१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बन्दीपुरमा पर्यटकको चहलपहल

प्रताप रानामगर

दमौली — पहाडकी रानीले परिचित तनहुँको बन्दीपुरमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । भक्तपुरे शैलीका मौलिक घर । कोलाहल, धुवाँधुलोबाट केही समयका लागि मुक्ति पाउने भन्दै पर्यटक यतिबेला यहाँ ओइरिएका छन् । 

बन्दीपुरमा पर्यटकको चहलपहल

जाडो महिनामा बन्दीपुरमा पर्यटकको चहलपहल हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंश गुरुङ्गले बताए । ‘जाडो महिना सुरु भएसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल छ,’ उनले भने, ‘पर्यटन व्यवसायी उत्साहित छन ।’ असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप हुन्छ ।


अहिले दैनिक तीन देखि चार सय विदेशी पर्यटक आउने गरेको उनले बताए । भदौसम्म स्वदेशी पर्यटकको मात्रै चहलपहल हुन्छ । असोजदेखि भने विदेशी पर्यटक राम्रै सङ्ख्यामा बन्दीपुर आउने गरेका छन । उनका अनुसार चाडपर्वका कारण घुम्ने संस्कृतिको विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय रहेको छ । यस्तै दैनिक ५ सय बढी स्वदेशी पर्यटक आइरहेका छन् ।


बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् । बन्दीपुरमा साना ठूला ५७ होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छन । ती सबै होटलमा एकै पटक एक हजार ३ सय देखि एक हजार ४ सय पर्यटकले रात बिताउन सक्छन् । बन्दीपुरका होटलमा करीब १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् । सुन्दर हिमशृंखलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइनाले पर्यटकको रोजाइमा बन्दीपुर पर्ने बन्दीपुर सामुदायिक होमस्टेका अध्यक्ष डिलकुमारी रानाले बताइन् ।


बन्दीपुरको मौलिक तथा परम्परागत घरका कारण पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । ‘बन्दीपुरको पहिचान मौलिक घर हो,’ उनले भने, ‘काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टा बाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षण बनेको छ ।’ १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुंगा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।


बन्दीपुर बजारमा भएका पुराना घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ । पछिल्लो समय मौलिकता झल्कने गरी धमाधम घर निर्माण भइरहेका छन । अहिले मात्र एक दर्जन बढी नयाँ घर बनेका छन ।


मौलिकता झल्कने गरी बनाएको एउटा घर निर्माण सम्पन्न गर्न एक देखि १८ करोड रुपैयाँसम्म लागेको छ । मौलिकता झल्कने घरबनाए मात्र गाउँपालिकाले नक्सा पास गरिदिने अध्यक्ष थापाले बताए । मौलिकता झल्कने घर बनाउनेलाई नक्सापासमा ५० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए । आधुनिक शैलीमा घर बनाए नक्सापास नै रोक्का हुन्छ ।


बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका विदेशी पर्यटक बढी आउने गरेका छन् । पर्यटकलाई पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिइन्छ । यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । नेपाल भम्रण वर्ष सन् २०२० का लागि बन्दीपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकासको तयारी थालेको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ्गले बताए । भ्रमण वर्षलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई उत्कृष्ट हिल स्टेशनको रुपमा विकास गर्ने तयारी थालेको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै होटलको विस्तार, होमस्टे पूर्वाधार, सडक विस्तार, पर्यटन तालिम, प्रचार गर्न थालिएको उनले बताए ।


बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृंखलालगायत अन्य प्राकृतिक दृश्य देख्न सकिन्छ । तत्कालीन सरकारले बन्दीपुरलाई २०५६ सालमा टुरिस्ट प्वाइन्टका रूपमा स्वीकृति दिएपछि यहाँ ग्रामीण पर्यटकको गन्तव्य रुपमा विकास भएको हो ।


नेपालकै उत्कृष्ट हिलस्टेसन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, बाघ जात्रा र लाखे नाचका लागि जिल्लाकै अग्रस्थानमा छ । बजारका वरपर गुरुङ, मगर समाजको घााटु, कौरा नाचको साथै स्थानीय खानाका परिकारहरूले पर्यटकलाई लोभ्याउँछ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?