खाडीको सीप गाउँको माटोमा
(बागलुङ) — नेपालमा रोजगार पाइएन भनेर साउदी अरबमा काम खोज्दै गएका उनले फर्केपछि आफ्नै बारीमा सुन फलाउन सकिने पत्ता लगाए । खाडी मुलुकमा बगाएको पसिना आफ्नै गाउँमा बगाउँदा दोब्बर कमाउन सकिने उनले बल्ल बुझेका छन् । गलकोट नगरपालिका–११ रिघाफेदीका जीतबहादुर रानाले खाडीमा सिकेको सीप र बुझेको ज्ञान आफ्नै माटोमा लगाउन थालेका छन् ।
‘पहिला रोजगारी खोज्दै विदेश गएँ, उताको भन्दा थोरै मेहेनतले यहाँ राम्रो कमाउन सकिने रहेछ’ उनले भने । राना १२ बर्ष साउदीमा बस्दा तरकारी खेतीमा काम गरे । उक्त अनुभव बोकेर फर्केका रानाले छिमेकी रामप्रसाद पुन र शेरबहादुर श्रीसको साथ लिएर तरकारी खेती गरेका छन् । पछिल्लो ८ बर्षदेखि निरन्तर तरकारी खेती गर्दा वार्षीक १५ लाख रुपैयाँसम्म कमाउन थालेको उनले बताए ।
उनीहरूले २४ रोपनी जमिनमा तरकारी खेती गरेका छन् । रिघाफेदी र बडिगाड गाउँपालिका–२ को खरवाङ बजारमा उनीहरूले जग्गा भाडामा लिएका छन् । जैबिक मलका लागि भैसी, बाख्रा र कुखुरा पालेका छन् । बिषादी नराखीकनै उत्पादन गर्न सफल भएका उनीहरूले मौषमी र बेमौषमी तरकारी लगाएका छन् । उनीहरूले १५ प्लाष्टिक टनेलमा तरकारीसहित काक्रो, खुर्सानी, फूल र मसलाबाली लगाएका छन् ।
नजिकैको खरवाङ र गुल्मीको वामीटक्सारमा तरकारी विक्री हुन्छ । तीनै जनाले जनही १८ हजार रुपैयाँ मासिक तलव तोकेका छन भने ७ अन्य कामदार राखेका छन । दैनिक गोडमेल गर्ने, तरकारी टिप्ने, बजार पठाउने र हिसाव राख्ने उनीहरूको दैनिक काम हो ।
‘विदेशबाट पैसा कमाएर ल्याउन सकिन, सीप र मेहेनत भने ल्याएको थिएँ, त्यसले यहाँ आएर उद्यमी बन्न सिकायो’ उनले भने, ‘घरपरिवारसँगै बसेर यति धेरै कमाउन सकिने रहेछ, पहिला बुझ्न सकिएन ।’ उनले तरकारी खेतीबाटै राष्ट्रिय पहिचान बोकेको किसान बन्ने चाहना राखेको बताए । उनी अध्यक्ष रहेको मिलिजुली कृषि समूह छ । समूहका अन्य किसानलाई पनि व्यवसायिक कर्ममा लगाउन प्रेरित गर्छन । २ वर्षअघि युवालक्षित कार्यक्रममार्फत नेपाल सरकारबाट १० लाख रुपैयाँको अनुदान पाएपछि उनीहरू हौसिएका छन् । ‘सरकारले पनि अनुदान दिएपछि हामीलाई थप हौसला मिलेको छ’ श्रीसले भने, ‘काम गरेको किसानलाई माथिबाट पनि हेरिएको रहेछ भन्ने लागेको छ, मेहेनत बढायौं भने थप साथ पाउने विश्वास पनि छ ।’ अनुदानपछि उनीहरूले हाइटेक प्रविधिका टनेल बनाउन थालेका छन् ।
उनीहरूको मेहेनतबाट तराईको तरकारी रोकिएको स्थानीयले बताए । समय समयमा बुटवलका व्यपारीलाई पनि तरकारी पठाउँछन । मिलिजुली समूह मार्फत किसानले मौरीपालन, च्याउखेती, माछापालन र पशुपालनको काममा पनि हात हालेका छन् । सामान्य कृषि प्रविधिको सहयोग तथा केही अनुदान पाएकै भरमा पनि उनीहरूको पेशाले व्यवसायको रुप लिइरहेको कृषि प्राविधिक राजु शर्माले बताए । किसानलाई आवस्यक पर्दा प्राविधिक सहयोग गरिदिन सकियो भने उत्पादन बढ्ने र आयआर्जनकै कारण काममा हौसिने अवस्था रहेको उनले बताए ।