२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लिगलिग घुम्ने निम्ता

हरिराम उप्रेती

(गोरखा) — नेपाल राज्य स्थापनाको उद्गम थलो लिगलिगकोट । इतिहासको सम्झना र सम्मान गर्दै यसको प्रचार प्रसारमा स्थानीय युवा जुटेका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी लिगलिगकोटमा अधिकतम पर्यटक भित्र्याउन स्थानीयको लक्ष्य छ । यही क्रममा युवा लिगलिग घुम्न निमन्त्रणा दिँदै पश्चिम नेपालको चादनी दोधारा पुगेर फर्किए ।

लिगलिग घुम्ने निम्ता

मंगलबार यात्रामा सहभागीलाई पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले स्वागत गरे । लिगलिग चिनाउन थालेको अभियानप्रति ऐक्यबद्धता जनाए ।


लिगलिगकोट र पालुङटारको प्रवर्द्घनका लागि यात्रा निकै फलदायी भएको किरण गिरीले बताए । ‘यात्राका क्रममा भेटिएकालाई लिगलिगकोटका बारेमा जाने बुझेसम्मका कुरा भनेका छौँ,’ उनले भने, ‘जहाँ पुग्यौं त्यहाँ एकपटक लिगलिगकोट घुम्न आउने निम्तो दियौं ।’ स्थानीय तहसँग समन्वय गरेर लिगलिगका बारेमा जानकारी गराइएको उनले बताए । पोखरा–स्याङजा–कालिगण्डकी करिडोर–गुल्मीको रिडी हुँदै कञ्चनपुर महेन्द्रनगरबाट महाकाली पारी चाँदनी दोधारासम्म पुगेर लिगलिगकोटको प्रचार गरिएको गिरीको भनाइ छ । राष्ट्रिय झन्डा तथा लिगलिग–पालुङटार चिनाउने ब्यानर र पर्चा लिएर निक्लिएका युवाले ६ दिनमा यात्रा टुंगाएका हुन् ।


गत वर्ष पनि युवाले द्रव्यशाहले गोरखा राज्य विजयी गरेर राज्यभिषेक गरेको पस्लाङ चौताराबाट यात्रा सुरु गरी टिस्टा पुगेर फर्किर्एका थिए । ‘गत वर्ष भ्रमणको निम्तो बाँड्दा लिगलिगकोट आउने पर्यटकको संख्यामा वृद्घि भएको छ,’ उनले भने, ‘दोस्रो यात्राका क्रममा लिगलिगकोटका बारेमा चासो राख्नेहरू धेरै पायौं, भ्रमण वर्षमा लिगलिगकोट पनि पर्यटकको आकर्षकण गन्तव्यको केन्द्र बन्छ भन्ने अपेक्षा गरेका छौं ।’


कतिपय ठाउँमा लिगलिग भन्ने नाम सुने पनि कहाँ पर्छ भन्ने थाहा नभएको पनि पाइएको यात्राका अर्का सहभागी सुनिल भट्टराइले बताए । शाह वंशका राजाका संस्थापक द्रव्य शाहले दौड जितेर राजा भएको ठाउँ भएकाले इतिहास बुझ्न आउनेको संख्या बढिरहेको छ । लिगलिगकोटमा पूर्वाधार निर्माणको कामलाई पनि तिव्रता दिइएको छ । गढी जीर्णोद्घार, भ्यूटावर, पार्क र सीमा क्षेत्र निर्धारण गरी ऐतिहासिक ठाउँको संरक्षण गर्दै तारबार लगाउने योजना छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउन लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झन्डा पनि राखिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?