मध्यपहाडी लोकमार्ग : लमजुङ खण्डमा विवाद

आश गुरुङ

(लमजुङ) — मध्यपहाडी (पुष्पलाल) लोकमार्ग बस्तीभित्रबाट बनाउने सरकारी योजनाको विरोधमा स्थानीय उत्रिएका छन् । उनीहरूले सडक निर्माणका लागि रेखांकन (सर्भे) समेत गर्न दिएका छैनन् । सरकारले जसरी पनि बस्ती भित्रबाटै सडक निर्माण गर्ने योजना अघि सारेको भन्दै स्थानीय सशंकित बनेका छन् । 

मध्यपहाडी लोकमार्ग : लमजुङ खण्डमा विवाद

स्थानीयले ५ वर्षदेखि सर्भे गर्न नदिएका हुन् । हाल बस्तीभित्र सडकको लगत कट्टा भएको छैन । सडकका लागि प्रयोग गरिएको जग्गाको कर स्थानीयले तिर्दै आएका छन् । सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीका नवीन श्रेष्ठले कुनै पनि हालतमा अहिलेको सडकबाट लोकमार्ग बनाउन नदिने बताए । ‘हामीले अस्थायी रूपमा आफ्नै लागि सडक कालोपत्रे गरेका हौं । यही बाटो पछयाउँदै मध्यपहाडी लोकमार्ग लान्छु भन्न पाइँदैन,’ उनले भने, ‘सरकारले चाहेमा विकल्प निकालेर तलमाथिबाट सडक लैजान सक्छ । सुकुम्बासी भएर हामी जग्गा दिन सक्दैनौं ।’ केही साताअघि आफ्ना मागहरू लिएर भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीसँग भेट भएको र मन्त्रीबाट सकरात्मक आश्वासन नपाएको स्थानीयको गुनासो छ ।


स्थानीयको अवरोले दायाँबायाँ क्षेत्रमा सडक निर्माण भए पनि सुन्दरबजार क्षेत्रमा लोकमार्ग निर्माण हुन सकेको छैन । पाउँदीदेखि सुन्दरबजार हुँदै खत्रीठाँटी भएर किरिञ्चेखोला पुग्नेगरी सडक निर्माण गरिने भनिएको छ । करिब ८ किमिको क्षेत्रमा सर्भे नभएको हो । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१/३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने भन्दै स्थानीय आन्दोलनमा छन् । संघर्ष समितिका संयोजक उत्तम गुरुङले वैकल्पिक रूपमा सडकको सर्भे गरेर निर्माण गर्न भने पनि सरकारी पक्ष नमानेको बताए । ‘हामी बजारको बीचबाट सडक लान दिँदैनौं । विकल्प सरकारले खोज्नुपर्छ’ उनले भने, ‘कहाँबाट बाटो लाँदा कम क्षति हुन्छ,

त्यहाँबाट लानु पर्छ ।’


पाउँदीदेखि सुन्दरबजार, खत्रीठाँटी हुँदी किरिञ्चेसम्म यसअघिको कच्ची सडकलाई पछयाँदै सडक निर्माण गर्ने आयोजनाको योजना छ । यसअघि सडक भएकाले यही सडकलाई पछयाएमा खर्च कम लाग्ने आयोजनाको दाबी छ । तर, उक्त सडकको लगत कट्टा नगरेको, सडक भएकै ठाउँबाट अधिग्रहण गरेर सडक लाँदा प्रायः सबै सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । ‘कतिपयले पुर्ख्यौली ठाउँ बेचेर घर बनाए । विदेशको कमाइले बनाए । घर बनाइएको ठाउँमा सडक बनाउने अनि हामी सुकुम्बासी हुने लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईका निवर्तमान अध्यक्ष गालु मियाले भने । स्थानीयले बस्तीबाट सडक नलान माग गर्दै मन्त्रालय र गण्डकी प्रदेश सरकारसमक्ष प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको बताएका छन् । माग पूरा नभए थप आन्दोलन गर्ने स्थानीयले बताएका छन् ।


सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले बस्तीभित्र सडक पार्ने योजनामा सहमति नभएको बताए । ‘जनतालाई सुकुम्बासी बनाउन दिइने छैन । यसमा स्थानीय सरकार प्रतिबद्ध छ’ बिहीबार आयोजित पत्रकार भेटघाटमा उनले भने । नगरपालिकाको नगरसभाले मानव वस्ती नभएको पाउँदी खोलाको तिरैतिर सडक निर्माण गर्न माग गरिसकेको छ । उक्त ठाउँबाट सर्भे गरिए नयाँ बजारको अवधारणा पूरा हुने र क्षतिपूर्ति कम तिर्नुपर्ने सुझाव छ । यसले सुन्दरबजारलाई चक्रपथका रूपमा समेत विकास गर्न सकिने भएकाले यस क्षेत्रमा मध्यपहाडी लोकमार्गलाई सोही अनुसार गरिनुपर्ने, यसबाट केही स्थानीय सुकुम्बासी बन्न गएमा सरोकारवालाले रकम उठाएर भए पनि क्षतिपूर्तिमा सरकारलाई सहयोग गर्ने संघर्ष समितिले बताएको छ ।


स्थानीय द्वारिकाप्रसाद मिश्रले सरोकारवालालाई मागबारे जानकारी गराए पनि समस्याको समाधान नभएको बताए । ‘हामी विकासविरोधी होइनौं । बस्तीबाट २/३ किमि टाढा सडकमार्ग बनाएका धेरै उदाहरण छन्,’ उनले भने । लोकमार्गको मापदण्ड लागु गरिए सार्वजनिक संरचनासहित ८ सय १३ घर विस्थापित हुने उनले बताए ।


स्थानीयको अवरोध र माग सम्बन्धमा मध्यपहाडि लोकमार्ग समस्या अध्ययन तथा सुझाव संकलन गर्न गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेतको नेतृत्वमा कार्यदल गठन भएको थियो ।


प्रकाशित : आश्विन १२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?