कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

जोखिमको यात्रा, दोब्बर भाडा

५ सिट क्षमताको जिपमा २५ देखि ४० जनासम्म यात्रु    
९० देखि १०० रुपैयाँको गन्तव्यमा २ सयसम्म भाडा

(पर्वत) — पैयुं गाउँपालिका–४ हुवासबाट बिहादीको रानीपानीका लागि छुटेको बोलेरो जिपको पछाडि कोचिँदै चढेका पीताम्बर काफ्लेले सहचालकलाई सोधे भाडा कति हो । उत्तर आयो २ सय । सामान्य अवस्थामा सिटमा बसेर ९० देखि १०० रुपैयाँ तिरेर यात्रा गरेका काफ्लेले बाध्य भएर त्यो रकम तिरे । 

जोखिमको यात्रा, दोब्बर भाडा

काफ्ले मात्रै होइन । जिपको पछाडिपट्टि बसेका २० जनाभन्दा बढी यात्रुले २ सय रुपैयाँका दरले भाडा तिरेर गन्तव्यमा पुगे । ५ सिट क्षमताको जिपमा ३० भन्दा धेरै यात्रु चढ्न बाध्य थिए । ग्रामीण क्षेत्रका सबैजसो सडकमा यतिबेला गुड्ने सवारीले क्षमताभन्दा ५ गुणासम्म यात्रु चढाउने गरेका छन् । त्यतिमात्रै होइन, दोब्बर भाडा लिएर यात्रुलाई ठगिरहेको समेत पाइएको छ । दसैंतिहारको अवसर पारेर राजमार्गमा गुड्ने सवारीले समेत तोकिएको भन्दा दोब्बर भाडा लिने गरेका छन् ।


‘ठाउँमा नपुगी भएन,’ कुश्मामा भेटिएका फलेबासका कृष्ण विकले भने, ‘भेडाबाख्रा झैं कोचिएर दोब्बर भाडा तिर्नुपरेको छ ।’ बसपार्कमा ४ घण्टा कुर्दासमेत सहज सवारी नपाएपछि ट्रकमा पोखरा जान बाध्य भएको फलेबासकै दीपक पौडेलले बताए । ‘बसमा उभिएर भन्दा ट्रकमा बसेर दोब्बर भाडा तिर्दा यात्रा सजिलो भयो,’ उनले भने, ‘यत्रो समस्या हुँदा पनि ट्राफिक प्रहरीले हामीलाई सहयोग गरेन ।’


जिल्ला ट्राफिक कार्यालयले चाडबाडका बेला हुनसक्ने सम्भावित जोखिम कम गर्न जिल्लाभित्रका सडकमा गुड्ने सवारीचालकलाई दैनिकजसो सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, चालक भने ट्राफिक नियमविपरीत ५ देखि ८ गुणासम्म यात्री चढाएर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । महिन्द्रा र बोलेरो जिपले हिजोआज हरेक खेपमा २५ देखि ४० जनासम्म यात्री बोकेर ग्रामीण कच्ची बाटोमा ओहोरदोहोर गरिरहेका दृश्य भेटिन्छन् । ५ सिटको मात्रै क्षमता भएका यस्ता जिपले यात्रीसँगै जिपमा अटेसम्मको सामान समेत बोकेको पाइएको छ । दसैं मनाएर फर्किने तथा बजारमा किनमेलमा आउने गाउँलेलाई भेडाबाख्राजस्तै कोचेर कच्ची सडक मुस्किलले छिचोल्ने व्यवसायीको दैनिकी छ । जिपको भित्रबाहिर र साइडमा मात्रै नभएर छतभरि यात्री कोचेर कच्ची बाटोमा मुस्किलले गन्तव्यमा पुग्न हतारिएका यात्रीलाई सम्भावित जोखिमबारे भने कुनै प्रवाह छैन ।


जिल्लाका करिब ३५ मुख्य सडकमध्ये एकदुई बाहेक कुनै पनि सडक दोहोरो सवारी गुड्न सक्ने छैनन् । चल्तीमा आएका सडक पनि वर्षाको बाढीले भत्किएर सहज सवारी गुड्नसक्ने अवस्थामा छैनन् । बाढीले खोल्सा पारेको सडकमा माटोले पुर्दै र धकेल्दै गन्तव्यमा पुग्नु कम्ती मुस्किल छैन । चलिरहेका कतिपय सडकको रुट परमिट समेत छैन । त्यस्ता सडकमा सवारी गुडाएर कुनै क्षति भए त्यसको क्षतिपूर्ति बिमा कम्पनीले समेत व्यहोर्दैनन् । रुट परमिट पाएका सडकमा पनि ५ सिटको मात्रै बिमा हुने र त्यसबाहेकको क्षति सवारीधनीले नै व्यहोर्नुपर्ने ट्राफिक प्रहरी बताउँछ । ‘सिट बाहेकको क्षतिपूर्ति कुनै निकायबाट आउँदैन,’ ट्राफिक सहायक निरीक्षक राजेन्द्र पौडेलले भने, ‘योबारे पटकपटक चालकलाई जानकारी गराएका छौं ।’ प्रमाणसहित आएका उजुरीउपर नियमानुसार कारबाही गरिएको ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक प्रहरीले सादा पोशाकमा प्रहरी खटाएरै बढी भाडा लिने सवारीलाई कारबाही गर्ने तयारी गरेको उनले बताए ।


छोटो समयमा धेरै आम्दानी गर्ने लोभमा व्यवसायी र सवारीचालकले ट्राफिक प्रहरी र नियामक निकायको आँखा छलेर सर्वसाधारणको जीवनसँग खेलवाड गरिरहेका छन् । ‘अरुबेला खालीखाली हिड्नुपर्छ,’ एक चालकले भने, ‘अहिले भेटेका मान्छे हाल्नैपर्‍यो ।’ उनले दसैंका ५ दिनबाहेक बढी भाडा नलिएको दाबी गरे । अनिवार्य भएकाले कोचिएरै भए पनि यात्रा गर्नु बाध्यता भएको सर्वसाधारण बताउँछन् ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?