डेढ महिना टिकेन टायल

कान्तिपुर संवाददाता

कास्की — पोखराको चिप्लेढुंगास्थित फुटपाथमा बिछ्याइएको टेक टायल (अपांगमैत्री टायल) डेढ महिनामै उप्किएको छ । टायल उप्किदा बाटो हिँड्न असहज भएको दृष्टिविहीन अस्मिता चापागाईं बताउँछिन् । ‘बनाइसकेपछि लामो समयसम्म टिक्ने गरी बनाएको भए राम्रो हुन्थ्यो नि,’ उनले भनिन, ‘देख्नलाई राम्रो बनाएर मात्र भएन । बलियो हुनुपर्‍यो ।’ उनले फुटपाथमा खाल्डाखुल्डी हुँदा आफूजस्ता दृष्टिविहीन लड्न सक्ने बताइन् । टायल नओछ्याउँदा धेरै सहज भएको र महानगरले सजिलो बनाउँछु भन्दा झन् अप्ठ्यारो अवस्थामा पुर्‍याएको उनको गुनासो छ ।

नजिकका पसलमा काम गर्ने विष्णु भुर्तेलले सडकमा जाम भएका बेला मोटरसाइकल फुटपाथबाटै चलाउने गरेको बताए । यसले पनि पैदलयात्रु जोखिममा रहेको उनको भनाइ थियो । टेक टायल विशेष गरी दृष्टिविहीन भएका व्यक्तिलाई हिंड्न बनाएको इन्जिनियर मोहन गौतमले बताए । ‘टाइल सेट हुँन ४ घण्टा सुक्न दिनुपर्छ तर, बिछ्याउँदासाथ यात्रु हिँड्ने भएकाले छिट्टै उप्केको हो,’ उनले भने,’ ‘मोटरसाइकल र हेवी सवारी साधन हिँडिदिए भने झनै छिटो उप्किन्छ ।’ उप्किएको टायल मर्मत भइरहेको उनले बताए ।


महानगरको ६० र एसियन कंक्रिट र उपभोक्ताले ४० प्रतिशत व्यहोर्ने गरी चिप्लेढुंगा र महेन्द्रपुल क्षेत्रमा फुटपाथ बनाइएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जीसीले फुटपाथमा दिगोरूपमा टायल राख्ने योजना सुनाए । महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने यस विषयका कुनै मेसो नपाएको बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?