कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विदेशी कलाकार मूर्ति कुद्ने

कान्तिपुर संवाददाता

बागलुङ — एकै सातामा उनले संघीय पर्यटन मन्त्रालयदेखि पर्यटन बोर्ड, गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटे  । कहिले संसद् सचिवालय त कहिले नगरपालिका पुग्छन्  ।

यति धेरै दौडधुप गर्ने व्यक्ति कोही व्यापारी वा उद्योगी नभई सामाजिक अभियान्ता हुन् । त्यही पनि तन्नेरी होइनन्, ८१ वर्षका पूर्णबहादुर राना हुन् ।


भारतीय सेनाका पूर्वक्याप्टेन उनी निवृत्त भएर नेपाल फर्केको ४० वर्ष भइसक्यो । तर उनी जागिरे समयकै जस्तो फुर्तीसाथ सामाजिक काममा व्यस्त हुन्छन् । गलकोट नगरपालिका–५ हरिचौरका राना आफ्नो गाउँ चिनाउने अभियानमा छन् । हरिचौरको टेउवामा पर्यटकीय गन्तव्य बनाउने योजना छ उनको । ‘उमेरले आराम गर्ने बेला हो, तर केही उपलब्धी गरेर छाड्न खोजेको छु,’ रानाले भने । टेउवाबाट गलकोट उपत्यका सबै देखिन्छ ।


टेउवा पुगेपछि जिल्लाकै अग्लो घुम्टे पहाड चढ्न आधा बाटो पनि काटिन्छ । ३ हजार मीटर अग्लो घुम्टे जाने पदमार्ग पनि टेउवाबाटै सुरु हुन्छ । टेउवासम्म मोटरबाटो पुगेको छ । त्यसमाथी जाने पदमार्गका लागि गतबर्षदेखि पदमार्ग निर्माण थालिएको छ ।

टेउवामा होमस्टे संचालनको तयारी छ । ३ घण्टाको उकालो चढेपछि घुम्टे पुग्न सकिने भएकाले यहाँ बास बसेर जाने व्यवस्थापनका लागि पर्यटक रमाउने गन्तव्य बनाउन लागेको रानाले बताए । ‘मैले कलामार्फत ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्वका मुर्ति बनाउने योजना छ,’ रानाले भने, ‘त्यसका लागि १५ देशका बरिष्ठ कलाकारलाई निम्ता दिइसकेको छु ।’ उनले फ्रान्ससहित युरोपका कलाकार बोलाएको बताए । ढुंगा खोपेर बनाउने मुर्तिका लागि आगामी फागुनमा २२ दिनको अन्तराष्ट्रिय मुर्तिकला प्रदर्शनी संचालनको तयारीमा उनी जुटेका हुन् । बिदेशी कलाकारले २२ दिन बसेर ढुंगा खोपेर दर्जनौ मुर्ति बनाउने योजना छ ।


राना आफै पनि कलाकार हुन् । उनले अहिले गलकोट उपत्यकाको सिंगो नक्सांकन गरिसकेका छन् । माटोबाट उनले खोला, पहाड, वनजंगल, खेतबारी र बस्ती देखिने बनाइसकेका छन् । ‘मुर्तिकला प्रदर्शनी कार्यक्रमका लागि उनले २ टन बजनका ३० वटा ढुंगा टेउवा पुर्‍याइसकेका छन् । ती ढुंगालाई कुँदेर आर्कषक मुर्ति बनाएपछि नेपाली कला र संस्कृति झल्कने पर्यटकीय गन्तव्य बनाउन लाग्ने बजेटको खोजीमा उनी हिडेका हुन् । प्रदर्शनी फागुन २ देखि सुरु हुनेछ । कार्यक्रमका लागि १ करोड ४१ लाख रुपैयाँ अनुमान गरिएको छ । राना पहिलो संविधानसभाको सदस्य थिए । अहिले राजनीतिक रुपमा सक्रिय छैनन् ।


मेलाको उद्घाटन र समापन समय अवधिमा दिने आर्कषणबाट बिदेशी र स्वदेशी पर्यटक नियमित आउने वातावरण तयार गर्ने समेत उनले बताए । ‘हामीले २२ दिनसम्म दिने सन्देशले वर्षेनी सयौं पर्यटक पुग्ने वातावरण बन्छ,’ उनले भने, ‘ऐतिहासिक गलकोट राज्यसमेत भएकाले त्यसको पहिचान खुल्ने मुर्तिकला पनि बनाइनेछ ।’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले कार्यक्रमका लागि आर्थिक संकलन अभियानमा समेत साथ दिने प्रतिवद्धता जनाएका छन् ।

गलकोट नगरपालिकाले हरिचौरदेखि टेउवासम्मको झण्डै ५ किमी सडक स्तरउन्तीका लागि लगानी गर्ने नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । राना अध्यक्ष रहेको गलकोट कला प्रतिष्ठानका अन्य सदस्य पनि खटेका छन् । उनीहरूको सक्रियता देखेर पर्यटन व्यवसायी, होटल व्यवसायी र उद्योग बाणिज्य संघका पदाधिकारीले पनि सहयोगको आश्वासन दिएका छन् । ‘गलकोट चिनाउने अभियानमा सबैको साथ र सहयोग रहन्छ,’ होटल संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘पर्यटक भित्राउने यो गतिलो काम हो ।’

प्रकाशित : कार्तिक ४, २०७६ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?