मनलाग्दी भाडा, गन्तव्यमा पुग्नै सकस

हरिराम उप्रेती, आश गुरुङ

गोरखा/लमजुङ — दसैं मनाउन गाउँ आएका यात्रुले गन्तव्यमा पुग्न सवारी नपाउँदा सास्ती भोगेका छन् । गोरखाको खान्चोकबाट हरमटारी झरेकी ८४ वर्षीया दिलकुमारी वञ्जराले आइतबार गाडी चढ्ने मेसो नै पाइनन् । २ घण्टा सडकमा अलपत्र परिन् ।

‘गाउँबाट गाडी चढ्दा बुढी मान्छे भनेर सिट दिए तर एउटै सिटमा ३ जना बसेर बल्लतल्ल सदरमुकाम आइपुगेँ,’ उनले भनिन्, ‘अब चितवन पुग्नुछ, पहिले त सडकमा मान्छे देखे तान्न आउथेँ, आज कति गाडी गइसके एउटै खाली छैन, सिट पाउने आशामा बाटो हेरेर बसेको छु ।’ ३ दिन यता सदरमुकामको हरमटारी चोकमा गन्तव्यमा पुग्नेको यात्रुको भीडभाड थेगिनसक्नु छ ।

गोरखा काठमाडौं ३ सय ७० भाडा तिरेर यात्रा गर्दै आएकी चुनकुमारी गुरुङले ५ सय दिन्छु भन्दा पनि सवारी चालकले चढाएनन् । ‘गाडी कुरेर बसेको छु,’ उनले भनिन्, ‘सबै भरिएर आएका छन्, आजै नपुगी नहुने छ, गाडी पाए १/२ सय बढी तिर्नुहुन्थ्यो ।’
यात्रुको चापको फाइदा उठाउँदै व्यवसायीले मनलाग्दी भाडा असुलेका हुन् । व्यवसायीले बीच बाटोमा गएर भाडाको बार्गेनिङ गरी रिजर्भको बाहना बनाउने गरेका छन् । प्रहरी र समितिसँगकै मिलेमतोमा यसरी रिजर्भमा हिँड्ने सवारीले बढी भाडा असुलेको यात्रुको गुनासो छ ।

गोरखा–काठमाडौँ प्रतियात्रु ३ सय ७० भाडादर तोकिएकोमा यतिबेला रिजर्भको नाममा ७ सय रुपैयाँ असुल्ने गरेको पाइएको छ । काठमाडौँ जान गाडी कुरेर बसेका नाम्जुङका राम्जी ढकाललाई सवारीका सहचालकले फरकफरक भाडा सुनाए । ‘काउन्टर गएको टिकट हिजै सकियो भनेर फर्किएँ,’ उनले भने, ‘हरमटारी चोक आएर गाडी चढ्न खोजे कसैले ५, ७ सय त कसैले हजार रुपैयाँ भाडा दिए लान्छु भन्छन् ।’ बढी भाडा तिर्न खोजे पनि उनले सिट पाएनन् । बजारमा भन्दा ग्रामीण भेगमा यात्रुको चाप रहेको उनले सुनाए ।

बुंकोटका सुमन परियारले भने, ‘दुइ घन्टा भयो गाडी कुरेर बसेको, सबै रिजर्भ मात्र भन्छन् ।’ सवारी नपाएको गुनासो उनले हरमटारी चोकमा ड्युटीमा खटिएका प्रहरीसमक्ष राखे । ‘रिजर्भमा जानेलाई केही भन्न सकिँदैन, स्वइच्छाले गएका हुन्, थोरै बढी तिरेरै भए पनि तपाईं पनि रिजर्भमै जानु भनेर पुलिसले जवाफ दिए,’ उनले भने, ‘सिट पाए डेड सय बढी तिर्न हुन्थ्यो, पाँच घण्टाको बाटो उभिएर जान मन लागेको छैन ।’ ग्रामीण भेगमा चल्ने सवारीले पनि मनलाग्दी भाडा लिने गरेको आरुघाटका इमानसिं गुरुङले बताए । ‘पहिले १ सय १० तिरेर हिँड्ने गरेको थियौं, आज २ सय नभई मान्दै मानेनन्,’ गुरुङले भने, ‘बढी भाडा तिरेर पनि सजिलो गरी आउन पाइएन उभिएरै गोरखा आइपुगियो ।’ बसले क्षमताभन्दा तेब्बर यात्रु कोच्ने गरेको उनले बताए ।

नियमन नगरेको भन्दै प्रहरीसँग पनि यात्रु आक्रोसित छन् । दसैंका यात्रुलाई लक्षित गरी सुरक्षित र सहज आवागमनका लागि प्रहरीले निकै तामझामका साथ यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । तर कक्षमा तीन दिनयता प्रहरी नै भेटिँदैनन् । व्यानर मात्र टागिएको छ । ट्राफिक प्रहरी भने दसैंका यात्रुलाई लक्षित गरी छड्के जाँचलाई तिव्रता दिएको बताउँछन् । ‘आज पनि अनुगमन गर्‍यौं,’ ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकले भने, ‘क्षमताभन्दा बढी यात्रु राख्ने १० वटाको कागजपत्र पनि लिएका छौं ।’ यात्रुबाट बढी भाडा लिएको गुनासो नआएको उनले बताए ।

