जिप दुर्घटनामा १ को मृत्यु, ४ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । 

शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले बताए ।


दुर्घटनामा देवचुली–१०, बस्ने २७ वर्षीय आशिस खनाल, १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखरेल घाइते भएका छन् । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


निरन्दीखोलाको उकालोमा जिपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जिपमा करिब १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २५, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?