कान्तिपुरकर्मी गुरुङ सम्मानित

कान्तिपुर संवाददाता

लमजुङ — पत्रकारिताको माध्ययमबाट ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कान्तिपुरकर्मी आश गुरुङलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष समेत रहेका उनलाई क्व्होलासोंथर गाउँपालिका ४ पर्यटकीय गाउँ भुजुङमा सोमबारदेखि सुरु भएको भुजुङ पर्यटन महोत्सव २०७६ को उद्घाटन सत्रमा सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरे । क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारी मुनी गुरुङले क्रेगी (फेटा) गुथाएर सम्मान गरिन् ।

भुजुङजस्तो ग्रामीण भेगमा जन्मिएर देशविदेशमा पर्यटकीय गाउँको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै महोत्सवका अवसरमा पत्रकार गुरुङलाई सम्मान गरिएको भुजुङ पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक एवं पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

यस्तै, गाउँको विकास, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै भुजुङ घर भई हाल हङकङमा रहेका समाजसेवी रामबहादुर गुरुङ र चमेली गुरुङ साथै भुजुङ घर भई गाउँको पहिलो डाक्टर बनेका खुस्बु गुरुङलाई सम्मान गरिएको थियो ।

रामबहादुरलाई क्रेगी (फेटा) गुथाउनुका साथै अल्लोबाट निर्मित सुरुवाल र भेडाको उनद्धारा निर्मित राडी र सम्मानपत्रले सम्मान गरिएको थियो । चमेलीलाई निगालोको चोयाबाट बुनिएको डोकोनाम्लो र स्याखुले सम्मान गरिएको थियो ।

प्रकाशित : आश्विन १३, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ल्हासास्थित महावाणिज्य दूतावासको भवन तयार

लक्ष्मी लम्साल

बेइजिङ — चीनको तिब्बत स्वशासित क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासको नयाँ भवन एक वर्षमा निर्माण सम्पन्न भएको छ।

गत वर्ष सेप्टेम्बर ७ तारिखमा ल्हासामा भएको चौथो अन्तर्राष्ट्रिय चीन तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पोमा सहभागी हुन आएका सभामुख कृष्णबहादुर महराले भवन निर्माणको शिलान्यास गरेका थिए। शुक्रबार एउटा कार्यक्रम गरी तिब्बतले भवन निर्माणको कार्य पूरा भएको जनाएको हो ।

परिसरभित्र भिसा भवन, आवासीय भवन, व्यापारिक भवन, पानी तान्ने भवन, ग्यारेज लगायत ६ वटा एकतलेदेखि तीनतलेसम्मका भवनहरू रहेका छन्। भवन निर्माणको अवधिभर वाणिज्य दूतावासको कार्यालय होटलमा राखेर सञ्चालन गरिएको छ। भवनभित्रका केही फर्निचरहरू जोड्न बाँकी रहेकाले करीब एक महिनाभित्रै दूतावासको कार्यालय नयाँ भवनमा सर्ने महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए।

यसअघि सन् १९७८ मा बनेको ४० वर्ष पुरानो एकतले टायलको घर जीर्ण भएपछि केन्द्र सरकारको अनुमतिमा तिब्बतले नै नयाँ भवनहरू निर्माण गरिदिएको हो। निर्मित संरचनाहरू नेपाली डिजाइनका छन् ।

चीन आफैंले करीब ४०/४५ करोड रुपैयाँ लागत खर्च व्यहोरेपनि डिजाइन र नेपालीपन झल्काउनमा नेपालको हात रहेको कार्कीले बताए । भवनको हालको स्वरुपमा रंग, गजुर र मौलिकता झल्काउनका लागि सहयोग गरेको बताउँदै कार्कीले थपे, ‘नेपालको परराष्ट्र मन्त्रालयको भवन विभागका इन्जिनयरहरूले नेपालीपन झल्किने गरी नक्सा बनाउन योगदान गरेका छन्।’

सन् २०१७ मा ल्हासाका उपमेयर चाओ थाओ र कार्कीले महावाणिज्य दूतावासको पुनःनिर्माण तथा भवन निर्माणसम्बन्धी परियोजनामा हस्ताक्षर गरेपछि पुराना भवनहरू निर्माणको प्रक्रियाले गति लिएको थियो। छिट्टै भवन हस्तान्तरण समारोह गरेपछि भवनमा प्रवेश गर्ने साइत जुराइने कार्कीले सुनाए ।

निर्माण समापन समारोहमा बोल्दै तिब्बतकी विदेश मामिला कार्यालयकी निर्देशक पाइ मान याङचोङले चीन र नेपाल नदी र पहाड तथा दाँत र ओठ जोडिएजस्तै असल छिमेकी भएको बताइन् । उनले भनिन्, ‘नेपाल र चीन असल छिमेकी, असल साझेदार, असल साथी हुन् । ’

चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्षमा दुवै देशबीचको सम्बन्ध स्वस्थ तथा स्थिर रूपमा विकसित भएको उनको भनाइ थियो। मैत्रीपूर्ण आदान प्रदान तथा आपसी विश्वासको स्तरपनि निकै बलियो बनेको बताउँदै उनले थपिन्, ‘आर्थिक तथा व्यापारिक वातावरण अझै उन्नत भएको छ, मानवीय आदानप्रदान विस्तृत हुँदै गएको छ।’

महावाणिज्यदूत कार्कीले नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा तिब्बत सरकारलाई सामाजिक तथा आर्थिक विकासमा प्राप्त उपलब्धीप्रति बधाइ दिए । ‘ल्हासाको महावाणिज्य दूतावासको नयाँ भवन निर्माण परियोजना निकै महत्वपूर्ण काम थियो, कार्कीले भने’, ‘नयाँ संरचना तथा उपकरणको प्रयोगले महावाणिज्य दूतावासको काममा चुस्तता आउनेछ।’

महावाणिज्यदूत कार्कीले तिब्बतमा निर्मित नवनिर्मित भवन हस्तारण भएपछि नेपाल सरकार र नेपालीले चीनले दिएको उपहारको रूपमा यसलाई आत्मीयताका साथ सम्झिरहने बताए।

प्रकाशित : आश्विन १३, २०७६ १७:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT