कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कालीगण्डकी लोकमार्ग निर्माण सुस्त

०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन सम्पर्कविहीन 
अगन्धर तिवारी

पर्वत — जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी लोकमार्गको पर्वत खण्ड लामो समयसम्म अलपत्र परेको छ । ठेकेदार कम्पनीको बेवास्ताले २ वर्षअघि नै ट्रयाक खुलिसक्नुपर्ने सडक पैदल हिँड्न समेत मुस्किल हुन थालेको छ ।

ट्रयाक खोलेर सकिने बेलासम्म ठेकेदारको ठगीले करिडोरको काम रोकिएको हो । यो राष्ट्रिय गौरवको आयोजना हो । स्याङ्जाको मिर्मीबाट पर्वतको मालढुङगासम्मको ५५ किमि सडक खण्ड विस्तारको काम रोकिएकोमा स्थानीय आक्रोशित छन् ।


२०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्ट्रक्सनले काम बीचैमा छोडेर सम्पर्कविहीन भएको लामो समय बित्यो । कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किमि सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको कार्यालयले जनाएको छ । कन्स्ट्रक्सनले फलेबास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किमि ठेक्का लिएको हो । काम सकिनुपर्ने समयभन्दा एक वर्ष ढिलासम्म ट्रयाक नखोलेपछि पाल्पास्थित कार्यालयले कम्पनीलाई जरिवानासहित मिति थपेको थियो । थपिएको मिति आगामी मंसिरमा सकिँदैछ ।


पाल्पास्थित करिडोर कार्यालयका प्रमुख नरेन्द्र सुवेदीका अनुसार ठेक्का सम्झौता मितिमा काम नसकेपछि कन्स्ट्रक्सनलाई जरिवानासहित मिति थपिएको थियो । ‘थपिएको मिति मंसिरमा सकिँदैछ,’ सुवेदीले भने, ‘त्यहाँसम्म काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने हो ।’ १४ किमि ट्रयाक, नाली र आवश्यक अरू संरचना निर्माणका लागि कम्पनीले ९ करोड १७ लाख ४९ हजार २ सय ४५ को लागतमा ठेक्का लिएको हो ।


ट्रयाक खोलिएको ठाउँमा पनि गाडी गुड्ने अवस्था छैन । बर्खामा सबै सडक भत्किएपछि पैदल हिंड्नसमेत समस्या भएपछि सर्वसाधारण घण्टौं घुमाउरो बाटो हिंड्न बाध्य छन् । ठेक्का लिएको सडकको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुले पनि सर्वसाधारण पैदल हिंड्न समेत मुस्किल परेपछि मोदीबेनी पुग्न सिर्सुवा–बडागाउँ हुँदै झोलुङ्गे पुल तरेर एक घण्टा घुम्नुपरेको मुडिकुवाबासीको गुनासो छ ।


‘मोदीबेनी शव लैजान सबैभन्दा धेरै समस्या छ,’ मुडिकुवाका थानेश्वर भुषालले भने, ‘पहिला भएको बाटो पनि डोजरले पुरिदियो । अहिले कुश्मा हुँदै घुम्नुपर्छ ।’ ठेक्का लिएर बिचैमा भाग्ने ठेकेदारलाई हदैसम्मको कारबाही हुनुपर्ने उनले बताए ।


यता मोदीबेनीदेखि अर्मादीसम्मको तीन किमि ट्रयाक अझै खुलेको छैन । ‘सडक अलपत्र पार्ने जोसुकै भए पनि कारबाही हुनुपर्छ,’ फलेवास–४ का कृष्णप्रसाद लम्सालले भने, ‘पैसा लिएर अलपत्र पार्नेलाई ठेक्का किन दिने । राष्ट्रिय गौरवको आयोजना भनेर पैदल हिंड्न पनि पाइएन ।’


आयोजना कार्यालयका अनुसार ठेकेदारले ३० प्रतिशतभन्दा बढी काम गरेको छैन । काम अलपत्र पारेपछि आयोजना कार्यालय ठेकेदार कम्पनीलाई कारबाहीको तयारीमा छ । व्यावसायीले काम सुरु नगरेपछि गत जेठ ४ मा १० प्रतिशत जरिवानासहित आयोजना कार्यालयले म्याद थप गरेको थियो । कार्यालयका अनुसार कन्स्ट्रक्सन कम्पनीले प्रतिदिन ४५ हजार ९ सयका दरले जरिवाना तिर्नुपर्छ ।


म्याद थप गरेको चार महिना बितिसके पनि अझै काम पुनः सञ्चालन नभएपछि सार्वजनिक सूचना निकालेर कम्पनीको खोजी गर्ने आयोजनाको तयारी छ । ‘हामीले धेरै ताकेता गरेको हो,’ साइड इन्जिनियर अर्जुन नेपालीले भने, ‘सम्पर्कमा नआएपछि अब अरु कानुनी कारबाहीको प्रक्रियाको तयारीमा छौं ।’ ठेकेदार कम्पनीले अहिलेसम्म झन्डै ६ करोड भुक्तानी लगिसकेको छ भने ३ करोड १७ लाख भुक्तानी पाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।


सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताए । उनले आगामी पुस दोस्रो सातासम्म काम सक्ने प्रतिबद्धता जनाए । ‘वर्षाले काम गर्नै पाएका छैनौं,’ उनले भने, ‘अब केही पहरा कटान गरेर ट्रयाक खोल्ने र ग्राभेलिङको काम मात्र बाँकी छ । ३ महीनाभित्र काम सकिन्छ ।’


पर्वतमा ७६ किमि दुरी समेट्ने यो सडकले जिल्लाका एक नगरपालिका र ३ गाउँपालिका समेट्छ । लोकमार्ग व्यवस्थित बनेर बाह्रैमास सवारी सञ्चालन भए गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सामाजिक सुरक्षा लगायतमा परिवर्तन आउने अपेक्षा स्थानीयको छ । सडकको असुविधाले कतिपय गाउँका किसानले उत्पादन गरेका कृषि उपज र पशुजन्य पदार्थ गाउँमै खेर गएका छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?