गौरवको योजनामा बजेट शून्य

प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्गदेखि गलकोट नगरपालिका–११ रिघा पुग्ने सडकलाई नगरपालिकाले गत वर्ष गौरवको योजनामा राख्यो  । गौरवको योजना भएकोले प्रदेश सरकारको ५० लाख रुपैयाँ र नगरपालिकाको ५० लाख लगानी पनि गरियो  ।

उक्त बजेटले केही खण्डमा स्तरोन्नति गरिएको छ । सडक छेउमा नाली र पर्खालपनि बनेको छ । तर सडकको तीनमध्ये एक खण्डमात्र स्तरोन्नती भएको छ । दुइखण्ड बनाउन बाँकी छ । चालु बर्ष बजेट पर्छ भन्ने आस गरेका रिघाबासी अहिले भने निरास छन् । गौरवको योजनामा समावेश भएकै योजनामा दोस्रो वर्ष बजेट परेन ।

दशकअघि ट्रयाक खुले पनि सिधा यातायातका साधन पुग्न कठिन भएकोले स्थानीयले सास्ती खेपेका छन् । रिघादेखि सिसाखानी हुँदै पाण्डवखानी र रणसिंकिटेनीसम्म सडक जोड्ने लक्ष्य छ । तर चालु वर्षका लागि बजेट नपरेपछि गौरवको योजना बन्छ भन्ने विश्वास नलागेको स्थानीय मित्रलाल खरेलले बताए । ‘गत वर्षको बजेटले राम्रो काम पनि भएको थियो, तर चालु वर्ष बजेट आएन,’ उनले भने, ‘गौरवको योजना भएपछि निरन्तर बजेट राखेर काम सम्पन्न गर्नुपर्नेमा नगरपालिका पछि हट्यो ।’ संघीय, प्रदेश र स्थानीय तह कतैबाट पनि यो वर्ष बजेट नपरेको उनले गुनासो गरे ।

रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य पनि छ । त्यहाँको बौद्ध गुम्बा घुम्न पुग्ने धेरै छन् । तर यो सडक जोखिमको भएपछि सानो रिघा भन्ने स्थानबाट केही मानिस आउजाउ गर्छन् । मुख्य सडकमा भने खाल्डा, साँघुरो र भीरको बाटो भएकोले यात्रा गर्न डराउँछन् । सडक उपभोक्ता समितिका अध्यक्ष लालप्रसाद घर्तीले बजेट निरन्तर पारेर सडकको काम पुरा गर्न आग्रह गरेको बताए । ‘नगरपरिषद्ले यो वर्ष बजेट पारेको छैन, काम पूरा नहुने भयो’ उनले भने, ‘गौरवको योजनालाई कम्तीमा ३ वर्ष बजेट विनियोजन गरिनुपर्थ्यो ।’ वडा ११ को गौरवको योजना भने पनि अहिलेसम्म वडा ९ मा मात्र सडक बनेको छ । रिघाको सिमाना पुगेको काम त्यसअघि पुग्न नसकेको हो ।

गत आर्थिक वर्ष नगरपालिकाले वडा गौरवका योजना भन्दै ११ वटै वडामा ५० देखि ६५ लाख रुपैयाँको एकएक वटा योजना छनोट गरेको थियो । तीमध्ये वडा २ मा सभाहल बनाउने कार्यक्रम थियो । उक्त काम पूरा भएको छ । ६५ लाखको लागतमा भवन बनेको छ । रंगरोगन र फर्निचरको काम भने हुन सकेको छैन । वडा ३ मा कोट मैदान जाने सडकमा बजेट लगानी गरिएको थियो । उक्त बजेटबाट सडक पुगे पनि स्तरोन्नतिको काम नहुँदा वर्षातमै खाल्डा र पहिरो खसेको छ । वडा ५ मा भने हरिचौर बजारमा सडक ढलान गरिएको छ । झन्डै ४० लाख खर्चेर सडक ढलान गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए ।

