२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कम्प्युटर सिक्दै आमाहरू

घनश्याम खड्का

(म्याग्दी) — सदरमुकाम बेनीकी ५६ वर्षीया भुनु तिलिजा ९ कक्षामा पढ्छिन् । ६० वर्षकी राधिका आचार्य ५ कक्षामा र ५४ वर्षीया दिलमाया पुन ३ कक्षामा अध्ययनरत छन् । ७ कक्षामा पढ्ने ४३ वर्षीया देवी सुवेदी दैनिक एक घण्टा हिँडेर विद्यालय आउँछिन् ।

कम्प्युटर सिक्दै आमाहरू

इच्छा भए पढ्न उमेरले छेक्दैन भन्ने उमेर र कक्षाको यो फरक उदाहरण हो । नियमित विद्यालय जान नपाएका र औपचारिक शिक्षाको अवसरबाट वञ्चित १५ देखि ६० वर्ष समूहका ६८ आमा यतिबेला बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत छन् । आमा विद्यार्थीको छुट्टै विद्यालय पोसाक छ । नाम लेख्ने धोको लिएर विद्यालय भर्ना भएका आमा अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै छन् भने कम्प्युटर पनि सिकिरहेका छन् ।


‘बाल्यकालमा भाइबहिनी र अलि बढी उमेर भएपछि गाईगोठ स्याहार्नमा बित्यो । अहिले लेखपढ नहुँदा दाँतमा ढुंगा लागेजस्तो भएकाले पढ्न थालेकी हुँ,’ तिजिलाले भनिन्, ‘नपढेकीले सामाजिक तथा राजनीतिक क्षेत्रमा पछि परेको महसुस भएकाले पढ्न आएकी छु, ।’


विद्यालयबाट औपचारिक शिक्षा नपाएका वा बीचमै कक्षा छोडेका उक्त उमेर समूहलाई शिक्षा दिने उद्देश्यले समुदायको सक्रियतामा ३ वर्षदेखि वैकल्पिक विद्यालय खुलेको हो । विद्यालयमा अक्षर चिन्न गएकालाई पहिलो तह, तीन कक्षा पढ्दै विद्यालय छोडेकालाई दोस्रो तह र ५ कक्षासम्म पढेर विद्यालय छोडेकालाई तेस्रो तह मा राखेर पढाइने गरेको छ ।


वयष्कको अनुभव र ज्ञानका आधारमा छोटो र फरक शैलीमा अनौपचारिक पढाइबाट औपचारिक ज्ञान पाउने पाठ्यक्रम बनाइएको छ । विद्यालयमा तह ४ उत्तीर्ण गरे कक्षा ८ र पाँचौं तह उत्तीर्ण गरे कक्षा ९ र ‘ख’ उत्तीर्ण गरे एसईई परीक्षामा सहभागी हुन योग्य मानिन्छन् । विद्यालयमा अहिले कक्षा १, ३, ५, ७, र ९ कक्षा संञ्चालनमा छ । कक्षा ५ देखिमाथि पढ्ने आमा विद्यार्थीका लागि छुट्टै कम्प्युटर कक्षा थप गरिएको छ । कम्प्युटर पढ्न ६ वटा कम्प्युटर जोडिएका छन् । विद्यालयमा नेपाली, गणित, अंग्रेजी, सामाजिक, कम्प्युटरलगायत विषय पढाइन्छ ।


‘विद्यार्थीको मागअनुसार ५ कक्षा माथीका आमा विद्यार्थीलाई कम्प्युटर विषयको आधारभुत शिक्षा पढाउन थालेका छौं,’ विद्यालयकी संयोजक रीता गर्वुजाले भनिन्, ‘प्राय: विद्यार्थीका छोराछोरी विदेश भएकाले मोवाईल, नोटप्याड, ल्यापटप र कम्प्युटर पठाएका तर चलाउन नजानिएकाले सिकाई दिन भनेपछि विद्यालयले कम्प्युटर विषय पनि पढाउन थालेका हौं ।’ शिक्षा विभागले अनौपचारिक कक्षातर्फ तह तीनसम्मको पाठ्यक्रम विकास गरे पनि त्यसमाथी पढ्न चाहने प्रौढका लागि पाठ्यक्रम पनि समस्या छ । पाठ्यक्रम नपाएपछि विद्यालयले तह चार र पाँचलाई नियमित विद्यालयका पाठ्यपुस्तकबाट अनुकुल पाठ्यक्रम तयार पारी पढाउँदै आएको छ ।


वैकल्पिक विद्यालय सरकारको निरन्तर शिक्षा अन्तर्गतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्नसक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम हो । ‘तर माथिल्लो तहका लागि पाठ्यक्रम नपाएपछि स्थानीय शिक्षाविद्को सहयोगमा पाठ्यक्रम तयार गरी अध्यापन गराएका छौं,’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र केसीले भने, ‘उक्त उमेर समुहका सवैलाई साक्षर मात्र होईन शिक्षित बनाउन निरन्तर शिक्षा र वैकल्पिक विद्यालयको संञ्चालन, पाठ्यक्रम र बजेट आवश्यक छ ।’


बेनी सामुदायिक माविअन्तर्गत स्थापित वैकल्पिक विद्यालय सञ्चालन गर्न सुरुमा म्याग्दी सामुदायिक पुस्तकालयसँग ३ कोठा भाडामा लिइएको थियो । अहिले साविकको महिला विकास कार्यालयमा सारिएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म पढाइ हुन्छ । ५ शिक्षक नियुक्त गरिएका छन् ।

प्रकाशित : आश्विन ४, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?