कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

होमस्टेमा धमाधम बुकिङ

(लमजुङ/तनहुँ) — होमस्टे जिल्लाको उपमा पाएको लमजुङमा पर्यटकीय सिजनका लागि होमस्टे धमाधम बुकिङ हुन थालेका छन् । बुकिङसँगै पर्यटक आउने क्रम पनि सुरु भएको छ । मौसममा सुधार आएसँगै पर्यटक आउन थालेको होमस्टे सञ्चालकले जनाएका छन् ।

होमस्टेमा धमाधम बुकिङ

स्मार्ट भिलेजउन्मुख घलेगाउँमा सबैभन्दा बढी दसैं र तिहारबीचको समय बुकिङ भएको छ ।


अहिले दैनिक १५ बढी पर्यटक आउने गरेको र कहिलेकाहीं १ सय कट्ने गरेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सविच दीर्घ घलेले बताए । ‘हिजोअस्ति मात्रै १ सय पर्यटक आएर फर्किए । दैनिक कम्तीमा १५ बढी पर्यटक आउने गरेका छन्,’ उनले भने ।


उनका अनुसार गाउँका ३५ होमस्टेमा १ सय ९२ जनाको क्षमता छ । गत वर्ष सिजनमा दैनिक ३ सय बढी पर्यटक आएका उनले सुनाए ।


‘पर्यटक धेरै आउँदा वरपर व्यवस्थापन गर्नुपर्ने हुन्छ । हामीले होमस्टे सञ्चालन नगरिएका घरमा समेत पर्यटक राख्यौं,’ उनले भने, ‘अहिले स्मार्ट भिलेज बन्दै गएपछि पर्यटकको आकर्षण भनै बढेको छ । यसपटक विगतको भन्दा बढी पर्यटक आउने सम्भावना छ ।’ उनका अनुसार पोखरा, चितवन, काठमाडौंलगायत ठाउँबाट होमस्टे बुकिङ गरिएको हो ।


पर्यटन व्यवस्थापन समिति काउलेपानीका अध्यक्ष देवबहादुर गुरुङका अनुसार केही पर्यटकले आफ्नो बुकिङको सेवा लिएर फर्किएका छन् । १५ घरमा होमस्टेको सुविधा छ । ‘असोज महिना लगभग धेरै दिन बुकिङ छ । हिजो अस्ति मात्रै ३/४ दिन बुकिङकै सुविधा लिएर पर्यटक फर्किएका छन्,’ उनले भने, ‘पर्यटक आउने क्रम सुरु भएको छ ।’


उनले काठमाडौं, पोखरा, बुटवल, दमौलीबाट बुकिङ गरिएको बताए । ‘बुकिङ हुने क्रम जारी छ । बुकिङ गरेपछि आउने पर्यटकलाई पनि ढुक्क भयो । हामीलाई पनि तयारीका लागि सहज भयो,’ उनले भने ।


पर्यटकीय गाउँ भुजुङ, राइनासकोट, सिउरुङलगायत गाउँका होमस्टेमा पनि बुकिङ सुरु भएको छ । पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार दसैं–तिहारका समयका लागि होमस्टे बुकिङ भइरहेको छ । गाउँका १८ घरमा होमस्टे रहेको र पर्यटक आउन थालेको उनले सुनाए ।


राइनास होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु गुरुङका अनुसार पर्यटकीय सिजनका लागि होमस्टेको बुकिङ सुरु भएको छ । दसैं र तिहारको बिदामा गाउँ घुम्न आउने र होमस्टेमा आउन रुचाउने पर्यटकले होमस्टे बुकिङ गर्न थालेको उनले बताइन् । भूकम्पपछि पुनर्निर्माण गरिएको राइनासकोटको १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । ‘घर पुनर्निर्माणपछि हामीले होमस्टे चलायौं । सिजनमा पर्यटकको चाप छ । अहिले बुकिङ हुन थालेको छ,’ उनले भनिन् ।


