२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

राजमार्गको मापदण्डमा अन्योल

सरकारले राष्ट्रिय गौरवको सडक छेउमा २५ मिटर छाड्नुपर्ने प्रावधान बनाएको छ तर बजार खण्डमा १५ मिटरसमेत छाडिएको छैन । कतिपयले १० मिटरभित्रै घर बनाएका छन् ।
प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ बजार खण्डमा निर्माणमा मापदण्डको समस्या देखिएको छ  । सरकारले राष्ट्रिय गौरवको सडक छेउ कम्तीमा २५ मिटर छाड्नुपर्ने प्रावधान बनाएको छ  ।

राजमार्गको मापदण्डमा अन्योल

तर बजार खण्डमा १५ मिटरसमेत छाडिएको छैन । यहाँ कतिपयले १० मिटरभित्रै घर बनाएका छन ।


यो सडक खण्डको मापदण्डबारे अहिलेसम्म राजपत्रमा सूचना प्रकाशित नभएकाले बागलुङ–पोखरा राजमार्ग बन्दाको १५ मिटर मापदण्ड मात्र लागू भएको डिभिजन सडक कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताए । ‘राजमार्ग भएकाले ३१ मिटरसम्मको मापदण्ड लागू हुन्छ भन्ने थाहा छ, राजपत्रमा नआएकाले जबरजस्ती हटाउन सकिंदैन,’ उनले भने, ‘लोकमार्ग आयोजनाले हेरिरहेकाले यहाँका जनतालाई सचेत बनाउने काम आयोजनाकै हो ।’ नगरपालिकाभित्रको खण्डमा नक्सापासलगायत काममा स्थानीय सरकारबाटै चासो बढ्नुपर्ने उनले बताए ।


केही वर्षअघि मापदण्ड पालना गर्दा पुराना घर भत्कने भन्दै लोकमार्गको ट्रयाक खोल्नै नदिएर स्थानीयले विरोध गरेका थिए । केही समयपछि बजार क्षेत्रमा मापदण्ड घटाउन पहल गर्ने भन्दै अवरोध हटेको थियो । नगरक्षेत्रमा कतिपयले नक्सापास नगरी भवन बनाउने क्रम बढाएका छन् । यसरी बनेका घरको मुआब्जा राज्यले दिन नसक्ने आयोजना प्रमुख आशिष थापामगरले बताए । ‘तत्कालका लागि पुरानो मापदण्डमा बसेर काम गरेका छौं, राजमार्गको मापदण्ड भने ३१ मिटर हो,’ थापामगरले भने, ‘अहिले हामीले संरचना भत्काउने अधिकार पाएका छैनौं, राज्यले चाहेको खण्डमा जहिले पनि भत्कन सक्छ ।’ पहिला बनेका संरचनाको हकमा सरकारी दररेटको मुआब्जा पाउने उनले बताए । मापदण्ड लागू भएपछि बनेका संरचनालाई भने राज्यले मुआब्जा दिन नसक्ने उनले प्रष्टयाए ।


बागलुङ बजारको ट्राफिक चोक हुँदै लोकमार्ग लैजादा धेरै संरचना नष्ट हुने भएपछि ३ वर्षअघि आयोजनाले बाङगेचउर, रामरेखा हुँदै उपल्लाचौर पुग्ने खण्डमा नयाँ ट्रयाकलाई लोकमार्गको रूप दिएको छ । सडकको शून्य मानिएको बागलुङको उपल्लाचौर खण्डमा पनि प्रशासनिक झमेला र मुद्दाले ट्रयाक खोल्ने कामसमेत लामो समयसम्म अवरुद्ध भएको थियो । ती समस्या सुल्झेपछि काम थालिए पनि फेरि मापदण्डले अर्को सास्ती निम्तने खतरा बढेको छ । बागलुङ नगरपालिकाले भने मापदण्ड पर्ने स्थानमा तत्कालका लागि नक्सापासको काम रोकेको छ ।


महिनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यहाँको मध्यपहाडी लोकमार्गको सडक खण्ड चौडा भएको छैन । सडक चौडा नभएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिकाको अक्षेते खण्डको खहरे नजिकैको भीरमा चौडा पार्ने भन्दै गत भदौ १८ गते देखि असोज १७ गते सम्म दैनिक ८ घण्टा यातायात बन्द गरिएको थियो । लोकमार्ग आयोजना र ठेकेदार कंपनीले एक महिनाभित्रै काम सक्ने दावी गरेकोमा अलपत्रै छाडेको हो । काम अलपत्र परेपछि सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन । पैदलयात्री हिडन पनि सास्ती भएको स्थानीयले बताए ।


लोकमार्गको खण्ड भए पनि जिल्लाका अधिकांस बासिन्दा यो सडक भएर पश्चिमतर्फ जानुपर्छ । ‘सबै राम्रो बाटो हिँडे पनि सदरमुकाम आइपुग्दा जोखिम मोल्नुपर्छ,’ बडिगाड–२ का कमल पौडेलले भने, ‘प्रशासन र नेताहरूले पनि किन चासो राख्दैनन, बुझ्नै सकिएन ।’ हरेक दिन बिहान साढे ७ बजेदेखि २ घण्टा र दिउसो साढे १० बजेदेखि बेलुकी ५ बजेसम्म सडक बन्द गराएर चौडाको काम गरिएको थियो । उक्त कामबाट सोचेजस्तो उपलब्धि नभएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर रामप्रसाद सुवेदीले बताए । ‘ठेकेदारले राम्रो काम गरेन, चाडपर्वमा जनताले झनै सास्ती पाउने भए भनेर रोकेका छौं,’ सुवेदीले भने, ‘तिहारपछि प्रभावकारी काम गर्छौ ।’ प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले कामको गती राम्रो नदेखेपछि चाडपर्वमा जनतालाई सास्ती नदिन निर्देशन दिएपछि काम रोकिएको उनले बताए ।


खहरे खण्डमा ठूलो पहरा भएकोले अहिलेसम्म सडकको ट्रयाक मात्र छ । हिलो र पहरो भएकाले साना सवारी साधन ठोकिन्छन् । ठेक्का लिएको भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीका इन्जिनियर मिहिर सिंहले भने काम एक महिनामा सक्ने दाबी गरेका थिए । अहिले भने उनीहरू काम छाडेर सम्पर्कविहीन भएका छन् । चाडपर्व मनाउन गएकाले उनीहरू तिहारपछि मात्र आउने भन्दै सुवेदीले ठेकेदारको बचाउ गरे ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?