अन्य केही योजनामा राम्रो काम नभएकोले गौरवको योजना भनेर बजेट विनियोजन नगरेको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘कतिपय काम राम्रै भएका छन्, कतिपयलाई केन्द्रीय र प्रदेश सरकारको बजेट भित्राउन पहल भैरहेको छ, त्यसैले नगरको बजेट नराखेको हो’ गैह्रेले भने, ‘अघिल्लो वर्षको बजेटले राम्रो काम भएको मध्ये रिघाको सडक पनि हो, त्यसलाई ठूलो रकम पारेर काम सम्पन्न गर्ने लक्ष्य बनाएका हौं ।’

छलफलको चरणमा भएकोले तत्काल यो सडक अलपत्र जस्तो देखिएको भए पनि केही वर्षमै पूरा गर्ने लक्ष उनले सुनाए । बडिगाड गाउँपालिकाले पनि गत वर्ष गौरवको योजना भनेका सडकमा यो वर्ष बजेट लगानी गरेको छैन । ग्वालीचौरदेखि जलजला जाने सडकमा गतवर्ष २ करोड लगानी गरेकोमा यो वर्ष रकम घटाएको हो । ‘स्तरीय सडक बन्यो भने पटकपटक बजेट चाहिंदैन, तर यो वर्ष ठूलो लगानी गर्नुपर्थ्यो’ स्थानीय थमनबहादुर थापाले भने, ‘बजेट घटेको रहेछ, यो बाटो अझै जोखिम मोलेर हिंड्नुपर्ने भयो ।’

गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने सडकमा पर्खाल, नाली र स्तरोन्नतिको काम गरिने बताए । गाउँपालिकाबाट रकम घटे पनि संघीय सांसदमार्फत आउने पूर्वाधार साझेदारी विकास कार्यक्रमको बजेट लगाउने उनले बताए । उनले चालु वर्ष पनि दुईवटा सडकलाई गौरवको योजनामै राखेको बताए । यो सडकबाहेक दर्लिङ हुँदै प्युठान जोड्ने सडकलाई पनि एक करोड बढी रकम खर्चेर स्तरीय बनाउने योजना उनले सुनाए ।

गौरवकै योजनाको रूपमा सूचीकृत सदरमुकामदेखि भकुण्डे, रायडाँडा हुँदै बरेङ पुग्ने भनिएको सडकमा पनि चालु वर्ष बजेट छैन । गतवर्ष सदरमुकाम देखिनै सिगाना हुँदै गाजादह जाने सडकका लागि ठूलो रकम खर्चे पनि यो खण्ड एकतिहाइ मात्र चौडा भएको छ ।

चालु वर्ष उक्त खण्ड चौडा पार्ने कामका लागि बजेट नआएको स्थानीयले गुनासो गरे । ‘गौरवको योजना भनेर नाम लिनुभन्दा नियमित रकम खर्चेर नाली, संरचना र पहिरो नियन्त्रण गर्दा सडक स्तरीय बन्छ,’ बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसीले भने।

प्रकाशित : आश्विन १८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

राखियो मूलढोकाको चौकोस

गोरखा दरबार पुनर्निर्माण
४० दिन लगाएर तयार पारेको बुट्टेदार मूलढोका हालैमात्र साइत जुराएर राखिएको छ । पहिलेकै स्वरुपमा मूलढोका निर्माण गरिएको हो ।
हरिराम उप्रेती

गोरखा — सम्झौताअनुसार आगामी मंसिरसम्ममा गोरखा दरबार पुनर्निर्माण सकिनुपर्ने हो  । पुनर्निर्माण सुरु भएको करिब २२ महिनामा बल्ल मूलढोकाको चौकोस राखिएको छ  ।

४० दिन लगाएर तयार पारेको बुट्टेदार मूलढोका हालैमात्र साइत जुराएर राखिएको छ । पहिलेकै स्वरूपमा मूलढोका निर्माण भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । पहिलेभन्दा एउटै बुट्टा फरक छैनन् ।

