१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चाडपर्वमा झिनिया

सम्झना रसाइली

तनहुँ — हुनत अघिपछि पनि खाजाको रूपमा प्रयोग हुन्छ झिनिया (झिलिंगा) । दसैंतिहार जस्ता चाडपर्वमा यसको प्रयोग अत्यधिकै हुन्छ । त्यसैले व्यास नगरपालिकास्थित देउरालीनगरका महिला झिनिया बनाएर राम्रै आम्दानी गर्न थालेका छन । घरमा खानमात्र बनाउने उनीहरु यतिबेला व्यावसायिक उत्पादनमा लागेका हुन ।

चाडपर्वमा झिनिया

गाउँमा दुई आमा समूह छन् । एउटामा ५ र अर्कोमा ६ गरी ११ महिलाले सामूहिक रुपमा झिनिया बनाउँछन् । बिक्रीबाट हुने आम्दानी समूहले राख्छ र दामासाहीले बाढ्छ । घरमै झिनिया बनाउन सिकेपछि व्यवहारमा लागु गरिएको ५० वर्षीया विधादेवी श्रेष्ठ बताउँछिन् । ‘चाडपर्वमा झिनिया बढी बिक्री हुन्छन । दसैंमा झनै बढी हुन्छ,’ उनले भनिन्, ‘यसबाट राम्रो आम्दानी भएको छ । दसैं खर्च राम्रैसँग चल्ने गरेको छ ।’


युवा स्वरोजगार र देउरालीनगर आमा समूहले छुट्टाछुट्टै रुपमा झिनिया उत्पादन गर्छन् । अघिल्लो वर्ष वर्ष बजार परीक्षणका लागि मात्र बनाएकोमा राम्रो बजार पाएपछि चाडपर्व लक्षित गरी व्यावसायिक रुपमा अगाडि बढाएको श्रेष्ठले बताइन् ।

खाली समय र सीपको सदुपयोगबाट राम्रो आम्दानी भएकोमा युवा स्वरोजगार आमा समूहकी ५५ वर्षीय लिला थापा प्रसन्न छिन् । उद्योगबाट आएको पैसाले हातमुख जोर्नदेखि लिएर सन्चो विसन्चो हुँदा औषधीमुलोलाईसमेत पुगेको उनी बताउँछिन् । ‘अरु बेला हाम्रो समय त्यसै खेर जान्थ्यो’, थापाले भनिन्, ‘उद्योग सञ्चालनपछि समयको सदुपयोग भएको छ । घरमा बेरोजगार भएर बस्न परेको छैन र चाडपर्वका समयमा पैसा पनि देख्न पाइएको छ ।’

धेरै माग हुने भएकोले चाडपर्व लक्षित गरेर उद्योगमा काम हुने उनले बताइन् । यो समूहले अघिल्लो वर्ष झिनियाबाट खर्च कटाई ३ लाख रुपैयाँ बचत गरेको थियो । मौसमले साथ दिए यो वर्ष ४ लाख आम्दानी हुने विश्वास थापाको छ । आम्दानी ५ जनाले दामासाहीले बाढ्छन ।


देउरालीनगरकी अध्यक्ष मनकुमारी श्रेष्ठले उद्योगबाट महिलाको दैनिकी परिवर्तन भएको बताउँछिन् । उनले भनिन्, ‘घरको कामधन्दा भ्याएर खाली बस्ने महिला अहिले व्यावसायिक भएका छन् । सीपको प्रयोगले उद्योगमा रोजगारीका साथै राम्रो आम्दानी पनि गरेका छन् ।’


उद्योगमार्फत आफ्नो जीवन नै परिवर्तन भएको बताउँदै श्रेष्ठले सदस्यबाट डेढ लाख रुपैयाँ संकलन गरि उद्योग सञ्चालनमा ल्याइएकोमा गत वर्ष ३ लाख रुपैयाँ आम्दानी भएको जनाइन । चामलको पिठोबाट झिनिया बनाइन्छ । सानो र ठुलो आकारमा बनाएको झिलिंगालाई ५/५ वटाको दरले प्याक गरिन्छ । होलसेलमा प्रतिप्याकेट सानोलाई ४५ र ठूलो झिलिंगालाई ५५ रुपैयाँमा बिक्री गरिन्छ । झिलिंगा लमजुङ, गोरखा, पोखरा, नारायणघाट, वीरगञ्जलगायत बजारमा बिक्री हुने गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?