कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहज हुँदै मनाङ यात्रा

कान्तिपुर संवाददाता

(लमजुङ) — वर्षायाममा बाढीपहिरोले प्राय: अवरुद्ध हुने बेंसीसहर–चामे सडक सहज बन्दै गएको छ । मनाङको चामेसम्म गाडी गुड्न थालेको ६ वर्ष भयो । ४ वर्षयता माथिल्लो क्षेत्रमा पनि गाडी गुड्न थालेका छन् ।

बेंसीसहर–चामे सडक ६५ किमि छ । चामेबाट माथिल्लो मनाङसम्म ३० किमि र चामेबाट खाङसार ३८ किमि पर्छ । चामेदेखि लमजुङ सीमाको म्यार्दीखोलासम्म ३० किमि, बेंसीसहरदेखि म्यार्दीखोलासम्म ३५ किमि छ । अधिकांश सडक भीरैभीरमा बनाइएको छ । बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने स्याँगेमा केही समयअघि गएको पहिरो हटाएपछि यातायात सुचारु भएको छ । असार ८ मा बगाएको म्यार्दीखोलाको बेलिब्रिज तीन महिनामा पुनर्निर्माण सकेर असोज ९ बाट सवारी आवागमन सुरु भएको छ । म्यार्दीभीरमा सडक सहज भएको छ । ‘यति बेला मनाङको कुनै पनि ठाउँमा सडक अवरुद्ध छैन,’ मनाङको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले भने ।


लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङका अनुसार बर्खायाममा बाढी र पहिरोग्रस्त सडकमा अहिले त्यो समस्या छैन । यातायात साधन निर्बाध आउजाउ गरिरहेका छन् । ‘पहिरो हटाएपछि गाडी गुडिरहेका छन्,’ उनले भने । लमजुङ खण्डको च्याम्चे, अर्खलेबेंसी, स्याँगे क्षेत्र बढी जोखिमयुक्त मानिन्छ । बर्खायामबाहेक हिउँदमा कुनै समस्या नहुने उनले बताए ।


मनाङतर्फ म्यार्दीभीर र सिरानताललगायत क्षेत्र जोखिमपूर्ण मानिन्छन् । हिउँदमा भने कुनै समस्या हुँदैन । डिभिजन सडक कार्यालय दमौलीका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार साउन र भदौमा बढी पानी पर्ने भएकाले बाढीपहिरोको डर हुन्छ । ‘सबैभन्दा ठूलो समस्या म्यार्दीखोला र पहिरोमा थियो । पुल राखिसक्यौं । पहिरो हटाइसक्यौं,’ उनले भने, ‘अरू ठाउँका सानातिना पहिरो पनि पन्छाएका छौं । कहिलेकाहीँ सानोतिनो पहिरो जानु सामान्य हो ।’ बेंसीसहरदेखि माथिल्लो मनाङसम्मै सवारीसाधन गुड्न थालेको उनले बताए ।


मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार केही दिनअघिसम्म सडक खुल्ला कि नखुल्ला भन्ने थियो । ‘अब आवतजावतमा समस्या छैन,’ उनले भने, ‘बाटो खुलेपछि सबैलाई सुविधा भयो ।’



प्रकाशित : आश्विन २६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?