झोलुङ्गे पुलमा मोटरसाइकल !

अग्ला र लामा पुलको डिजाइन बाइक कुदाउने गरी बनाइएको नभए पनि बाटो छोटिने हुँदा प्रयोग गर्नेको संख्या बढेको छ 
अगन्धर तिवारी

(पर्वत) — सिङ्गल स्पानमा मुलुककै अग्ला र लामा दाबी गरिएका जिल्लाका झोलुंगे पुलमा पैदल यात्रु मात्रै नभएर सवारी साधन समेत वारपार हुने गरेका छन् । सामान्यतया नदी वारपार गर्न पदयात्रीका लागि निर्माण गरिएका अग्ला पुलले मोटरसाइकल चालकका लागि समेत सहज गन्तव्य बन्दै गएका छन् । सदरमुकाम कुश्माबजारमा रहेका चारवटै अग्ला पुल मोटरसाइकल बाहकका लागि छोटोछरितो बाटो भएको छ । तर पैदलयात्रुलाई भने असहज भएको छ । 

कुश्मा–मुडिकुवा, कुश्मा–खरेहा, कुश्मा–कटुवा र कुश्मा–कैया जोड्ने चारवटा झोलुङ्गे पुलमा पैदलयात्रुको भन्दा मोटरसाइकलको चाप बढी हुन्छ । सुरुमा कुश्मा–कैया र कुश्मा बलेवामा मात्रै खुला गरिएका मोटरसाइकल वारपार पछिल्लो समय भने सबैमा गरिएको हो । बिहानदेखि साँझसम्म सबैजसो अग्ला पुलमा मोटरसाइकलमा सवार गर्नेको चाप थेगिनसक्नु हुनेगरेको स्थानीय बताउँछन् ।

सिंगल स्पानको पुलमा एउटा बाइक गुडाएपछि यात्रुलाई पैदल हिंड्न सहज हुँदैन । मोटरसाइकलकै कारण पैदल यात्रुलाई हिंडडुल गर्न समस्या हुने मुडिकुवाका थानेश्वर भुषाल बताउँछन् । ‘पिच सडकमै जस्तोगरी बाइक हुईंक्याएर ल्याउँछन्,’ उनले भने, ‘एउटा–एउटा हिंड्ने बनाइएको नियम पालना भएन ।’ कुश्मा–मुडिकुवा झोलुङ्गे पुलमा सुरुसुरुमा दैनिक २/४ वटा मोटरसाइकल वारपार हुनेगरेकोमा यतिबेला सयौं वारपार गर्ने उनले बताए । मुडिकुवा, देविस्थान, खानीगाउँ, कुर्घा, पाङराङलगायत दक्षिण पर्वतका बासिन्दाका लागि कुश्मा–मुडिकुवा र फलेवास–कुर्घा जोड्न बनेका झोलुङ्गे पुलले ४ घण्टा बाटो छोटिएको छ ।

बिगतमा दिनभर समय खर्च हुने दक्षिण पर्वतबासीका लागि मोटरसाइकलमा यात्रा गर्दा कुश्माबाट अढाई घण्टामै हुवास पुग्न सकिन्छ । झोलुङ्गे पुलमा सहजै बाइक गुडाउन पाएपछि ४ घण्टाको बाटो २ घण्टामै छोटिएको रानीपानीका हरि न्यौपानेले बताए । ‘कुर्घाबाट चिर्दी घुमेर फलेबास आउँदा एक घण्टा लाग्थ्यो,’ उनले भने, ‘मुडिकुवाबाट दोबिल्ला हुँदै कुश्मा अर्को एक घण्टा । ती दुवै ठाउँका पुलले दुई घण्टा बाटो छोटिएको छ ।’

सदरमुकाममा कोठा खोजेर बस्दैआएका ज्ञादी, फलेबास र बिहादीसम्मका कर्मचारी, शिक्षक, विद्यार्थी पनि मोटरसाइकलमा केही मिनेटमै आउजाउ गर्छन् । ‘कुश्माबाटै बिहादी आउजाउ गर्न भ्याएको छु,,’ बिहादी–१ बाच्छाको जनकल्याण माविका शिक्षक झलक चापागाईंले भने, ‘बाइक भएपछि एक घण्टामै स्कुल पुगिन्छ ।’

