सबस्टेसन नबन्दा विद्युत् खेर

कान्तिपुर संवाददाता

म्याग्दी — उत्पादित बिजुली सबस्टेसनमा चार्ज गरी केन्द्रीय प्रसासरण लाइनमा जोड्न नपाउँदा जिल्लाका २ जलविद्युत् आयोजनाको १३ मेगावाट बिजुली खेर गइरहेको छ  । अन्नपूर्ण–३ दाना तथा पर्वतको कुस्मास्थित खुर्कोट सबस्टेसन जोडने कालीगण्डकी करिडोर २२०/१३२ केभीए प्रसारण लाइन निर्धारित समयमा नबन्दा थापाखोलाको ८ मेगावाट र घलेम्दीको ५ मेगावाट बिजुली खेर गएको हो  ।

घलेम्दी जलविद्युत् आयोजनाले असारमै टनेल, वेट तथा ड्राई, भोल्टेज तथा पावरको पुन: परीक्षण तथा सबस्टेसनका पावर सप्लाई टेस्ट पूरा गरी विद्युत् पठाउने माध्यम नपाएकाले उत्पादन होल्ड गरी बसेको छ । ‘आयोजनाबाट उत्पादित बिजुली जोडने सबस्टेसन तयार नहुँदा २ महिनादेखि अलपत्र छौं । बैंकको ब्याज मिटरझैं घुमेको घुमै छ,’ आयोजनाका कम्पनी सचिव विमल रिजालले भने, ‘यता उत्पादित बिजुली जोड्ने सबस्टेसन पाएनौं ।’


थापाखोलाको १३.६ मेगावाट विद्युत्मध्ये ५ मेगावाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापस्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविद्युत्को सबस्टेसनमा सिङक्रोनाइज गरी ३३ केभीएवन वे राष्ट्रिय प्रसारण लाइनमा चार्ज गरिएको छ । उत्पादित विद्युत् खेर मात्र गइरहेको छैन, सानो क्षमताको पुरानो प्रसारण प्रणालीमा ठूलो क्षमताको विद्युत् जोड्दा साविक धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा पटकपटक विद्युत् अवरोध हुने समस्या देखिएको छ ।


विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका अनुसार पर्वतको मोदीखोला सवस्टेसनबाट निक्लेको एउटै ३३ केभीए प्रसारण लाइन कुस्मा–बागलुङ–बेनी हुँदै ८२ किमिमाथि मुस्ताङको कोबाङसम्म पुर्‍याइएको छ । यति लामो प्रसारण लाइनमा धौलागिरीका झन्डै ५ सय साना ठूला ट्रान्सफर्मरको लोड रहेको छ । लामो दूरी भएकाले फल्ट पत्ता लगाई छिटो विद्युत् नियमित गर्न दर्जनभन्दा बढी ठाउँमा सेक्सन छुटयाइएको छ । फल्ट पत्ता लगाउन हरेक सेक्सनमा लाइन काट्दै हेर्दै गर्ने भएकाले म्याग्दीमा दैनिक १० पटकभन्दा बढी विद्युत् अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?