कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शीतभण्डार बन्दै

(गण्डकी) — स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैसीडाँडामा करीव ८ करोडको लागतमा व्यवस्थित शीतभण्डारको निर्माण कार्य पुन: सुरु भएको छ । बजेट अभावमा निर्माण रोकिएकोमा सहकारी विभाग र गण्डकी प्रदेश सरकारले बनाउन लागेका हुन् । 

स्याङ्जा शीतभण्डार सहकारी संस्थाको पहल र सहकारी विभाग तथा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरिएको जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले बताए । शीतभण्डार एक हजार मेट्रिक टन क्षमताको हुनेछ । ७ करोड ७३ लाख रुपैयाँको लागतमा शीतभण्डार बन्ने उनले बताए ।


सहकारी विभागबाट प्राप्त २ करोड ५० लाखमध्ये ४० प्रतिशत अर्थात् १ करोड ६६ लाख रुपैयाँ शीतभण्डार सहकारीले लगानी गर्नुपर्ने छ । प्रदेशको कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त हुने २ करोड ५० लाखमध्ये ३० प्रतिशत अर्थात् १ करोड ७ लाख रुपैयाँ पनि शीतभण्डार सहकारीले नै जुटाउनुपर्छ ।


संघीय मन्त्रालय र प्रदेश मन्त्रालयबाट प्राप्त हुने छुट्टाछुट्टै रकमको कामसमेत बाँडफाँड गरिएको संघका अध्यक्ष पौडेलले जानकारी दिए । स्याङ्जा शीतभण्डार सहकारीमा जिल्लाका १ सय ४ सहकारी संस्था तथा पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिका सेयर सदस्य छन् । १० रोपनी क्षेत्रफलमा निर्माणाधीन उक्त शीतभण्डारमा सुन्तला, अदुवा, आलु तथा तरकारी राख्ने योजना सहकारीको छ ।


स्याङ्जामा शीतभण्डार नहुँदा त्यहाँका किसानले उत्पादन गरेको सामग्री बुटवल, भैरहवा, नवलपरासी र चितवनसम्म लगेर सस्तो मूल्यमा बेच्न बाध्य छन् । जिल्लामै शीतभण्डारको निर्माण भएपछि किसानले श्रमअनुसारको मूल्य पाउने भीरकोट नगरपालिका–६ का किसान मिनप्रसाद कोइराला बताउँछन् । ‘घरमा करिब ३५ लाखको सुन्तला उत्पादन गरेको छु । जिल्लामा शीतभण्डार छैन, राख्ने ठाउँको अभाव भएकाले कुहिन्छन् कि भनेर बेलैमा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता छ,’ कोइरालाले भने ।


प्रकाशित : आश्विन ५, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?