बिहान ९ बजे खाना खाएर हिँडेपछि १ घण्टामै बिहादी पुग्न सकिने उनले बताए । ३ वर्षअघि फलेवास नगरपालिकाले मुडिकुवास्थित माटेदेवल मावि हुँदै झोलुङ्गे पुलसम्मको ३ किमि सडक स्थानीयको सक्रियतामा खनिएको हो । मुडिकुवास्थित माटेदेवल माविदेखि पुलसम्म ट्रयाक खुलेपछि मोटरसाइकल वारपार गर्न सहज भएको हो । अहिले मोटरसाइकलमा यात्रा गर्नेहरू कुश्माबाट जिल्लाको सुदुर दक्षिण हुवाससम्म अढाई घण्टामै पुग्छन् । कुश्मा र फलेवासको पुल बन्नुअघि ५/६ घण्टा लाग्थ्यो ।

त्यस्तै बागलुङतर्फको झोलुङ्गे पुलमा समेत दैनिक करिव दुई सय मोटरसाइकल वारपार गर्ने स्थानीय बताउँछन् । बलेवाका रामबहादुर पौडेलले दसैंयता सबेरैदेखि साँझ अबेरसम्म पुलमा बाइक वारपार गर्नेको भीड लागेको बताए । ‘पहिला बाइक तार्न नदिने कि भन्ने सोचेका थियौं,’ पुल निर्माण समितिका अध्यक्ष रहेका उनले भने, ‘पछि सबैको माग भयो, प्राविधिकको सल्लाहमा तार्न दिने निर्णय गर्‍यौं ।’ स्थानीय प्रशासनले समेत पुलमा मोटरसाइकल वारपार गर्न दिने निर्णय गरेपछि सहज भएको उनले बताए । तर, लत्रिनेगरी एकैपटकमा ५–६ ओटासम्म बाइक चलाउँदा भने पुलको आयु छोटो हुने सरोकारवाला बताउँछन् । समितिकै पहलमा पुलसम्म आउने सडक खनेपछि पुलमा बाइक वारपार गर्न सहज भएको छ ।

प्राविधिक हिसाबले भने झोलुङ्गे पुलमा मोटरसाइकल वारपार गर्नु उपयुक्त नहुने जानकार बताउँछन् । ‘यस्ता अग्ला पुलमा बाइक तार्नु प्राविधिक हिसाबले उपयुक्त होइन,’ कुश्मा–मुडिकुवा पुलका डिजाइनर इन्जिनियर रबिन्द्र तिवारी भन्छन्, ‘अहिले सजिलोका लागि गुडाउँछन् । पुल डिजाइन गर्दा बाइकका लागि होइन ।’ इन्जिनियर तिवारीकै अगुवाइमा बनेको कुश्मा–मुडिकुवा पुल बाइक तार्नेगरी डिजाइन नगरिएको उनले बताए ।

२०६६ सालमा कुश्मा–ज्ञांदी जोड्न ३ सय ३५ मिटर लामो पुल बनेपछि त्यसलाई सिंगल स्पानको मुलुककै लामो पुल दाबी गरियो । त्यही पुल हेर्न आउने पर्यटकको केही वर्ष भीड नै लाग्यो । त्यस्तै मुडिकुवा–कैया र कुश्मा १ पाङबाट बागलुङ बजार जोड्न थप दुई पुल निर्माणाधीन छन् । यिनमा भने मोटरसाइकल वारपार गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खाडीको सीप गाउँको माटोमा

प्रकाश बराल

(बागलुङ) — नेपालमा रोजगार पाइएन भनेर साउदी अरबमा काम खोज्दै गएका उनले फर्केपछि आफ्नै बारीमा सुन फलाउन सकिने पत्ता लगाए । खाडी मुलुकमा बगाएको पसिना आफ्नै गाउँमा बगाउँदा दोब्बर कमाउन सकिने उनले बल्ल बुझेका छन् । गलकोट नगरपालिका–११ रिघाफेदीका जीतबहादुर रानाले खाडीमा सिकेको सीप र बुझेको ज्ञान आफ्नै माटोमा लगाउन थालेका छन् । 

