२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फेरि गाउँ सुनसान

सम्झना रसाइली

(तनहुँ) — दसैंसँगै चहलपहल बढेको ग्रामीण क्षेत्र फेरि सुनसान हुन थालेको छ । रोजगारी, सेवा सुविधाको खोजीमा सहर केन्द्रित भएकाहरू आफ्नो जन्मथलोमा दसैं मनाउन फर्कंदा गाउँमा एकाएक चहलपहल बढेको थियो । दसैं बिदाको अवसरमा गाउँ आएकाहरू कर्मथालोमा फर्किने क्रमसँगै गाउँ सुनसान हुँदै गएको हो ।

दसैंसँगै चहलपहल र छोरानातिसँग केही दिन रमाइलो भएको तर फेरि पुरानौ अवस्थामा फर्किएको व्यास नगरपालिका–११ का प्रेमबहादुर विकले बताए । उनले भने, ‘छोराहरू विवाह नगरिन्जेल वैदेशिक रोजगारीमा थिए र अहिले विवाह गरेपछि आफना बच्चाहरूलाई राम्रो भविष्य दिनका लागि सहर झरेका छन् । गाउँमा हामी बुढाबुढी मात्र छौं ।’ उनीहरू चाडपर्वमा मात्र आउने तर धेरै दिन नबस्ने गुनासो उनको थियो । छोराछोरी, नातिनातिनी, आफन्तजन, इष्टमित्रसँगको भेटघाटले दसैंका बेला निकै रमाइलो हुन्छ । तर यो खुसी र रमाइलो धेरै दिनसम्म नटिक्ने उनले बताए ।


भानु नगरपालिकाका–१३ मिर्लुङस्थित टुटेपानी गाउँका क्याप्टेन होमबहादुर गुरुङ पनि गाउँ पनि सुनसान हुनथालेको बताउँछन् । उनले भने, ‘गाउँघरमा बालबच्चा भए रमाइलो हुने हो । उनीहरू नै नभएपछि न त कुनै चाडपर्वमा रौनक हुन्छ न त गाउँमा नै चहलपहल हुन्छ ।’ उनले अब छोराछोरी, नातिनातिना भेटन अर्को दसैं कुर्नुपर्ने बताए । सबै आफन्त मिलेर चाडपर्व मनाउँदा गाउँ नै रमाइलो हुने उनी बताउँछन् । ‘दसैंको समयमा छोराछोरी, नातिनातिना गाउँ आएका छन् भनेर पिङ हालिन्छ । अब त त्यो खेल्ने पनि कोही हुँदैन,’ गुरुङले भने, ‘बच्चाहरूले खेल्छन् भनेर हालिदिएको पिङ त्यसै हल्लिएको देख्दा साह्रै नरमाइलो लाग्छ ।


खाली हल्लिएको पिङले पनि गाउँमा रहेका सबै वृद्धावृद्धालाई जिस्काइरहेको जस्तो लाग्छ ।’ ग्रामीण क्षेत्रमा सेवा सुविधा नभएका कारण सबै युवा विदेश, आसपासका सहरबजारमा सुविधाको खोजीमा हिंडने चलन बढ्दो छ । खानेपानी, बिजुली, सञ्चार, शिक्षा, रोजगारी, सडकको स्तरोन्नति हुन नसक्दा युवा गाउँ छोडन बाध्य छन् । विशेष चाडपर्वको समयमा मात्र गाउँ सम्झने युवा अन्य समयमा सहरबजारमै रमाउने गर्छन् । ‘विस्तारै गाउँबस्ती जंगलमा परिणत हुँदै छ, चाडपर्वको समयमा चहलपहल देखिने केही ग्रामीण क्षेत्र अरू समयमा सुनसान हुन्छ,’ गुरुङले भने ।


प्रकाशित : आश्विन २६, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?