३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चितुवाबाट जोगिन नमार्ने विकल्प

आहारा प्रजाति र तिनका लागि घाँस संरक्षणको योजना
सम्झना रसाइली

(तनहुँ) — चितुवा प्रभावित विभिन्न वडामा अब आहारा प्रजाति संरक्षणका लागि भानु नगरपालिकाले कार्ययोजना तयार पारेको छ । चितुवाको आक्रमणबाट डेढ वर्षयता यहाँका ५ बालबालिकाले ज्यान गुमाए । नगरका १, २, ३ र ४ वडाका विभिन्न क्षेत्रमा त्रास बढेयता लामो समयदेखि नरभक्षी चितुवाको खोजी पनि भइरहेको छ । नरभक्षी चितुवा मार्न जिल्ला प्रशासनले आदेश नै गरेको थियो तर उक्त चितुवा फेला नै परेन ।

चितुवाबाट जोगिन नमार्ने विकल्प

विशेषत: साँझ र बिहान झिसमिसेमा चितुवा बस्तीमा आउँदा आक्रमणका घटना भएका छन् । जिल्ला प्रशासन र वन डिभिजनले सुरक्षा र वनकर्मीको टोली खटाएपछि एउटा चितुवा मृत भेटियो भने अर्को जीवितै समातियो । घना वन क्षेत्र रहेको भानुमा अझै चितुवा देखिने क्रम नघटेपछि त्यसले सिकार गर्ने आहार प्रजाति जोगाउनेतर्फ नगरपालिकाको ध्यान गएको हो ।


दिउँसै मेलापात, घाँसदाउरा गर्न वन र आसपासको क्षेत्रमा जाँदा पनि चितुवा देखापर्ने स्थानीय बताउँछन् । चितुवा सबैभन्दा छिटो दौडने जनावर भएकाले देख्नासाथ नियन्त्रणमा लिन सजिलो हुँदैन । ‘हामीसँग त्यसलाई नियन्त्रण गर्ने अत्याधुनिक विधि र जनशक्ति छैन, अब त्यसको खोजी गर्नुभन्दा बस्तीमै नआउने उपाय लगाउने हो,’ नगरप्रमुख उदयराज गौली भन्छन्, ‘खोजीको काम चल्दै गर्दा अब त्यसको आहारा प्रजातिका जनावर जोगाउन कार्ययोजना बनाएका छौं ।’ जंगली खरायो, बँदेल र मृग लगायतको संख्या बढे चितुवाले वनभित्रै खुराकी पाएर बस्तीतर्फ आउनबाट रोकिने उनले बताए । ‘ती आहारा प्रजातिका लागि घाँस संरक्षण गर्नु र मान्छेले सिकार गर्नबाट रोक्नु प्रभावकारी हुने बुझियो,’ उनी भन्छन्, ‘गाउँलेलाई सतर्कता अपनाउन त भनेकै छौं, अब घर छेउछाउ झाडी राख्न हुँदैन । चितुवाले सिकार गर्ने वन्यजन्तु लुकिछिपी पासोमा पार्नेलाई पनि निगरानी गरेर रोक्नुपर्ने भयो ।’


ग्रामीण क्षेत्रमा बसाइँसराइका कारण बस्ती पातलिँदै जाँदा तनहुँमा वन क्षेत्र बढेको भानु सबडिभिजन वन कार्यालयका प्रमुख गोविन्द पौडेल बताउँछन् । ‘बस्ती र वनको दूरी कम भयो । जंगलमा आहारा नपाएर चितुवा बस्तीमा घरपालुवा जनावर र कुकुरको किसार गर्न पस्न थालेपछि आतंक बढेको हो,’ उनी भन्छन्, ‘चितुवा प्रभावित क्षेत्रमा सामुदायिक वनकै एरिया करिब ९ सय हेक्टर छ । वन नजिकका बस्तीबाट खरायो र मृगलाई बस्ने र खानेको व्यवस्था गरी छाड्ने सोच बनाएका छौं ।’ जंगलमा फलफूलका बिरुवा र जडिबुटी वृक्षरोपण गर्ने तयारी नगरपालिकाले गरेकाले केही समयपछि राहत हुनेमा आशावादी रहेको उनले बताए । ‘जनावरले खाने फलफूल र घाँस जंगलबाट हामीले छिपेर ल्याउनु हुँदैन,’ उनी भन्छन्, ‘बाँदरका हुल मान्छेका खेतबारीमा पल्किनुको कारण पनि जंगलमा खानेकुरा नपाएरै हो । जंगली जनावरका आहार जंगलभित्रै सजिलै पाइने अवस्थामा हामीले चितुवा मार्ने अभियान चलाइरहनु नपर्ला ।’ यो प्रक्रियालाई केही समय लाग्ने भएकाले उक्त अवधिसम्म चितुवाको खोजी भने जारी रहने उनले बताए ।