‘पहिला रोजगारी खोज्दै विदेश गएँ, उताको भन्दा थोरै मेहेनतले यहाँ राम्रो कमाउन सकिने रहेछ’ उनले भने । राना १२ बर्ष साउदीमा बस्दा तरकारी खेतीमा काम गरे । उक्त अनुभव बोकेर फर्केका रानाले छिमेकी रामप्रसाद पुन र शेरबहादुर श्रीसको साथ लिएर तरकारी खेती गरेका छन् । पछिल्लो ८ बर्षदेखि निरन्तर तरकारी खेती गर्दा वार्षीक १५ लाख रुपैयाँसम्म कमाउन थालेको उनले बताए ।

उनीहरूले २४ रोपनी जमिनमा तरकारी खेती गरेका छन् । रिघाफेदी र बडिगाड गाउँपालिका–२ को खरवाङ बजारमा उनीहरूले जग्गा भाडामा लिएका छन् । जैबिक मलका लागि भैसी, बाख्रा र कुखुरा पालेका छन् । बिषादी नराखीकनै उत्पादन गर्न सफल भएका उनीहरूले मौषमी र बेमौषमी तरकारी लगाएका छन् । उनीहरूले १५ प्लाष्टिक टनेलमा तरकारीसहित काक्रो, खुर्सानी, फूल र मसलाबाली लगाएका छन् ।

नजिकैको खरवाङ र गुल्मीको वामीटक्सारमा तरकारी विक्री हुन्छ । तीनै जनाले जनही १८ हजार रुपैयाँ मासिक तलव तोकेका छन भने ७ अन्य कामदार राखेका छन । दैनिक गोडमेल गर्ने, तरकारी टिप्ने, बजार पठाउने र हिसाव राख्ने उनीहरूको दैनिक काम हो ।

‘विदेशबाट पैसा कमाएर ल्याउन सकिन, सीप र मेहेनत भने ल्याएको थिएँ, त्यसले यहाँ आएर उद्यमी बन्न सिकायो’ उनले भने, ‘घरपरिवारसँगै बसेर यति धेरै कमाउन सकिने रहेछ, पहिला बुझ्न सकिएन ।’ उनले तरकारी खेतीबाटै राष्ट्रिय पहिचान बोकेको किसान बन्ने चाहना राखेको बताए । उनी अध्यक्ष रहेको मिलिजुली कृषि समूह छ । समूहका अन्य किसानलाई पनि व्यवसायिक कर्ममा लगाउन प्रेरित गर्छन । २ वर्षअघि युवालक्षित कार्यक्रममार्फत नेपाल सरकारबाट १० लाख रुपैयाँको अनुदान पाएपछि उनीहरू हौसिएका छन् । ‘सरकारले पनि अनुदान दिएपछि हामीलाई थप हौसला मिलेको छ’ श्रीसले भने, ‘काम गरेको किसानलाई माथिबाट पनि हेरिएको रहेछ भन्ने लागेको छ, मेहेनत बढायौं भने थप साथ पाउने विश्वास पनि छ ।’ अनुदानपछि उनीहरूले हाइटेक प्रविधिका टनेल बनाउन थालेका छन् ।

उनीहरूको मेहेनतबाट तराईको तरकारी रोकिएको स्थानीयले बताए । समय समयमा बुटवलका व्यपारीलाई पनि तरकारी पठाउँछन । मिलिजुली समूह मार्फत किसानले मौरीपालन, च्याउखेती, माछापालन र पशुपालनको काममा पनि हात हालेका छन् । सामान्य कृषि प्रविधिको सहयोग तथा केही अनुदान पाएकै भरमा पनि उनीहरूको पेशाले व्यवसायको रुप लिइरहेको कृषि प्राविधिक राजु शर्माले बताए । किसानलाई आवस्यक पर्दा प्राविधिक सहयोग गरिदिन सकियो भने उत्पादन बढ्ने र आयआर्जनकै कारण काममा हौसिने अवस्था रहेको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT