१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नाम उपभोक्ता, काम ठेक्का

ठेकेदारले काम गर्दा अधिकांश संरचना कमजोर हुने स्थानीयको भनाई छ । अधिकांश योजना सडक निर्माणको भए पनि डोजर लगाएर खन्ने गरिएको छ । ती सडकले वर्षातमा पहिरो निम्त्याउँछ ।
प्रकाश बराल

(बागलुङ) — बलेवास्थित पाठकथर रोकायापाला खानेपानी आयोजनाको लागत उपभोक्ता समितिमार्फत ४० लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको थियो । समितिले निर्माणको काम रेग्मी कन्स्ट्रक्सनलाई ठेक्कामा दियो । 

नाम उपभोक्ता, काम ठेक्का

उपभोक्ता समितिले काम गर्दा २० प्रतिशत श्रमदान जुटाउनुपर्थ्यो । तर ठेकेदारले सबै काम गरे । काम सकिंदा ठेकेदारले लागतभन्दा बढी रकम मागे । ६० लाख रुपैयाँ मागिएको उक्त आयोजनाको अन्तिम किस्ता भुक्तानी रोकिएको छ । लागत स्टिमेटभन्दा बढीको बिल भरपाई आएपछि जनप्रतिनिधिकै विरोधले भुक्तानी रोकिएको हो ।


बागलुङ नगरपालिका–१० भकुन्डेको भण्डारीटोल सडक मर्मतको डेढ लाख रुपैयाँ लागतको सडकदेखि वडा ११ रायडाँडाको फलाँटेदेखि रायडाँडा पुग्ने सडकको झन्डै एक करोड रुपैयाँ लागतको योजना पनि ठेक्कामार्फत सम्पन्न भयो । वडा १३ को पानीट्यांकी पैयुँपाटा सडकको ढलान गर्ने कामसमेत सोझै ठेक्कामा लगाइएको हो ।


गलकोट नगरपालिका–२ को सभाहल निर्माणको योजना पनि ठेकेदारमार्फत सम्पन्न भयो । ६५ लाखको लागतमा बनेको सभाहलको भुइँतलामा कार्यालय र उपल्लो तलामा ट्रस्ट हालेर सभाहल बनेको छ । भित्री डेकोरेसनका लागि चालु वर्ष साढे ७ लाख रुपैयाँ बिवनयोजन भएको वडाध्यक्ष हेमन्त भण्डारीले बताए । सबै स्थानीय तहले सञ्चालन गरेका सयौं योजनामा अधिकांशको काम ठेक्काबाट हुने गरेको हो ।


‘श्रमदान जुटाउन धेरै समस्या छ, त्यसैले ठेक्कामा गएरै काम गर्नुपर्ने बाध्यता छ,’ बागलुङ नगरपालिका–१३ का अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘उपभोक्ताबाट श्रमदान जुटाउन पनि सकिएको छैन ।’ श्रमदानका लागि हरेक योजनामा २० प्रतिशत लगानी देखाउनुपर्छ । श्रमदान नहुने भएपछि कतिपय स्थानमा उपभोक्ताले नगद संकलन गरेर लगानी गर्छन् भने अधिकांश स्थानमा ठेक्का लगाएपछि ठेकेदारले कम मूल्यमा काम गरेर उपभोक्ताको लगानी उपर गरेको देखाउने चलन छ ।


जिल्लाभर सञ्चालित यस्ता धेरै योजनामा ठेकेदार हावी बन्दै गएका छन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले उपभोक्ताले गर्ने काम ठेक्कामा लगाउन नपाइने बताए । ‘मलाई अहिलेसम्म ठेक्का लगाएको जानकारी छैन’ कुँवरले भने, ‘कानुनले ठेक्कामा लगाउन पाउने व्यवस्था गरेको छैन ।’ उपभोक्ताले श्रमदान गर्न नसके नगद संकलन गरेर जम्मा गर्ने चलन भने भएको उनले बताए । उपभोक्तासँग नहुने मेसिन औजार प्रयोग गर्नुपर्दा, भाडामा लिन सकिने उपकरण ल्याउँदाको खर्च भने बिल भरपाईको आधारमा भुक्तानी दिने गरिएको कुँवरले बताए ।


ठेकेदारले काम गर्दा अधिकांश संरचना कमजोर हुने स्थानीयको बुझाइ छ । अधिकांश योजना सडक निर्माणको भए पनि डोजर लगाएर खन्ने गरिएको छ । ती सडकले वर्षातमा पहिरो निम्त्याउँछ । ‘उपभोक्ता समितिमार्फत खन्ने भने पनि डोजर लगाएकाले पहिरोको जोखिम भएको छ,’ काठेखोला गाउँपालिका–३ का नरबहादुर छन्त्यालले भने, ‘सडक आउनु राम्रो हो, तर बस्ती जोखिम पारेर खन्दा राम्रो भएन ।’ डोजर लगाउँदा प्रतिघण्टा ४ हजारदेखि ७ हजार रुपैयाँसम्म भुक्तानी लिने गरेको उनले बताए । केही रकम फरक पर्दा आउने एकमुष्ट रकमको कमिसनले उपभोक्ताको काम ठेक्कामा जाने गरेको एक प्राविधिकले बताए । ‘कम लागतमा गुणस्तरहीन काम गर्न पाइने भएपछि ठेक्कामा दिइन्छ,’ उनले भने, ‘स्टिमेट र मूल्यांकनमा समेत ठेकेदारको पक्षमा काम गरिदिनेलाई खटाउने चलन छ ।’ उनले कामको जिम्मा दिंदा उपभोक्ताले पत्याएको प्राविधिक खटाउने गरेको अनुभव सुनाए ।


सडक खन्दा पहिरो खसेझैं खानेपानी र सिंचाइजस्ता आयोजनामा कमजोर गुणस्तर भएको गुनासो आउने गरेको छ । काठेखोला–४ को तंग्रामदेखि वडा ३ धम्जा जाने सडकको नाली बनाएर नसकिंदै भत्केको छ । ‘कमिसनका लागि कमजोर संरचना बन्छ, त्यसैले काम नसक्दै भत्कियो,’ स्थानीय टेकबहादुर पुनले भने, ‘बिल धेरै काम थोरै गर्ने प्रवृत्ति हो ।’


लागत स्टिमेट र अन्तिम मूल्यांकनको आधारमा मात्र भुक्तानी आदेश दिन सकिने भएकाले सबै आयोजना कमजोर भएको भन्न नमिल्ने बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले बताए । ‘अन्तिम मूल्यांकनको प्रतिवेदनकै आधारमा भुक्तानी दिने भएकाले छिटफुट कमजोरी भए पनि सबैमा त्यस्तो छैन,’ शर्माले भने, ‘विशेषज्ञ झिकाएर पनि परीक्षण गरिने भएकाले छलकपट गरिने सम्भावना कम हुन्छ ।’ नगरपालिकाको बजेटबाटै बनेका तीनवटा खानेपानी आयोजनामा लागत स्टिमेटको भन्दा बढी खर्च देखाई भुक्तानी माग गरिएको थियो । उपभोक्तामार्फत ठेक्का लिएका ठेकेदारले बिलभरपाई पेस गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?