कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

विपद् व्यवस्थापन पूर्वतयारी अभ्यास : जब फेवातालमा डुंगा पल्ट्यो

कान्तिपुर संवाददाता

(गण्डकी) — रातो रंगको डुँगा । ९ यात्रु । भ्रमण वर्ष २०२० को अभियानअन्तर्गत गण्डकी प्रदेश घुम्न आउनेको टोली थियो त्यो । उनीहरू बुधबार फेवाताल पुगे । 

विपद् व्यवस्थापन पूर्वतयारी अभ्यास : जब फेवातालमा डुंगा पल्ट्यो

तालको किनारमा फोटो खिच्ने काम भयो । लगत्तै बोटिङ गरे । केही समय डुँगा चलाउने र डुँगामाथि नै बसेर फोटो खिच्ने काम भयो । एकैछिनमा त्यही टोलीले गुहार भन्ने आवाज निकाल्यो । स्थानीय र सशस्त्र प्रहरीको टोली पुग्यो । डुँगा पल्टिएको थियो । सबैजना पानीमा छप्ल्याङ–छुप्लुङ गर्दै आफूलाई बचाउने सुरमा थिए ।


सशस्त्र प्रहरीले आफ्नो कार्यालयमा डुँगा पल्टिएको जानकारी गरायो । विपत् उद्दार टोली आवश्यक सामानसहित घटनास्थल पुग्यो । ८ जनालाई जीवितै उद्दार गर्‍यो । एक जनाले चर्को स्वरमा रुँदै भनिरहेका थिए, ‘नाई सर मलाई तालमै जान दिनुस् । मेरो साथी त्यही छोडियो । तालभित्रै हराएको छ ।’ उद्दार टोलीले डुँगा डुबेकै स्थानमा हराएकाको खोजी गर्‍यो । उद्दार टोलीका एक सदस्यले पानीभित्र हराएकाको शव भेट्टाए । पोष्टमार्टमका लागि शव एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइयो । पृथ्वीचोकस्थित घरबाट आगोको मुस्लो निस्किएपछि स्थानीयले गुहार मागे । एकैछिनमा सुरक्षाकर्मी आए । दमकल आएर आगो निभाउन थाल्यो । घाइतेको उद्धार गरियो । घटनास्थलमा स्वास्थ्यकर्मी र रेडक्रसकर्मी पनि पुगे । प्राथमिक उपचारपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल लगियो ।


एकैछिनमा पातले छाँगोमा एक महिला खसेको खबर प्रहरीलाई आयो  । उद्दार टोली घटनास्थल पुग्यो । उद्दार टोलीले दुर्विनको माध्यमबाट महिलाको खोजी गर्‍यो र जीवितै उद्धार गर्‍यो । घटनास्थलमा उनलाई प्राथमिक उपचार गरेपछि थप उपचारका लागि अस्पताल लगियो ।


सुन्दा आङ नै सिरिङ्ग हुने घटना वास्तविक भने होइन । तालमा डुबेका, आगलागी र खोंचमा फँसेकाको उद्धार कसरी गर्ने भन्ने बुधबार गरिएको अभ्यास मात्रै थियो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् कुनै पनि बेला आउन सक्ने भन्दै पूर्वतयारीस्वरूप पूर्वाभ्यास गरेको हो । साथै सुरक्षा निकाय र सरोकारवालाबीचको समन्वय कसरी हुन्छ भन्ने सन्देश दिने उद्देश्य पनि रहेको मन्त्रालयका विपद् शाखाप्रमुख सुमन भट्टराईले बताए । ‘यो एउटा तालिम हो,’ उनले भने, ‘घटना भएपछि कसलाई खबर गर्ने भन्ने चेतना यो दृश्यबाट फैलाउन खोजिएको छ ।’ उनले विपत् आउनु अघिको तयारीमा सर्वसाधारण पनि सचेत हुन आवश्यक छ भन्ने सन्देश दिन खोजिएको बताए । यस्तो अभ्यासले पूर्वतयारीलाई मजबुत बनाउने र विपतपछिको खोज, उद्धार र राहतलाई बढी प्रभावकारी बनाउने उनको विश्वास छ ।


अभ्यास कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका डिएसपी कृष्ण कार्कीले १२ वर्षदेखि उद्दारका लागि प्रयोग गरिँदै आएका उपकरण पुराना र जीर्ण भएकाले उद्दार टोली नै खतरामा पर्न सक्ने हुदाँ प्रदेश सरकारले यसतर्फ सोच्नुपर्ने बताए । ‘डोरी पनि चुडिएलाजस्तो भएका छन्’ उनले भने, ‘डोरी चुडिँदा अर्को विपत आइपर्छ कि भन्ने डर छ ।’


आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेश, स्थानीय तहमा पनि तालिम प्राप्त विपत उद्दार टोलीको व्यवस्था गर्नुपर्ने बताए । उनले उद्दार टोलीका लागि आवश्यक उपकरण प्रदेश सरकारले खरिद गर्ने बताए । नेपाल प्रहरीले हालसम्म विभिन्न खोचमा परेका ३८ जनाको जिवितै उद्दार गरेको तथ्यांक सार्वजानिक गरेको थियो । यसरी नै ५ वर्षदेखि फेवातालमा डुबेकामध्ये सशस्त्र प्रहरीले २ सय ६१ जनाको जीवितै उद्दार गरेको छ भने १ सय ८ जनालाई आफन्तको जिम्मा लगाएको बताएको छ ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?