प्रभावित क्षेत्रका वडाध्यक्षको नेतृत्वमा चितुवा हिँड्ने सम्भावित स्थानमा गौडा कुरी स्थानीय सिकारी, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको संयुक्त गस्ती गरिरहने योजना छ । साखेटार, तिजिबकोट भन्ज्याङ, रिठ्ठाबोट, देउराली, चुँदीगाउँ, बुढीकुवा, खुर्पालाब र नावरुबथान लगायतका स्थानमा गौडा कुरेर चितुवालाई नियन्त्रणमा लिन प्रयास जारी रहनेछ । घरआँगन वरपरको झाडी पन्छाउने, जंगल र घर बीचको जग्गामा खेती गर्ने, साँझबिहान घर बाहिर एक्लै ननिस्कने जस्ता सतर्कता अपाउन वडा कार्यालयले स्थानीयलाई सचेत गराइरहेको छ । वडाका सामुदायिक वनमा कम्तीमा दुईवटा काठका परम्परागत खोर बनाई बाख्रासहित पासो थाप्ने तयारी गरिएको भानु–१ का वडाध्यक्ष प्रेमबहादुर लामाले बताए । ‘चितुवा हिंस्रक भए पनि दुर्लभ वन्यजन्तु हो । मारिहाल्नुभन्दा ज्युँदै समातेर सुरक्षित ठाउँमा पुर्‍याइनुपर्छ भन्नेमा जनप्रतिनिधिको सहमति छ,’ उनले भने, ‘खोज्ने र नियन्त्रणमा लिने उपाय गर्दागर्दै पनि हामी सकभर मार्नैपर्ने अवस्था नआओस् भन्नेमा सचेत छौं ।’


चितुवाको आक्रमणबाट २०७४ फागुन १ मा दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, गत कात्तिक २९ मा जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ मा भकुन्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र दसैंको टीकाको दिन जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँको मृत्यु भएको छ । हालसम्म ३ बालबालिका र ३० घरपालुवा जनावर घाइते भएका छन् । घरै आएर आक्रमण गरी बालबालिकाको ज्यानै लिन थालेपछि चितुवाको डर अझ बढेको भानु–१ नारेश्वरटारकी सीता अधिकारी बताउँछिन् । ‘सडकमै चितुवा हिँडिरहेको हुन्छ । एक्लै हिँड्न डर छ,’ उनी भन्छिन्, ‘पानीपँधेरो, घाँसदाउरा गर्न, सामान लिन पसलसम्म जाँदा पनि समूहमा हिँड्नुपर्ने भएको छ ।’ डर बढेपछि केटाकेटीले खुला चौरमा खेल्न पनि जान छाडेको उनले बताइन् । ‘बच्चाहरू आँखाबाट ओझल परे डर लाग्छ,’ उनी भन्छिन्, ‘स्कुल पठाउँदा पनि कतै केही भइहाल्ने हो कि भन्ने त्रास छ ।’ बालबालिकालाई विद्यालय लाने ल्याउने समूह मिलाएर गाउँले जाने गरेको उनले बताइन् ।


चितुवाका कारण स्थानीयको जनजीवन त्रासपूर्ण बनेको भानु–१ भीमसिनथुम्की समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम थापा बताउँछन् । ‘बेहोस पारेर नियन्त्रणमा लिन वनकर्मीको टोलीले चितुवा खोज्न थालेको वर्ष दिन भयो,’ उनी भन्छन्, ‘केही सीप नलागेर हामी बूढापाकाको जमानाको बाख्रा राखिदिएर पासोमा पार्ने खोर बनाइरहेका छौं ।’ चितुवा नियन्त्रणका लागि दीर्घकालीन उपायको खोजी नभएसम्म त्रासबाट मुक्ति गाह्रो देखिएको उनले बताए ।


नरभक्षी चितुवा जतिसक्दो नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन जनप्रतिनिधिले स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले चितुवा नियन्त्रणका लागि सबैले मिलेर काम गर्नुको विकल्प नभएको बताउँछन् । ‘जिल्ला सुरक्षा समितिको बैठकले चितुवालाई गोली हानेर मार्ने आदेश दिइसकिएको छ,’ उनले भने, ‘टोलीले खोजी पनि गरिरहेको छ । दीर्घकालीन उपाय भनेको चितुवा कसरी बस्तीमा आउँदैन, त्यो तरिकामा हामी हामी जानुपर्छ ।’


चितुवाको खोजी जारी रहँदा सतर्कता अपनाउन पनि छाड्न नहुने डिभिजन वन कार्यालयका प्रमुख केदार बराल बताउँछन् । ‘चितुवा बस्तीमा आउँदा छेउछाउका झाडीमा लुकेर बस्छ,’ उनी भन्छन्, ‘घरनजिकैको झाँडी फँडानी गर्नैपर्छ । बाक्लो झाडी बुट्यान घर छेउछाउ नराख्दा उत्तम हुन्छ ।’ गत असोज १५ मा काठको परम्परागत खोरमा पारिएको एउटा वयस्क भाले चितुवालाई रुपन्देही शंकरनगरस्थित सामुदायिक प्राणी उद्यानमा पठाइएको उनले बताए । चितुवाको आक्रमणबाट मृत्यु भएका चारजना बालबालिकाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको छ ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?