कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कुश्मामा स्वास्थ्य बिमा

दिप्ती सिलवाल

(पर्वत) — यसअघि ४२ जिल्लामा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम जिल्लाको कुश्मा नगरपालिकामा सुरु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डको गण्डकी प्रदेश शाखाले बिमाबारे जानकारी गराउँदै कुश्माका सबै वडामा एकसाथ बिमा सुरु गर्ने बताएको हो । 

पहिलो चरणमा कुश्मा नगरपालिकाबाट सुरु गर्ने तयारी गरेको बोर्डले हरेक परिवारको स्वास्थ्य बिमा अनिवार्य गर्न जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै सबै वडामा स्वास्थ्य बिमाकर्ता छनोट गर्न पनि आग्रह गरेको छ । गण्डकीका स्वास्थ्य बिमा प्रमुख जीवलाल कँडेलले बिमाबारे नीतिगत व्यवस्था, बीमितले पाउने सुविधा, सूचीकृत अस्पतालले दिने सेवा लगायतबारे प्रस्ट्याए ।


कुश्माको प्रभावपछि अरु स्थानीय तहमा लगत्तै सुरु गरिने बताउँदै खरेलले सबै वडाध्यक्षलाई बिमाकर्ता छनोट गरी प्रभावकारी रूपमा बिमा घरघरै पुर्‍याउन आग्रह गरे । ‘यहाँको प्रभावले अरू तहमा लैजाँदा सहज हुनुपर्छ,’ खरेलले भने, ‘यसमा मुख्य भुमिका वडाध्यक्षको हुन्छ ।’ बिमाकर्ता छनोट गरि पठाएपछि प्रदेशले आवश्यक तालिमसहित बिमाका कागजात पठाएपछि दसैंलगत्तै घरघरै बिमा कार्यक्रम सुरु हुने उनले बताए ।


बिमा गरेको बढीमा ४ देखि कम्तीमा १ महिनाभित्रबाट सेवा सुरु हुने खरेलले बताए । उनका अनुसार सेवा अवधि सकिएको एक वर्षमा नविकरण गर्नुपर्छ । स्थानीय तहमा गाउँ/नगरपालिका प्रमुखको संयोजकत्वमा स्वास्थ्य बिमा संयोजन समिति गठन हुनेछ ।


समितिले बीमित परिवारको संख्या लगायत विवरण सम्बन्धित निकायमा पठाउनुपर्छ । स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसबापत उक्त परिवारले एक लाख सम्मको औषधोपचार सेवा पाउँछ । ७० वर्ष माथिका जेष्ठ नागरिक भएमा ज्येष्ठ नागरिकलाई छुट्टै परिवार मानि ३५ सय बराबरकै बिमा गर्नुपर्ने व्यवस्था छ । ज्येष्ठ नागरिक र अति बिपन्न परिवारले बिमा शुल्क बुझाउन नपर्ने व्यवस्था छ । नियमावलीमा अति अशक्त, कुष्ठरोगी, एचआईभी र जटिल खालका रोगीको परिवारलाई समेत निःशुल्क बिमा हुन्छ । त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था छ । सूचीकृत अस्पतालमा सरकारले निःशुल्क गरेका सेवाबाहेक अन्तरङ्ग, बहिरङ्ग, आकस्मिक सेवासहित ११ सय १८ प्रकारका औषधि बिमा कार्यक्रममा समावेश छन् ।


पछिल्लो समय बिमाको प्रभावकारिता र विश्वसनीयता माथि पनि प्रश्न उठ्न थालेको छ । ‘यसअघि सञ्चालित जिल्लाका बीमितले सेवा नपाएको धेरै गुनासो छ नि,’ कुश्मा–११ वडाध्यक्ष शिवप्रसाद पौडेलले भने, ‘हामीकहाँ पनि उस्तै हुने भए कार्यक्रमको औचित्य के हुन्छ ।’ कुश्मा–१० अध्यक्ष सुजन बिकले सरकारले निःशुल्क उपलब्ध गराउने सेवासमेत बिमा कार्यक्रममा समेटेर कतिपय अस्पतालले ठग्नेगरेको गुनासो आएको बताए ।


बिमा गरेको परिवारले सबै जिल्लाका सरकारी स्वास्थ्य संस्थामा प्याकेजको सुविधा छ । गण्डकी प्रदेशका बीमितले पोखरामा गण्डकी र मणिपाल शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चललगायत १२ अस्पतालमा यो सेवाबारे सम्झौता भएको छ । कुश्मा नगरपालिकाले बिमा प्रक्रिया सुरु भएको जनाएको छ । ‘हामीले सबै वडामा बिमाकर्ता छनोट गर्न भनेका छौं,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘केही दिनमै छनोट गरेर तालिममा पठाएर दसैंपछि काम सुरु गर्छौं ।’


प्रकाशित : आश्विन १४, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?