घूससहित नापी सर्वेक्षक पक्राउ

लालप्रसाद शर्मा

पोखरा — नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारी सेवाग्राहीसँग घूस लिएको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

सर्वेक्षक भण्डारीलाई सेवाग्राहीको जग्गा नापजाँच तथा क्षेत्रफल छुट्टाउने काममा १० हजार रुपैयाँ घूस लिएको अवस्थामाअख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो ।

भण्डारीलाई पोखराको बुद्धचोकस्थित एक रेस्टुरेन्टमा सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा मंगलबार राति रंगेहात नियन्त्रणमा लिइएकोआयोग पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

प्रकाशित : आश्विन १५, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाँच दशकपछि “मुकुन्द–इन्दिरा”

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली नाटकको इतिहास १५ सय, १६ सय वर्षअघिदेखि नै सुरु भए पनि भारतीय पारसी थिएटरको ठूलो प्रभाव थियो । त्यसलाई चिर्दै रंगमञ्चलाई नेपालीपन दिलाउन बालकृष्ण समको ठुलो भूमिका छ । नाट्य सम्राट मानिने समले लेखेको नाटक ‘मुकुन्द–इन्दिरा’ लाई विसं १९९५ सालमा काठमाडौंको दरबार हाई स्कुलमा मञ्चन गरिएको थियो ।

तत्कालीन समयमा यस नाटकले नेपाली नाटकमा आफ्नै मौलिकता र विशेषता समेत बोकेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी त्यसताक दरबार हाई स्कुलमा नै अष्टम श्रेणीका विद्यार्थी थिए । ‘मुकुन्द–इन्दिरा’ हेर्नेमा उनी पनि एक थिए ।
उनै जोशीले मंगलबार दरबार हाई स्कुलकै नजिकमा रहेको राष्ट्रिय नाचघरको मञ्चमा ‘मुकुन्द–इन्दिरा’ लाई आफ्नै निर्देशनमा देखाए । ‘त्यो बेला पारसी थिएटरको प्रत्यक्ष प्रभावले गर्दा नेपाली नाटक मौलिक थिएनन् । समको यो नाटकले पारसी थिएटरको प्रभावलाई रोक्न ठूलो मद्दत गर्‍यो,’ मंगलबार नाटक मञ्चनभन्दा पहिले निर्देशक जोशीले भने, ‘यस नाटकका संवाद कवितात्मक शैलीमा छ ।’

समले लेखेको नाटकमा जोशीले समकै कविता ‘इच्छा’ र भानुभक्त आचार्यको ‘कान्तिपुरी नगरी’ र लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ कविताको पूर्ण पाठलाई नाट्य भावअनुसार प्रयोग गरेका छन् । पाँच दशकपछि यो नाटक पुन ः मञ्चनमा आएको हो । अन्तिमपटक सम स्वयंको निर्देशनमा विसं २०२१ मा प्रज्ञा प्रतिष्ठानमा ‘मुकुन्द इन्दिरा’ मञ्चन गरिएको थियो ।

उतिबेलाको समाजको कथा उधिनिएको नाटकमा पाटनका साहु रुपनारायणका छोरा मुकुन्द पढाइमा होनाहार हुन्छ । उसको रुपमती र असल स्वभावकी इन्दिरासँग विवाह हुन्छ । विवाहपछि थप अध्ययनका लागि भारतको कोलकाता पुगेको मुकुन्द लामो समयसम्म पनि घर फर्किएर नआएपछि परिवारमा चिन्ता छाउँछ । एक दिन छद्म भेषमा मुकुन्द फर्किएर कोठामा एकान्त बसेकी इन्दिरासामु पुगेपछि पति नचिनेकी इन्दिराले आत्मरक्षाका लागि मुकुन्दमाथि खुकुरी चलाउँछिन् । सेक्सपियरको शैलीबाट प्रभाविता नाटकले पछि भने सुखद अन्त्य लिन्छ ।

एक सय वर्ष पुगिसकेका संस्कृतिविद् जोशीको निर्देशनमा नाटक मञ्चन हुनु दुर्लभ उदाहरण हो । शिल्पी थिएटरको प्रस्तुतिमा मञ्चन गरिएको ‘मुकुन्द–इन्दिरा’ को रिहर्सलमा समेत जोशीको सक्रियता बाक्लो थियो । शिल्पीका घिमिरे युवराज भन्छन्, ‘सय वर्षको उमेरमा रंगमञ्चमा हरेक दिन आएर कलाकारहरूलाई निर्देशन गर्नु नेपालमा मात्रै होइन, संसारकै रंगमञ्चमा नौलो इतिहास हो भन्ने हामीलाई लागेको छ ।’ नाटकलाई राजनीतिज्ञ सुन्दरराज चालिसेको शतवार्षिक जन्मजयन्तीका अवसरमा मञ्चन गरिएको हो ।

समको निर्देशनमा दरबार हाइस्कुलमा पहिलो मंचन भएको बेला उनै चालिसेले ‘मुकुन्द–इन्दिरा’ मा बिमानचाको भूमिकामा अभिनय गरेका थिए । निर्देशक जोशीले चालिसेसँगको सम्बन्ध सम्झँदै भने, ‘म दरबार हाई स्कुलमा अष्टम श्रेणीमा छँदा सुन्दरराज दशम श्रेणीमा पढ्नुहुन्थ्यो । आज उहाँको शतवार्षिकीमा उहाँले नै अभिनय गरेको नाटक मञ्चन गर्नु उपयुक्त लागेर निर्देशन गरेको हुँ ।’

जोशी निर्देशित ‘मुकुन्द–इन्दिरा’ मा बिमानचाको भूमिकामा मानहाङ लावतीले अभिनय गरेका छन् भने मुकुन्द र इन्दिराको भूमिकामा क्रमशः दिवेन कार्की र पवित्रा खड्काले अभिनय गरेका थिए । त्यसबाहेक नाटकमा मातृका घिमिरे, सीता घिमिरे, हेमन तण्डुकार, रविन परियार, सुमित भण्डारी, स्मारिका फुँयाल, मञ्जु श्रेष्ठको अभिनय रहेको छ । जोशीले नाटकलाई काव्यात्मक अभिव्यक्तिकै शैलीमा पस्किएका थिए । नाटकले आठ दशकअघिको नेपाली परिवेशको छनक दिएको थियो ।


प्रकाशित : आश्विन १५, २०७६ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT