पूर्वाधार बन्नासाथ कालाभैरव मन्दिरमा क्षेत्रमा आन्तरिक पर्यटक आउने गरेका छन् । यसले स्थानीयको हौसला बढेको छ । गाउँमा होटल र होमस्टे सञ्चालन गर्ने उनले बताए । मूलाबारी सुन्तला बगानले पनि परिचित छ । बसाइ जाने दाजुभाइलाई गाउँमा फर्काउन मूलाबारीलाई कृषि र धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिपरेको स्थानीयले बताए ।


पृथ्वी राजमार्गको धाँयरे, किलचोक डढुवा, नेवार हटिया, ध्यानथोक हुँदै १२ किमि मोटर यात्रा र अर्को भिमादबाट छाङपाटन, काफलस्वाँरा हुँदै ७ किमिको मोटर यात्रा गरेपछि मूलाबारी पुग्न सकिन्छ । कालाभैरवको प्रचार गर्नका लाग विगतका वर्षदेखि कालाभैरव महिला र पुरुष रेस प्रतियोगिता आयोजना हुने गरेको छ ।


गाउँको पूर्वधार विकासमा म्याग्दे गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । अघिल्लो वर्षमा मूलाबारी पुग्ने सडक चौडा बनाइएको र अब स्तरोन्नति गर्ने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ५, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?