मर्स्याङ्दीमा फोहोर फाल्न बन्देज

कान्तिपुर संवाददाता

लमजुङ — मर्स्याङदी नदी जलक्रिडा (र्‍याफ्टिङ, कायाकिङ) का लागि प्रख्यात छ । चक्रीय अन्नपूर्ण पदमार्ग यसको तिरैतिर रहेकाले दृश्यावलोकनका लागि मनमोहक छ ।

मनाङका हिमालबाट निस्किएको कञ्चन पानी बग्ने मर्स्याङदी नदी मर्स्याङदी गाउँपालिकामा मात्रै करीब २५ किलोमिटर पर्छ । गाउँपालिकाको ठिक बीचबाट बग्ने यही नदीलाई पछ्याउँदै पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्छन् । पदमार्ग र मर्स्याङदी छेउछाउ धेरै होटल खुलेका छन् ।


पर्यटक बढ्नु, होटल व्यवसाय बढ्नु, फोहोर जथाभावि फाल्नेजनस्ता कारणले केही बर्षयता मर्स्याङदी नदी फोहोर र प्रदुषित हुदै गएको छ । प्लाष्टिक, बोत्तल, सिसा, फलाम, छडलगायत वस्तु जथाभावि फाल्नाले मर्स्याङदी फोहोर भएको हो । भाँडा धुने पानी, नुहाउने पानी साथै शौचालयको फोहरसमेत सिधै फालिने गरिएको छ ।


गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सफा मर्स्याङदी अभियान सुरु भएको छ । मर्स्याङदी नदीबाट नामांकरण गरिएको मर्स्याङदी गाउँपालिकाभरी नै जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाइएको छ । ‘मर्स्याङदी नदी र मर्स्याङदी गाउँपालिका भरी नै फोहर जथाभावि फाल्न दिएका छैनौं’ उनले भने । उनका अनुसार मर्स्याङदी नदी वरपरका व्यवसायी तथा स्थानीयले मर्स्याङदी नदीलाई फोहर बनाएको र दुर्गन्धित बनाएको गुनासो आउन थालेपछि अभियान चलाउनु परेको हो ।


‘जथाभावि फोहर नफाल्न ठाउँ ठाउँमा सूचना टाँसेका छौं । भन्दै आएका छौं । फोहर राख्ने डस्टवीनको व्यवस्था गरेका छौं’ उनले भने, ‘ती ठाउँमा संकलित फोहरलाई एक ठाउँमा ल्याएर प्रशोधन थालेका छौं ।’


माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाको सहयोगमा किनिएको ट्याक्टरबाट दैनिक फोहर संकलन भइरहेको उपाध्यक्ष होमबहादुर विकले बताए । गाउँपालिकाभित्रका ९ वटै वडामा फोहर संकलन गरी संकलित फोहरलाई भुलभुलेस्थित संकलन केन्द्रमा लगिन्छ । कुहिने फोहरलाई गाउँमै कम्पोष्ट मल बनाउन भनिएको छ ।


नकुहिने फोहर संकलन र बर्गीकरण गरी पुनःप्रयोगका लागि विक्री गरिन्छ । आवश्यकता अनुसार ४ जनासम्म दैनिक ज्यालादारी खोजेर फोहर बर्गीकरण गराइएको छ ।


सफा मर्स्याङदी अभियान अन्तर्गत जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, बाबा समूह, युवा क्लबको सक्रियतामा सरसफाई गरिएको छ । हरेक व्यक्तिले महिनाको २ घण्टा सार्वजनिक ठाउँको सरसफाई गर्नुपर्ने नियम बनाइएको छ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?