१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कैदीबन्दीलाई खसी र खाद्यान्न

आश गुरुङ

(लमजुङ) — दसैं मनाउन कारागारभित्र खसी र खाद्यान्न पाएपछि कैदी र बन्दी (थुनुवा) मा खुसी छाएको छ । दसैं मनाउन सहज भएको उनीहरुले बताए ।

कैदीबन्दीलाई खसी र खाद्यान्न

कारागार आन्तरिक व्यवस्थापनका नाइके राजन पोखरेलले दसैं मनाउने सुरसार नभएको बेला पाएको सहयोगले कैदीबन्दी खुसी भएको बताए । ‘दसैं त मनाउनु पर्‍यो । सरकारी सिदाले दसैं मनाउन सकिँदैन । खसी र खाद्य सामग्री सहयोग मिल्यो’ उनले भने, ‘यतिले मात्रै पुग्ने होइन, हामी आफैं पनि केही व्यवस्थापन गर्छौं । सहयोगले थप सहज भएको छ ।’


कारागारका चौकीदार दिनेश परियारले खसी र खाद्यान्नले कैदीबन्दीलाई दसैं मनाउन सहयोग मिलेको बताए । ‘आफन्तले फोन गर्छन्, दसैं मनाउन पाएनौं, मासु खान पाएनौं भनेर बोल्छन् । हामीलाई खसी र खाद्यान्न छ, हामी राम्रैसँग दसैं मनाउँछौं भन्न पाएका छौं’ उनले भने ।


कैदीबन्दीलाई नेपाल बार एसोसिएसन लमजुङ इकाईले १५ हजार रुपैयाँ बराबरको खसी शनिबार कारागारमै गएर प्रदान गरेको छ । बार अध्यक्ष कृष्णप्रसाद अधिकारीले विभिन्न परिबन्धमा परे पनि चाडबाड मनाउन पाउने सबैको अधिकार भएकाले शुभकामना स्वरुप खसी प्रदान गरेको बताए ।


कारागारका कैदीबन्दीलाई दसैं मनाउन लमजुङ मर्स्याङ्दी युवा क्लबले कारागारमै पुगेर खाद्य सामग्री सहयोग गरेको छ । क्लबका अध्यक्ष जुन तामाङका चामल, चिउरा, तेल, चिनी लगायत १५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको छ ।


कारागारका जेलर विष्णुप्रसाद पौडेलले दसैंको समयमा गरिएको सहयोगले थप महत्व राखेको बताए ।


उनका अनुसार कारागारमा महिला ८ र पुरुष ७४ गरी ८२ कैदीबन्दी छन् ।

प्रकाशित : आश्विन १८, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?