कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई महिनादेखि रोकियो बसपार्क निर्माण

विना थापा

(कास्की) — पोखराको राष्ट्रबैंक चोकमा निर्माणाधीन पर्यटन बसपार्कको काम रोकिएको २ महिना पुग्दा पनि सुरु हुन सकेको छैन । बसपार्क निर्माणपछि आफ्नो भवन तथा घरको निकास बन्द हुने भन्दै स्थानीयले अवरोध गरेका कारण भदौ पहिलो सातादेखि निर्माण रोकिएको थियो । 

पर्यटन विभागमार्फत आशिष–सिएम–मिसन जेभीले गत जेठदेखि काम थालेको थियो । जेभीले बसपार्कको ढलान गरेपछि सँगैको निर्माण व्यवसायी संघ कास्कीले आफ्नो भवनको निकास रोकिने भन्दै अवरोध सिर्जना गरेपछि काम ठप्प भएको हो । संघले बसपार्कको उत्तरमा २० फुटको बाटो छोड्नुपर्ने भन्दै आएको तर डिजाइनमा भने त्यो नभएपछि काम रोकिएको हो । ‘पहिल्यैदेखि हिँडिरहको बाटो मागेपछि निर्माणको काम रोकिएको बुझिन्छ,’ स्थानीय नारायण बरालले भने । निमार्ण व्यवसायी संघ कास्की अध्यक्ष सुरेश श्रेष्ठले बाटोमात्र मागिएको तर अरु निर्माणको कामलाई अवरोध नगरेको बताए । ‘बाटो छाडेर अरु काम गर्दा हुन्छ,’ उनले भने, ‘बाटोका लागि पर्यटन इन्जिनियर, महानगर बसेर छलफल नगरी समस्या समाधान हुँदैन ।’ गल्लीमा डेढ मिटरको फुट ट्रयाक दिए स्थानीयलाई विभिन्न कामका लागि आवातजावतमा सहज हुने श्रेष्ठ बताउँछन् । बाटोका लागि महानगरमा निवेदन बुझाइएको उनले बताए ।


पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले डिजाइन अनुसार काम गर्ने बताए । ‘बाटो दिने अधिकार मलाई छैन, डिजाइनमा कुनै परिबर्तन छैन,’ उनले भने, ‘पहिलेकै डिजाइन अनुसार चाडै पार्क बन्छ ।’ निर्माण व्यवसायी सन्तबहादुर श्रेष्ठले वर्षाका कारण काम रोकिएको दाबी गर्दै रोकिएको काम ४ दिनपछि सुरु हुने बताए । ‘हामी काम गर्ने हो, कसैले बाटो माग्दैमा दिन मिल्दैन, सम्बन्धित कार्यालयले बाटो छाड्न भने त्यहीअनुसार निमार्ण परिवर्तन गर्न सकिन्छ,’ उनले भने । ठूलो बाटोको माग भएकाले त्यसले निमार्ण नै रोकिने भएकाले सम्भव नभएको पोखरा महानगरपालिकका प्रमुख मानबहादुर जिसीले बताए । ‘निकासमा दुइमत छैन, बाटोका लागि मेरो गोरुको बाह्रै टक्का नगर्दा हुन्छ,’ जिसीले भने । पार्कमा ढलान, प्रतीक्षालय, शौचालय, रेष्टुरेन्ट लगायत निमार्ण हुन्छ ।


निमार्ण रोकिनुमा जानकार नभएको पोखराका ठेकदार असिम बराल बताउँछन् । ‘के कारण रोकियो हामीलाई जनाकार छैन, माथिबाट काम गर भने गर्ने हो, नगर भने नगर्ने हो,’ बरालले भने, ‘के कारण रोकियो त्यो मेरो पाटो हैन ।’ इन्जिनियर यादवका अनुसार ५० प्रतिशत काम हुनु पर्नेमा विभिन्न समस्याका कारण ४० प्रतिशत मात्र काम भएको छ । गत फागुनमा ६ करोड ४८ लाखमा डेढ वर्षमा निमार्ण पूरा हुने गरी पार्क निमार्ण सम्झौता भएको थियो ।

प्रकाशित : कार्तिक १, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?