कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिका कर्मचारीविहीन

नवीन पौडेल, प्रकाश बराल

(नवलपुर) र (बागलुङ) — पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–६ का अध्यक्ष सूर्यबहादुर राना दिनभरि वडा कार्यालयमा ब्यस्त हुन्छन् । सर्वसाधारणको निवेदन लेख्नेदेखि सिफारिस गर्नेसम्मको काम एक्लै गर्नुपर्ने बाध्यतामा छन् उनी । कार्यालयमा कर्मचारी छैनन् । पञ्जीकरणसम्बन्धी काम स्वास्थ्यका अहेबले गर्छन् । अन्य काम भने वडाध्यक्षले नै गर्नुपर्छ ।

‘विकट भनेर कर्मचारी बस्नै मान्दैनन्, सुरुदेखि कर्मचारी नहुँदा सबै काम आफैं गर्नुपरेको छ,’ रानाले भने, ‘कर्मचारी माग्न प्रशासन कार्यालयदेखि काठमाडौंसम्म पुग्यौं तर आउनै मान्दैनन् । काज मिलाएर अन्तै जाने गरेका छन् ।’


संघीयता कार्यान्वयनसँगै सरकारी सेवासुविधामा सहज पहुँच हुने आशामा रहेका स्थानीय अहिले निराश छन् । गाउँपालिकाभरि ३० कर्मचारीको दरबन्दी छ तर कार्यरत जम्मा २ मात्र छन् । अन्य केही प्राविधिक करारमा राखिएको छ । सुगम जिल्लाको विकट गाउँपालिका भएकाले कर्मचारी आए पनि हाजिर गरेर मात्र फर्कने गर्दा स्थानीयलाई सास्ती भएको हो । सामान्य प्रशासनिक कामका लागि पनि स्थानीयले ठूलो झन्झट बेहोर्नुपरेको छ ।


वडा ६ का तेजबहादुर श्रेष्ठको पञ्जीकरणको काम दुई सातापछि भयो । कार्यालय आउँदा पञ्जीकरण गर्ने कर्मचारी बिदामा भएका कारण काम भएन । ‘एक घण्टाको उकालोओरालो झरेर सधैं वडा कार्यालय आउन फुर्सद हुँदैन, त्यसैले वडाध्यक्षलाई फोन गरेर कर्मचारी भएको मौका छोपेर काम गर्नुपर्‍यो,’ उनले भने, ‘वडा कार्यालय र केन्द्र कहीं पनि कर्मचारी छैनन ।’ कर लिने अनि सेवा दिन नसक्ने वडा र गाउँपालिका भएको भन्दै उनले स्थानीय तह गठनपछि वडावासीलाई सेवासुविधा होला भनेको झनै सास्ती बेहोर्नुपरेको गुनासो गरे । वडा १ का अध्यक्ष दिलबहादुर सूर्यवंशी झोलामा स्टयाम्प प्याडलगायत सामग्री बोकेर गाउँ डुल्छन् । जहाँ आवश्यक पर्छ, त्यहीं वडावासीको निवेदन र सिफारिस तयार गर्छन् । कर्मचारी अभावमा नमुना फारम हेरेर आवश्यक काम गर्नुपर्ने बाध्यता उनलाई छ । वडामा २ वर्षदेखि सचिव छैनन् । ‘केन्द्रले वडासचिव पठाउन सकेको छैन,’ उनले भने, ‘विकट गाउँ भनेर कर्मचारी नआउँदा जनप्रतिनिधि आफैं सिफारिस लेख्ने, हस्ताक्षर गर्ने र कार्यालयको सबै काम गर्नुपर्ने अवस्था छ ।’


