ढिस्कोले पुरिएर सव‍-इन्जिनियरको मृत्यु

दिप्ती सिलवाल

पर्वत — मध्यपहाडी लोकमार्ग बिस्तारका क्रममा माटोको ढिस्कोले पुरिएर आयोजनामा कार्यरत एक प्राविधिकको ज्यान गएको छ । सोमबार बिहान सडक नापजाँच गर्नेक्रममा आयोजनामै कार्यरत मोरङ बेलबारीका सव इन्जिनियर कमल राइको ज्यान गएको हो ।

ढिस्कोले पुरिएर सव‍-इन्जिनियरको मृत्यु

कुश्मा-७ खरेहास्थित सडक चौडा पार्न चौडाई नाप्दैगर्दा सडक माथिबाट एक्कासी माटोको ढिस्को खसेर राई पुरिएका थिए । पुरिएलगत्तै सुरक्षाकर्मी र सडकको एक्साभेटरको सहायताले राईलाई निकालिएको थियो । करिव आधा घण्टापछि ढिस्कोबाट निकालिएका राईलाई तत्काल जिल्ला अस्पताल कुश्मा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको पर्वत प्रहरीले जनाएको छ ।


करिव एक सातासम्म परेको झरीका कारण गलेको माटोको ढिस्को एक्कासी खसेको हो । झरीका कारण प्रभावित बनेको काम आइतबारदेखि सुरु भएको थियो । मध्यपहाडी आयोजनाले कुश्मा बजारक्षेत्रमा सडक चार लेनको बनाउने गरी फराकिलो पारिरहेको छ । सडक चौडा पार्न नाली काट्ने भाग नाप्ने क्रममा सव-इन्जिनियर पुरिएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाप्रमुख आशिष थापामगरले मेहनेती र इमान्दार सव-इन्जिनियर राईको निधनले आयोजनामा अपुरणीय क्षति भएको बताए ।


‘झरीले जमिन भिजेको छ, राम्रोसँग जोगिएर काम गर्नुस् भनेर हिजो मात्रै भनेको थिएँ,’ आयोजनाकै कामको सिलसिलामा काठमाडौं रहेका थापामगरले भने, ‘आज एक्कासी उहाँको यस्तो दुर्घटनाले बिक्षिप्त बनाएको छ ।’ राई आयोजनाको कन्ट्याक्टर लामा कन्स्ट्रक्सन तर्फका प्राविधिक भएको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?