भदौ पहिलो सातादेखि काम सुरु भएकोमा मूलढोका राख्न सफल भएको उनले बताए । अब कामलाई तीव्रता दिने उनले दाबी गरे । ‘जमिनमुनिको सतह कस्तो थियो बाहिरबाट हेरेर थाहा हुने कुरो भएन, भत्काइसकेपछि जग कमजोर
भेट्यौँ,’ उनले भने, ‘बनाउनु मात्र ठूलो कुरो रहेन, बलियो र मजबुत बनाउन थप अध्ययन गर्न ४ महिना लाग्यो, यसले पनि काममा ढिलाइ भयो ।’

भुइँतलामा आवश्यक झ्यालढोका तयार भइसकेको पुरातत्त्व विभागका इन्जिनियर नवीन पाण्डेले बताए । उनका अनुसार झ्याल, ढोका तयार भइसकेका छन् । पुरानै स्वरूपमा दरबार पुनर्निर्माण हुने उनले बताए । ‘गुणस्तरमा सम्झौता हुँदैन, काठ, इँटाको गुणस्तर हेर्नुपर्‍यो, सेटिङमा पनि टाइम लाग्छ,’ उनले भने, ‘काममा बाधा व्यवधान नआए दरबार ठडिन समय लाग्दैन ।’ भुइँतलामा ५ ढोका रहनेछन् ।

आगन्तुक र स्थानीय निराश
जिल्लामा बढीभन्दा बढी पर्यटक भित्र्याउन आन्तरिक तयारी सुरु भएको छ । आकर्षकको गन्तव्य दरबार पुनर्निर्माण अस्तव्यस्त बन्दा पर्यटक आवागमनमा बाधा पुग्ने भन्दै स्थानीय चिन्तित छन् । इतिहासको अध्ययन गर्ने आन्तरिक पर्यटक पनि आउँछन् । तर दरबारको अवलोकन गर्न नपाएर आगन्तुक भने निराश भएर फर्किन्छन् ।

‘निर्माण सामग्री यत्रतत्र छरिएका छन् । इँटाले बाटो छेकेको छ । चारैतिर घुम्न पनि नमिल्ने रहेछ,’ घुम्न आएका प्रकाश थापाले भने, ‘बारेर राखेको ठाउँमा जबर्जस्ती जानु पनि नमिल्ने, फेरि गोरखकालीबाट गोरखनाथ मन्दिर पुग्न सकस रहेछ ।’ देशकै महत्त्वपूर्ण सम्पदालाई जतिसक्दो चाँडो पुनर्निर्माण सक्न उनले माग गरे ।

पर्यटक घट्दा व्यापार व्यवसाय चौपट बनेको स्थानीय श्याम रानाले बताए । ‘दुई जना बढी मान्छे आए दुई कप चिया बिक्थ्यो, उनले भने, ‘मान्छे कम छन, आएकाहरू पनि दरबार किन बनेन सोध्छन् के उत्तर दिने । म्यासेज नराम्रो गयो, मान्छे दरबार छैन किन जाने भन्न थाले ।’ नेपाललाई चिन्ने भनेकै गोरखाबाट भएकाले दरबार छिटो बनाउनुपर्नेमा उनको जोड छ । दरबार पुग्ने पैदलमार्ग सुधारको आवश्यकता पनि रहेको उनले बताए ।


फागुन मसान्तसम्म ठडिने ठेकेदारको दाबी
दरबार पुनर्निर्माणको जिम्मा पचली सिवाको जेभी कन्ट्रक्सनले पाएको छ । २०७४ कात्तिक २९ मा ठेक्का सम्झौता गरी २०७४ पुस २ बाट जगैदेखि भत्काएर पुनर्निर्माण सुरु भएको हो । आगामी मंसिर मसान्तसम्म पुनर्निर्माण सक्ने सम्झौतामा छ । पुरातत्त्व विभाग, गोरखा दरबार हेरचाह अड्डा र ठेकेदारबीच समन्वयको अभाव देखिएको स्थानीयको आरोप छ । निर्माण सम्पन्न गर्ने अवधि अब ३ महिना मात्र बाँकी छ ।