सरकारले अन्य दुर्गम जिल्लामा भत्ता दिने भएकाले कर्मचारी जाने तर यहाँ भने नदिने भएकाले आउन नमान्ने उनले बताए । ६ वटा वडा रहेको बुलिङटारमा २ वर्षदेखि एउटै वडासचिव छैनन् । लेखा अधिकृतको पनि सरुवा भएपछि अहिले गाउँपालिका कर्मचारीविहीन छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् । दुर्गम र अन्य कर्मचारी नभएपछि उनी काम गर्न गाह्रो भएको भन्दै सम्पर्कविहीन भएर बसेका छन् । यसले गापाको अधिकांश काम प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत २ वर्षमा ३ जना फेरिइसकेका छन् । केही वडामा स्वास्थ्य शाखाका कर्मचारीले वडासचिवको काम गर्छन् । विकट पहाडी क्षेत्र भएकाले एउटै वडामा एकडेढ घण्टा हिंड्नुपर्ने अवस्था छ । गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले भौगोलिक विकटताका कारण कर्मचारी नआउने र आए पनि टिक्न गाह्रो भएको बताए । कर्मचारी समायोजनमा समेत बुलिङटारलाई बेवास्ता गरिएको र कर्मचारीको रोजाइमा नपरेपछि कर्मचारी अभाव भएको उनको भनाइ छ । कर्मचारी समायोजनमा एउटा पनि कर्मचारी यहाँ पठाइएको छैन । अध्यक्ष बस्ताकोटीले सबै वडामा सचिवको व्यवस्थापनका लागि पहल गरिरहेको बताए ।


तीन महिनापछि प्रशासकीय अधिकृत मात्र

बागलुङको निसीखोला गाउँपालिकामा २७ कर्मचारीको दरबन्दी छ तर अहिले ७ मात्रै कार्यरत छन् । तीमध्ये २ वडासचिव हुन् । गत असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद आचार्यर् समायोजनसहित सरुवा भएर हिँडेपछि धेरै काम रोकियो । कर्मचारीको खोजीमा गाउँपालिका प्रमुख र उपप्रमुखले केन्द्र धाएपछि सोमबारदेखि बल्ल ईश्वरलाल शाक्य हाजिर हुन आएका छन् । प्रशासन हेर्ने नासु छन् । उनको पनि सरुवा भइसकेको छ । काठेखोला गाउँपालिका सरुवा भएका नासु पुरुषोत्तम गौतमले जिम्मा लगाउने कोही नभए पनि सरुवा भएको ठाउँ जान नसकेको बताए ।


सदरमुकामदेखि १ सय ३० किमी पश्चिमको निसीखोलामा लेखा अधिकृत पनि छैनन् । केही करारमा राखिएका कर्मचारीको भरमा काम चलिरहेको छ । ‘ग्रामीण क्षेत्र भएर होला, समायोजन रोजेर आउने कर्मचारी पनि छैनन, भएकाले पनि अन्यत्र रोजेर जान्छन,’ गाउँपालिका उपाध्यक्ष शोभा कार्कीले भनिन्, ‘राहतका लागि आएका पीडितलाई भएको पैसाको चेक काटेर दिन पनि सकिएको थिएन, अब त्यस्तो नहोला ।’ साउन र भदौमा गाउँपालिका प्रमुख पनि अमेरिका गएका थिए । उनको अनुपस्थितिमा कार्की र गौतमलाई आर्थिक अधिकार नहुँदा धेरै काम रोकिएका थिए । दैवीप्रकोप पीडितलाई तत्काल राहत दिने, शिक्षक र कर्मचारीलाई तलब खुवाउने लगायत कामसमेत प्रभावित थियो ।


दशैंको मुखमा प्रमुख आएपछि तलबमात्र खुवाइएको थियो । यहाँ २ प्राविधिक करारमा छन् । कृषि र पशु शाखा हेर्ने २ कर्मचारी छन् । एक जना स्वास्थ्यका कर्मचारीसमेत गर्दा ७ कार्यरत छन् । उनीहरूमध्ये दुई जना सरुवा भइसकेका हुन् भने अन्य प्राविधिक शाखाका हुन् । ‘७ वटा वडा भए पनि २ वटामा मात्र सचिव छन्,’ गौतमले भने, ‘वडामा बस्दा समस्या हुने भएपछि गाउँपालिका कार्यालयमा बसेर काम गर्न लगाएका छौं ।’ गापाको आफ्नै भवन पनि छैन । लामो समयदेखि दैनिक कार्यालयको प्रशासन सञ्चालन मात्र भएको थियो । ‘उपलब्धिको काम गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत, लेखा र प्राविधिक चाहिने रहेछ,’ तारानाथ पौडेलले भने ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?