३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कालीगण्डकीमा पर्यटकको लर्को

विदेशीले असोज पहिलो सातामै टिकट बुकिङ गरेको भए पनि कालीगण्डकीमा पानीको सतह नघटेपछि जलयात्रा ढिलो सुरु भएको हो
अगन्धर तिवारी

पर्वत — मनसुन सकिएर पानीको बहाव घटेसँगै कालीगण्डकीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु भएको छ । अघिल्ला वर्षमा भदौको अन्तिम सातादेखि नै हुने जलयात्रा यो पटक मनसुन ढिलासम्म सक्रिय भएका कारण एक महिना पछि सुरु भएको हो ।

कालीगण्डकीमा पर्यटकको लर्को

कालीगण्डकी आन्तरिकभन्दा बढी बाह्य पर्यटकको रोजाइमा पर्छ । विदेशीले यसलाई पारिवारिक जलयात्रा (फेमिली रिभर) को उत्तम गन्तव्यका रूपमा ठान्दै आएका छन् । दसैंलगत्तै कालीगण्डकीमा जलयात्रा गराउन विभिन्न कम्पनीले विदेशी ल्याउन थालेका हुन् ।


कालीगण्डकीलाई जलयात्रामा अधिक बढी रुचाउनेमा इजरायल, स्पेन, नेदरल्यान्डलगायत केही अमेरिका र चिनियाँ पर्यटक छन् । पर्वतको कुस्मा–१ नयाँपुलमा ३ वर्षदेखि र्‍याफिङ कम्पनी सञ्चालन गरेका होम पुनका अनुसार गत सातादेखि र्‍याफिङमा आउने विदेशीको चाप बढ्दो छ । ‘बुकिङ धेरै पहिलादेखि भइरहेको थियो,’ पुनले भने, ‘पानी नघटेकाले रोकेका थियौं ।


दसैंलगत्तै सुरु गरिएको छ ।’ यो साता पोखराका विभिन्न र्‍याफिङ व्यवसायी नयाँपुलबाट मोदीबेणी–त्रिबेणी–मिर्मी हुँदै जलयात्रा गरिसकेको उनले बताए ।


विदेशीले असोजको पहिलो सातामै र्‍याफ्टिङका लागि टिकट बुकिङ गरेको भए पनि कालीगण्डकीमा पानीको सतह नघटेपछि गत सातादेखि मात्रै जलयात्रा सुरु गरिएको हो । बुधबार र बिहीबार दुई समूह लिएर आएका रेड स्विसा र्‍याफिङ कम्पनीका सञ्चालकले ३ दिनको प्याकेज सकेर फर्किएको बताए ।


र्‍याफिङ कम्पनी सञ्चालक अर्जुन दाहालका अनुसार यो सिजनमा आउनेमध्ये धेरै विदेशीले कालीगण्डकीलाई रोज्छन् । ‘विदेशी प्रकृतिमा रमाउन खोज्छन्,’ दाहालले भने, ‘यहाँका प्राकृतिक दृश्य नै उनीहरूका रोजाइ बन्ने गरेका छन् ।’ कालीगण्डकीले बनाएको गहिरो गल्छीबाट आकाश हेर्दा छुट्टै मनोरन्जन हुने अनुभव आफूले पनि गरेको उनले बताए ।


कालीगण्डकीमा असोज, कात्तिक, मंसिर, फागुन, चैत, वैशाख विदेशीले जलयात्राका लागि बढी रुचाउने महिना हुन् । यो सिजनमा जाडो कम हुने भएकाले जलयात्रा गराउन सहज हुने र्‍याफ्टिङ गाइड बताउँछन् । त्यसमध्ये नदीमा पानीको सतह बढी हुने सिजन हुँदा असोजदेखि मंसिरसम्म जलयात्रा व्यवसाय बढी चल्ने एल्लो स्विसा र्‍याफ्टिङ कम्पनीका प्रबन्धक गणेश गुरुङले बताए । छोटो समयमा पनि भरपुर मनोरन्जन लिन सकिने भएकाले विदेशीले कालीगण्डकीलाई ‘सर्ट एन्ड स्विट र्‍याफ्टिङ स्पर्ट’ का रूपमा लिने उनले बताए ।


पोखराकै कर्मफाइटस कम्पनीका प्रबन्धक रेणुका कार्कीका अनुसार पछिल्लो समय कालीगण्डकीमा र्‍याफिङका लागि बुकिङ गर्नेको संख्या बढ्दो छ । ‘पहिला अरू नदीमा धेरैले बुकिङ गर्थे,’ कार्कीले भनिन्, ‘अहिले कालीगण्डकीका बढी छन् । परिवारमा आउने धेरैले कालीगण्डकी रोज्छन् ।’


पोखराका दर्जनभन्द बढी र्‍याफ्टिङ व्यवसायीले कालीगण्डकीमा मात्रै बर्सेनि ५ हजार बढी विदेशीलाई जलयात्रा गराउँदै आएको एल्लो कालीगण्डकी रिभरबीच क्याम्पका सञ्चालक पुनले बताए । तीन वर्षअघि नयाँपुलमा सञ्चालित र्‍याफिङ क्याम्पका सञ्चालक पुनले पोखराका विभिन्न कम्पनीसँगको सहकार्यमा र्‍याफ्टिङ गराउँछन् । कम्पनीले पर्यटक विदेशी पर्यटकलाई लक्षित गरी रेस्टुरेन्टसमेत सञ्चालन गरेको छ । क्याम्पले मालढुंगा र खनियाघाटबाट नयाँपुलसम्म आन्तरिक पर्यटकलाई लक्षित गरेर छोटो दूरीको जलयात्रा पनि गराउँदै आएको छ । ‘छोटो दूरीमा आन्तरिक पर्यटक धेरै हुन्छन्,’ उनले भने, ‘विदेशीले बास बस्न रुचाउँछन् ।’

पर्वतको पाङस्थित नयाँपुलबाट सुरु हुने यात्राको पहिलो दिन कुस्मा र बलेवाको सिमाना मोदीबेनीमा पुगेर बास बस्छन् । दोस्रो दिन रानीपानी र बागलुङको सीमास्थित बेलबगरमा बास बसेपछि तेस्रो दिनमा स्याङ्जाको मिर्मी पुगेर यात्रा टुंगिन्छ । कालीगण्डकी किनारको सरसफाइ, पिउनेपानी, विश्रामस्थल, शौचालय लगायतका पूर्वाधारको अभाव रहेको व्यवसायीको गुनासो छ ।


प्रकाशित : कार्तिक २, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?