बिचौलिया रोक्न किसान बजार

दीपक परियार

(पोखरा) — आफूसँग हरियो धनियाँ २ सय रुपैयाँ प्रतिकिलो किनेर तरकारी मण्डीले खुद्रा व्यापारीलाई ५ सयमा बेचेको पोखरा–१६ जोगीमणिकी किसान विन्दु अधिकारीले थाहा पाइन्  । बजारमा आइपुग्दा ८ सय रुपैयाँ पुग्यो  । ‘किसान पनि मरे, किनेर खाने पनि मरे,’ उनले भनिन्, ‘विचौलिया फस्टाए ।’

बुधबारदेखि उनले आफैं तरकारी बेच्न थालेकी छन् । पोखरा महानगरपालिकाको सहयोगमा १६ र १९ वडालाई लक्षित गर्दै ठूलीपोखरीमा सुरु भएको किसान बजारमा उनी तरकारी ल्याउँछिन् । तीन रोपनी जग्गामा तरकारी खेती गर्दै आएकी उनी बजारको समस्या नहुनेमा ढुक्क छिन् । बुधबारदेखि किसान बजार सुरु भएको हो । किसान बजारमा ल्याएर सिंधै उपभोक्तालाई तरकारी बेच्न पाउँदा पोखरा–१९ पुरुन्चौरका किसान शालिकराम अधिकारी दंग छन् ।

‘मण्डि (कृषि बजार उपज केन्द्र) मा लैजाँदा उचित मूल्य पाइँदैन,’ उनले भने, ‘पैसा पनि समयमा पाइँदैन । यहाँ हातहातै पैसा पाइयो । मूल्य पनि पाइयो ।’ किसान बजारले उपभोक्तालाई पनि सुविधा हुने उनी बताउँछन् । उनका अनुसार बाहिर १ सय रुपैयाँ प्रतिकिलो किन्नुपर्ने गोलभेडा उनले ७० रुपैयाँमा दिएका छन् । उनले ७ रोपनी जग्गामा पशुपालन र तरकारी खेती गरिरहेका छन् । उनी दिनमा ३०–३५ किलो गोलभेडा विक्री गर्छन् ।

बुधबार उद्घाटन भएको किसान बजार अहिले शनिबार मात्रै सञ्चालन गर्ने योजना छ । महानगरको ११ लाख रुपैयाँ सहयोगमा संरचनासहितको बजार बनेका हो । बजारमा ५ डिजिटल तराजु, क्रेटलगायत सामग्री राखिएका छन् । एकपल्टमा २५ किसानले आफ्ना उत्पादन कृषि बजारको भवनमा विक्रीका लागि राख्न सक्छन् ।

कृषक गोविन्दप्रसाद आचार्य कृषि बजार दिनदिनै चलाउनुपर्ने बताउँछन् । ‘यो भेगमा उत्पादनको समस्या छैन,’ उनले भने, ‘बरु हाम्रो उत्पादनमा बिचौयिाले धेरै मुनाफा खाइरहेका छन् । दिनदिनै बजार चल्ने हो भने कृषकले आफ्नो उत्पादन यहीं बेच्छन् ।’ ६० किलो पाकेको काँक्रो लिएर किसान बजार आएकी पोखरा–१९ की मधुमाया बास्तोला किसान बजारमा खुसी देखिइन् । उनले ल्याएको काक्रो खोसाखोस भयो ।

‘म बुढी मान्छेले पहिला डोकोमा बोकेर घरघरै गएर बेच्नुपर्थ्यो,’ आँखा तेजिलो बनाएर अनुहारमा मुस्कान भर्दै उनले भनिन्, ‘यहाँसम्म गाडीमा ल्याए । सबै एकैछिनमा बिक्यो ।’ उनले यो सिजनमा काक्रो बेचेर २५ हजार रुपैयाँ कमाएको सुनाइन् । भनिन्, ‘दसैं खर्च काक्रोले उठायो ।’ लामाचौरका डिलबहादुर विकले किसान बजारबाट गोलभेडा, बोडी, फर्सी किने । बाहिरभन्दा मूल्य सस्तो भएको उनले बताए । भने, ‘किसान बजारले निरन्तरता पाउनुपर्छ ।’

लामाचौरको किसान बजारको उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जीसीले बिचौलियाको चलखेल रोक्न र नागरिकको स्वास्थ्यमा ध्यान दिँदै बजार सञ्चालनमा ल्याएको बताए । पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार महानगरभित्र किसान बजार स्थापना गर्न एक करोड रुपैयाँ छुट्याइएको थियो ।

लामाचौरको बजार दोस्रो हो । यसअघि पोखरा–१७ विरौटामा किसान बजार खुलिसकेको छ । पोखराका २१, २२, ३३ र १७ वडालाई पायक पर्ने स्थानमा किसान बजार खोलिएको उनले बताए । ‘स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादनमा बिचौलियालाई प्रवेश गर्न नदी उत्पादक र उपभोक्ताबीचको दुरी घटाउने यसको उद्देश्य हो,’ उनले भने, ‘विषादीरहित बनाउने र ढुवानी खर्च पनि जोगिने भएकाले स्वास्थ्य र कम खर्चिलो हुन्छ ।’ हाल कृषकलाई किसान बजारभित्र निःशुल्क स्थान उपलब्ध गराएपनि निश्चित समयपछि केहि रकम लिने उनले सुनाए । उक्त रकम किसान बजारको व्यवस्थानमा प्रयोग हुने जानकारी उनले दिए ।

पोखरा–१६ का अध्यक्ष जीवन आचार्यका अनुसार वडाभित्र व्यक्ति र सामूहिक गरी १ सय ३७ कृषि फर्म सूचिकृत छन् । पोखरा–१९ मा एक सय फर्म छन् । पोखराको बगर, नदीपुर, महेन्द्रपुलसम्म १६ र १९ नम्बर वडाले तरकारी पुर्‍याउन सक्ने उनी बताउँछन् । हाल किसान बजारको व्यवस्थापन निर्माण समिति, कृषि सञ्जाल, एलसी ब्रदर्श युनाइटेडले गरिरहेका छन् ।

प्रकाशित : आश्विन १६, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?