२२ महिना जगमै बितेको छ । काम २० प्रतिशत मात्र सकिएको छ । २०७२ को भूकम्पपछि दरबारमा पानी चुहिने तथा भित्ता ठाउँठाउँमा चर्किएपछि पुनर्निर्माण सुरु भएको हो । ४ करोड ३७ लाखको लागतमा दरबार पुनर्निर्माण सक्ने सम्झौतामा छ ।

पटकपटक डिजाइन चेन्ज हुँदा सम्झौता बमोजिम काम हुन नसकेको ठेकेदार कम्पनीका सुशीलबाबु श्रेष्ठले बताए । ‘पुरानो दरबार चर्किएको हो भत्किएको होइन,’ उनले भने, ‘चार/पाँच महिना दरबार भत्काउनै लाग्यो, भत्काएपछि पुरानो दरबारको जग कमजोर भेटियो भनेर अध्ययन गर्नै समय लगाइदिए ।’ काठ जुटाउन पनि केही समय लागेको उनले बताए । आगामी फागुन मसान्तसम्म दरबार पुनर्निर्माण सक्ने लक्ष्यसाथ काम भइरहेको उनको दाबी छ ।

स्वरूप पुरानै
पुरानै स्वरूपमा निर्माण हुने दरबार पुनर्निर्माणका लागि चाहिने आवश्यक काष्ठकलाका सामग्री, झिँगटी र इँटा अहिलेकै प्रयोग गर्न सुरक्षित ठाउँमा राखिएको छ । दरबारबाट शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्म्मले शासन गरेको इतिहास छ । पुनर्निर्माण सुरु भएपछि दरबारभित्रका पृथ्वीनारायण शाहले प्रयोग गरेको राजगद्दीलगायत ऐतिहासिक सामग्री सुरक्षित तवरले राखिएको अड्डा प्रमुख भुसालले बताए । ‘काम लाग्ने तीस/चालीस प्रतिशत पुरानै काठपात प्रयोग हुन्छ,’ उनले भने ।

दरबार चारतले बन्नेछ । भुइँतलामा सुत्केरी (कोटले) कन्या, गद्दी र धुनी कोठा रहनेछ । तत्कालीन समयमा पृथ्वीनारायण शाह पनि सोही ठाउँमा जन्मिएको इतिहासमा छ । नवरात्रको दुई दिन फूलपाती र नवमीमा भद्रकाली कन्या कोठामा राख्ने प्रचलन छ । सोही कोठामा दसैंमा १ कुमार, नौ कन्याको पूजा हुँदै आएको भुसालले बताए । ‘त्यो बेला राजा बस्ने गद्दी रहेको कोठा पनि भुइँतलामै हुनेछ,’ उनले भने, ‘गोरखनाथ र दरबारको सम्बन्ध धुनी कोठासँग रहेछ, गोरखनाथमा बलेको धूप गोरखा दरबारको अँगेनामा आउने प्रचलन यथावत् राख्न जगको अध्ययन गरी धूवाँ धुनी कोठासम्म ल्याउने प्रबन्ध मिलाएका छौँ ।’

भण्डार, कोट भण्डार, भाँडाकुँडा राख्ने कक्ष, निसान र पूजा सामग्री राख्ने कोठा दोस्रो तलामा बन्नेछ । तेस्रो तला राजपरिवारको किचन रहेको ठाउँको रूपमा परिचित छ । कटुवाल र टपरी लगाउने कोठा तेस्रो तलामा रहनेछ भने चौथो तलामा उत्तरतर्फ कैलाश कोठा रहनेछ । कैलाश कोठामा सुसारेबाहेक राजारानी र उत्तराधिकारी मात्र जाने प्रचलन रहँदै आएको छ । नवरात्र र चैते दसैंबाहेक कालिका भगवती कैलाश गृहमा राख्ने प्रचलन रहँदै आएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्