दोब्बर भाडा असुल
लमजुङका अर्जुन मंग्रातीले ‘सुन्दरबजार लमजुङ–काठमाडौं यात्रा पूरा । ४ सयको भाडामा ७ सय । धन्य हामी, हाम्रो सरकार अनि हामीले ल्याएको व्यवस्था’ आफ्नो फेसबुक वालमा पोस्ट गरे । ‘उजुरी गर्नुस् । प्रहरीले कारबाही गर्छ’ भनी जवाफ पठाउँदा ‘भोलि पनि हिँड्नु छ सर ! मानिसलाई, आफूलाई मात्र कसरी हेर्नु खै’ भनी जवाफ फर्काए । उनले सुन्दरबजारदेखि काठमाडौं जाँदा भाडामा ठगिएको भन्दै यस्तो लेखेका हुन् । उनकै वालमा कमल गुरुङले बेंसीसहरबाट स्याँगे (मनाङ जाने बाटो) ३ सय भाडा भएको ठाउँमा जिपले ७ सयदेखि ८ सय रुपैयाँसम्म लिने गरेको लेखेका छन् । देउती कुमालले १ हजारमा परेको र मजाकोटी रवीन्द्रले ८ सय रुपैयाँ तिरेको बताएका छन् ।

बेंसीसहरको चण्डिडाँडास्थित जनविकास माविका सहायक प्रधानाध्यापक राजु थापाले दसैंको समय काठमाडौंबाट बेंसीसहर आएको माइक्रोबसले विद्यार्थीलाई ६ सय रुपैयाँ भाडा लिएको बताए । ‘बडी भाडा लिने र केटाकेटी (विद्यार्थी) लाई भोटेओडारमा अपशब्द बोलेका रहेछन् । बेंसीसहर आएपछि मनाङेचोतारा पुग्ने केटाकेटीलाई जेबी चोक (बीचभाग) तिरै जबरजस्ती झारेछन् । तर, गाडी मनाङे चौतारा नै पुग्यो,’ उनले भने, काठमाडौं–बेंसीसहर माइक्रोबसले दसैंको मौकामा यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने गरेका छन् । बढी लिएको भनेमा थर्काउने गरेका छन् ।’

बेंसीसहरमा पृथ्वी राजमार्ग, लमजुङ कालिका यातायातद्वारा सञ्चालित सवारी साधन छन् । पछिल्लो समय विभिन्न कम्पनीले सवारी साधन सञ्चालनमा ल्याएका छन् । २ यातायातका टिकट काउन्टर अगाडि नै व्यवसायीले बढी भाडामा बार्गेनिङ गरेर काठमाडौं, पोखरा, चितवन लगायत ठाउँमा यात्रु ओसार्ने गरेका छन् । ‘हाम्रो कमाउने बेला नै यही हो । यतिबेला पनि अलि अलि गरिएन भने हातमुख जोड्न गाह्रो हुन्छ । अरू समय खाली खाली हिँड्नुछ,’ एक व्यवसायीले भने । उनका अनुसार प्रायः सबै सवारी साधनले भाडाभन्दा बढी रकम उठाएको बताए । ‘एउटा होइन, दुइटा होइन । ट्राफिकले कारबाही गरेको भन्दै २/४ वटामात्रै देखाउने गरेको छ,’ उनले भने ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख सई छवबहादुर घर्तीका अनुसार दसैंका बेला सवारी साधनले दोब्बर बढी भाडा असुलेको भेटिएको छ । ४ सय ५० भाडाका सवारीले १ हजारसम्म लिएको पाइएको छ । ‘उजुरी आएका र थाह पाएकालाई हामीले गाडी रोकेर भाडा फिर्ता गर्न लगाएका छौं । यात्रुले पनि गाडी रिजर्भ गरेर ल्याएका हौं, बढी पैसा होस् या घटी, तपाइँलाई के मतलब, भन्नुहुन्छ । त्यही सवारीका यात्रु बढी पैसा तिर्नुपरेको भनी गुनासो गर्नुहुन्छ । अनि हामीलाई पनि अप्ठ्यारो,’ उनले भने । बढी भाडा लिने सवारीबाट १ हजार र बढी यात्रु राख्नेसँग १ हजार ५ सय रुपैयाँसम्म जरिवाना असुल गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय भोटेओडारका निरीक्षक राजेन्द्र थापाका अनुसार डुम्रेबाट बेंसीसहर आउँदै गरेको विनर हाइसले प्रत्येक यात्रुबाट ३ सय रुपैयाँका दरले भाडा लिएको र प्रहरीले बढी भाडा यात्रुलाई फिर्ता गरेको बताए । डुम्रे–बेंसीसहरको भाडा १ सय ५० रुपैयाँ हो । काठमाडौं–बेंसीसहर चल्ने सवारी साधनले ८ सयदेखि १ हजार रुपैयाँसम्म उठाएको पाइएको उनले बताए ।