गण्डकी प्रदेश सरकारले समृद्धिको पहिलो आधारमा पर्यटनलाई राखेको छ । तर, पर्यटन प्रवर्द्धनका कार्यक्रम भने खासै सञ्चालनमा आउन सकेको छैनन् । गण्डकी प्रदेशमा २ सय ७३ दर्ता भएका होमस्टेमध्ये लमजुङमा घलेगाउँसहित २३ गाउँ छन् । होमस्टे प्रवर्द्धन, प्रचारप्रसार, पर्यटकलाई ल्याउने वातावरण, सडक, बिजुलीलगायत क्षेत्रमा गण्डकी प्रदेश सरकारको ध्यान नपुगेको होमस्टे सञ्चालकको गुनासो छ ।


तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित टुटेपानीका ननित गुरुङ दुई वर्ष वैदेशिक रोजगारीमा गए । तर भनेजस्तो भएन । अब उनलाई विदेश जान मन छैन । गाउँमै घरपरिवार, इष्टमित्रसँग रमाउँदै होमस्टे सञ्चालन गरी राम्रो आम्दानी भएपछि अब फेरि विदेश जाने सोच नभएको २६ वर्षीय गुरुङ बताउँछन् ।


उनले भने, ‘गाउँलाई पर्यटकीय हिसाबमा अगाडि लैजाँदा यति राम्रो कमाइ हुन्छ भने अरूको देशमा गएर किन रगत–पसिना बगाउनु । दुई वर्ष विदेशमा दुःख गरे, अब आफ्नै गाउँमा बसेर यही व्यवसायलाई निरन्तरता दिन्छु ।’ होमस्टेबाट आएको धेरै–थोरै पैसाले गाउँमा सपरिवार हाँसीखुसी बस्न पाएकोमा उनी दंग छन् ।


यसैगरी वैदेशिक रोजगारीमा १४ वर्ष बिताएका ५० वर्षीय वीरबहादुर गुरुङ पनि अहिले गाउँमा होमस्टे सञ्चालन भएपछि विदेशलाई माया मारेका छन् । ‘विदेशमा के–के नै हुन्छ भनेर घरपरिवारबाट टाढा रही धेरै दुःख गरें,’ उनले भने, ‘त्यहाँ गरेको दुःख गाउँमै गरेको भए बिदेसिनुपर्ने थिएन ।’ आफ्नै गाउँमा घरपरिवारसँगै बसेर पनि मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनले सुनाए ।


ग्रामीण क्षेत्रका धेरै युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । आफ्नो गाउँठाउँमा स्वरोजगारको कुनै अवसर नभएको भन्दै खाडी मुलुक धाउनेको लर्कोनै लाग्छ । टुटेपानीबाट रोजगारीको खोजीमा थुप्रै युवा विदेशिएका छन् । यतिबेला भने ती युवा गाउँमै फर्केर उद्यममा सक्रिय हुन थालेका छन् । सहरकेन्द्रित पर्यटनलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्ने लक्ष्यसाथ टुटेपानी गाउँमा होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ ।


२०७२ मा सामुदायिक होमस्टे सञ्चालनपछि गाउँको मुहार फेरिंदै गएको छ । सेवासुविधाको खोजी गर्दै बसाइसराइ तथा रोजगारीका लागि युवा विदेश धाउन थालेपछि उजाडिँदै गएको गाउँमा पछिल्लो केही वर्षदेखि पुनः चहलपहल बढ्न थालेको छ । होमस्टेले गाउँमै आम्दानी हुन थालेपछि आधा दर्जनभन्दा बढी युवा गाउँमै फर्किएका छन् ।


विदेशमा आफूले झेलेको दुःख, कष्ट सम्झिँदै वीरबहादुरले अब होमस्टेलाई उत्कृष्ट बनाउन लाग्ने बताए । ‘गाउँकै मकै, ढिंडो र गुन्द्रक खाएर परिवारसँग यहीं बस्छु । मेरा छोरानातिलाई पनि यही सिकाउँछु,’ उनले भने ।


ननित र वीरबहादुर मात्र नभई अन्य केही युवासमेत वैदेशिक रोजगारी छाडी गाउँमा रम्न थालेका छन् । उनीहरूले यही रोजगारी पनि पाएका छन् ।

प्रकाशित : आश्विन ६, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?