कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एक दिनमै उप्कियो कालोपत्रे

कान्तिपुर संवाददाता

(बागलुङ) — बागलुङ सदरमुकामको रामरेखामा कालोपत्रे गरेको भोलिपल्टै उप्केको छ । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधीन सडकको कालोपत्रे उप्केको हो । 

बुधबार दिउँसो कालोपत्रे गरेर छाडिएको स्थानमा शुक्रबार दिउँसो हलुका सवारी गुड्दा कालोपत्रे उप्केको हो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उधाङ्गो बनाएर फालिदिएका छन् । रामरेखास्थित जसबीर टोलको सय मिटर खण्डमा कमसल भएको भन्दा भन्दै कालोपत्रे उप्काइएको इन्जिनियर मनोज शर्माले बताए ।


‘धुलो उडाएर पानीले पखालेपछि मात्र कालोपत्रे हाल्नुपर्नेमा नभएको भेटियो,’ शर्माले भने, ‘स्थानीयले गुनासो गरेपछि आफैं पुगेर उक्त खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको छु ।’ ठेकेदार कम्पनीलाई फोन गरेर सडक पुनर्निर्माण गर्न निर्देशन दिएको उनले बताए ।


८२ लाख रुपैयाँको लागतमा भित्रि सडक मर्मतका लागि गत असारदेखि नै काम भएको थियो । चाडपर्वका कारण रोकिएको काम तिहारभित्रै सक्नेगरी पुन: थालिएको थियो । उक्त घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन् । ‘झारा टार्ने काम गर्दा नगरपालिका प्रतिको विश्वास गुम्छ, त्यसैले गुणस्तरीय काम गर्न भनेका छौं,’ वडा १ का अध्यक्ष दुर्गाबहादुर बोहोराले भने, ‘ठेक्काको काम भने पनि जस्तो पनि गर्न पाइँदैन ।’


कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको भेटिएको छ । नालीको सतह बराबर बनाउनुपर्नेमा खाल्डैखाल्डा छाडेको भेटिएको थियो । ती खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने शर्माले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?