‘माइक्रोबस भन्दा ठूलो बसले बढीमात्रामा यात्रुसँग बढी भाडा लिएको पाइएको छ,’ उनले भने, ‘हामीले सवारी रोकेर यात्रुलाई सोध्ने गरेका छौं । यात्रुसँग सोध्दा बढी भाडा तिरेको भने हामीले बढी लिएको भाडा फिर्ता गराएका छौं ।’ चाडपर्वलाई लक्षित नागरिक तथा यात्रु सहायक केन्द्र स्थापना गरी सहजीकरण गरिरहेको उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७६ १५:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तेह्रथुममा सयभन्दा बढी झोलुंगे पुल

कान्तिपुर संवाददाता

तेह्रथुम — दुर्गम पहाडी क्षेत्रको कुनै एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने माध्यम जिल्लामा झोलुंगे पुल बनेको छ । जिल्लाका सबै स्थानीय तहलाई सडक सञ्जालले जोडे पनि जिल्लाबासीले छोटो दूरी पार गर्न झोलुंगे पुललाई नै माध्यम बनाएका छन् ।

तत्कालीन जिविसले जिल्लाको एउटा गाउँलाई अर्को गाउँसँग जोड्न झोलुंगे पुल बनाएको थियो । पछिल्लो समय जिल्ला समन्वय समिति र स्थानीय तहले पनि झोलुंगे पुल निर्माणलाई प्राथमिकतामा राखेको छ ।

दुर्गम गाउँमा सडक सञ्चाल नपुग्दै त्यस समय जिविसले एक गाउँलाई अर्को गाउँसँग जोड्न सीमा जोडिएका खोलामा झोलङुगे पुल लगाउने अभियान नै चलाएको थियो । त्यस यता मात्र जिल्लाका खोलामा १ सय बढी झोलुंगे पुल निर्माण भइसकेको जिल्ला समन्वयसमिति प्रमुख शिव ढुंगानाले बताए । पछिल्लो समय वर्षमा ५ देखि ७ वटासम्म झोलुंगे पुल निर्माण हुने गरेका छन् ।

त्यसताका जिल्लाका सबै गाउँमा मोटर बाटो निर्माण गर्न सम्भव थिएन । पहाडी धरातल भएका गाउँका बीचमा ठूला खोला र भिरपहरा थिए । वल्लो गाउँका बासिन्दालाई पल्लो गाउँसम्म पुग्न यिनै खोला र भिरपहारा बाधक बन्ने गर्दथे । सडकभन्दा केही सस्तो बन्ने झोलुंगे पुल बनाएर दुर्गम गाउँबासीको ओहोर–दोहोरको समस्या समाधान गर्ने उपाय जनप्रतिनिधि सहितको तत्कालीन जिविसले डेढ दशकअघि नै निकालेको तत्कालीन पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले बताए ।

अहिले गाउँगाउँमा सडक सञ्जाल पुगेको छ, तर पनि झोलुंगे पुलको महत्त्व नघटेको उनले बताए । तेह्रथुमको हकमा झोलुंगे पुल विकासको मेरुदण्ड नै बनेको प्रदेश सांसद लक्षमण तिवारीको भनाइ छ । ‘गाउँगाउँमा सडक पुर्‍याउने कल्पनाभन्दा पहिल्यै खोलामा पुल बनिसकेका थिए,’ सांसद तिवारीले भने । गाउँगाउँबाट प्रत्येक वर्ष दस/बाह्रवटा जति झोलुंगे पुल बनाइदिन अनुरोध गर्दै निवेदन आउने गरेको जिल्ला समन्वय समिति प्रमुख ढुंगानाको भनाइ छ ।

झोलुंगे पुल निर्माणका लागि त्यस समय जिविसले छुट्टै गुरुयोजना नै तयार गरेर काम गरेको तत्कालीन जिविस सभापति दुलालले बताए । पुलको माध्यमबाट एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने काम त्यसताका अभियानकै रूपमा सञ्चालन गरिएको उनले सम्झिए ।

तत्कालीन जिविसले झन्डै डेढ दशकअघिबाट जिल्लाका खोलानालामा झोशलुंगे पुल बनाउने कामको सुरुवात गरेको थियो । हालको जिल्ला समन्वय समितिले पनि सोही कामलाई निरन्तरता दिइरहेको छ । जिल्लामा अहिले १ सयभन्दा बढी झोलुंगे पुल निर्माण भइसकेका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १५:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT