दसैंमा गाउँ झलमल्ल

कान्तिपुर संवाददाता

दमौली — तनहुँको भिमाद नगरपालिका–४ नरिकोट गाउँको सडक झलमल्ल भएको छ । स्थानीय नरीकोट युवा क्लबले दसैंको अवसरमा गाउँको टोलटोलमा सडक बत्ती जडान गरेपछि उज्यालिएको हो  ।

गाउँमा भएका शुभकार्यमा संकलित रकमले सडक बत्ती जडान गरिएको क्लबका अध्यक्ष पदम रानाले बताए । गाउँको दर्जन बढी ठाउँमा बत्ती जडान गरेको उनले बताए । युवाले श्रमदान पनि गरेका थिए । बत्ती जडान गर्दा करिब ५० हजार रुपैयाँ खर्च भएको छ ।

युवा क्लबले सडक बत्ती जडान गर्नु उदाहरणीय कार्य भएको स्थानीय बुद्धिजीवी देवेन्द्र थापाले बताए । ‘युवाको कार्य सराहनीय छ,’ उनले भने, ‘अन्धकार गाउँ उज्यालो भएको छ ।’ सडक बत्तीका कारण गाउँ सुरक्षित हुने उनले विश्वास गरे ।

चोरी र वन्यजन्तु आक्रमणबाट पनि जोगिन सकिने उनको भनाइ छ । बटुवालाई पनि रातको समयमा हिँड्डुल गर्न सहज भएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

घर पाएर दंग माझी

प्रकाश बराल

बागलुङ — पोखरा–बागलुङ राजमार्ग निर्माणको बेला गणेश घुम्तीको पहरो फोड्दा २०४९ मा बमसिंह माझीको घर पुरियो  । उनीसँगै १४ माझी परिवारको घरबास उठ्यो  ।

उनीहरू बांगेचौरमा अस्थायी घर बनाएर बसे ।

घर छाडेर विस्थापित भएका राजु माझीले पनि आफ्नै घर पाउने आस मारेका थिए । गत वर्ष बागलुङ नगरपालिकाले घर बनाएपछि उनीहरू दंग छन् । सार्वजनिक जमिनको छाप्रोमा बस्दा सधैं सुकुम्बासीका नामले चिनिएको परिचय फेरिएकोमा उनीहरू खुसी भएका हुन् ।

राजमार्गको ट्र्याक खुल्दा उनीहरूको बस्तीबाट सडक पसेपछि घरबास उठेको थियो । फुटबल मैदान छेउमा छाप्रोमा बसेका उनीहरूले आफ्नै घरमा दसैं मान्ने तयारी गर्दैछन् । रंगरोगन लगाएको घर, खानेपानी र घरघरमा शौचालयले उनीहरूको दैनिकी फेरिएको छ ।

बागलुङ नगरपालिकले दशक अघिदेखि बस्ती बनाएर स्थानान्तरण गर्ने योजना बनाए पनि गत वर्षदेखि उनीहरू आफ्नै घरमा बस्न पाएका हुन्। नगरपालिकाले औपचारिक कार्यक्रम गरेर हस्तान्तरण नगरे पनि १४ परिवार भने बस्न थालिसकेका हुन् ।

यसअघि यही थलोमा माझीबस्ती थियो । हरेकलाई ३ कोठे घर बनाएर बस्न दिइएको हो । ‘सानो ठूलो जस्तो भए पनि आफ्नै घर छ भन्न पाइयो,’ कृष्ण माझीले भने, ‘अब चौरमा बसेका हौं भन्न नपर्ने भयो ।’

घरघरै शौचालय बनेका छन् । ‘माझी बस्ती निकै राम्रो भएछ, अब नमुना बनाउनुपर्छ,’ स्थानीय जीवन काउचाले भने, ‘घेरावार लगाउने, सरसफाइ बढाउने र सडक स्तरीय बनाउनुपर्छ ।’ त्यहाँका बालबालिकालाई सहजै विद्यालय जाने वातावरण बनाउन र सुरक्षाका लागि नगरपालिकाले थप लगानी गर्नुपर्ने उनले सुझाव दिए । कालीगण्डकीको किनार र जंगाल रहेकोले यहाँ चितुवा दैनिक आइरहन्छ ।

चितुवाबाट बालबालिकासमेत बचाउनका लागि तारबार चाहिने माझीहरूले बताए । नगर विकास कोष र बागलुङ नगरको लगानीसमेत गरी झन्डै डेढ करोडको लागतमा १४ घर निर्माण भएका हुन् । नगरपालिकाले निर्माणका लागि मुक्तिनाथ बी एन्ड त्रिशक्ति संयुक्त निर्माण सेवालाई ठेक्का दिएको थियो ।

घर निर्माणको काम सकिए पनि अहिलेसम्म हस्तान्तण भने भएको छैन । ‘जनप्रतिनिधि आएपछि सफलतापूर्वक माझीलाई आफ्नै घरमा सारियो,’ नगरप्रमुख जनक पौडेलले भने।

प्रकाशित : आश्विन १८, २०७६ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT