३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

होमस्टेमा परम्परागत संस्कृतिलाई प्राथमिकता

सम्झना रसाइली

(तनहुँ) — नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्षलाई लक्षित गर्दै यतिबेला ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई तीब्रता दिइएको छ । यही कार्यक्रम अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौंले तनहुँको भानु नगरपालिका–१३ टुटेपानीमा होमस्टे (घरबास)मा संस्कृति प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।

होमस्टेमा परम्परागत संस्कृतिलाई प्राथमिकता

भानुको टुटेपानी सामुदायिक होमस्टेको समन्वयमा मन्त्रालयले गण्डकी प्रदेशका नवलपुर, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, मनाङ, लमजुङ, गोरखा, मुस्ताङ जिल्लाको एक/एक वटा र तनहुँका पाँचवटा होमस्टे सञ्चालक समितिका पदाधिकारीलाई भेला गराई ग्रामीण पर्यटनमा स्थानीय समुदायको परम्परागत भाषा, संस्कृति, रितिरिवाजको महत्वका विषयमा अभिमुखिकरण गरेको मन्त्रालयका उपसचिव हरिकृष्ण ज्ञावलीले बताए ।


उक्त अभिमुखिकरण कार्यक्रममा सहभागी होमस्टे सञ्चालकले आ–आफ्नों अनुभव आदान–प्रदान गर्दै संस्कृतिको महत्वका विषयमा चर्चा गरेका थिए । पहुँनाहरूलाई परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी स्वागत गर्दा सबैलाई लोभ्याउने गरेको भानु नगरपालिका–१३ स्थित टुटेपानी सामुदायिक नमूना होमस्टेका अध्यक्ष क्याप्टेन होमबहादुर गुरुङले बताए । उनी भन्छन्, ‘होमस्टेमा आउँने पाहुँनालाई गुरुङ समुदायको परम्परा अनुसार टिका र रिपा लगाई दिने तथा सांस्कृतिक नृत्य प्रस्तुत गरी स्वागत गर्दा पाहुनाहरूलाई मनोरञ्जन हुनुका साथै नयाँपुस्तालाई संस्कृति हस्तान्तरणसँगै प्रचारप्रसारमा समेत टेवा पुगेको छ ।’


होमस्टेमा आउने पाहुँनालाई बाह्रमासे घाँटु नाच, कृष्ण चरित्र, सोरठी, झ्याउरे, पाउँदुरे, चुड्का लगायतका गुरुङ समुदायको परम्परागत साँस्कृतिक कार्यक्रम देखाउने गरेको र यी सांस्कृतिक कार्यक्रमले होमस्टेमा आएका पाहुनालाई थप आकर्षित गर्ने गरेको उनी बताउँछन् । उनले भने, ‘ग्रामीण पर्यटन र होमस्टे सञ्चालनका लागि परम्परागत संस्कृतिले महत्वपूर्ण भूमिका खेल्दो रहेछ ।’ बाग्लुङको भकुण्डेमा अतिथि सत्कार होमस्टे सञ्चालन पश्चात परम्परागत संस्कृति संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुगेको होमस्टेका अध्यक्ष खिमबहादुर थापा बताउँछन् । ‘हामेस्टे नहुँदा भैरवथान मन्दिर दर्शन गर्न आउने पर्यटकलाई राति बस्नको लागि समस्या हुने गर्दथ्यो,’ अध्यक्ष थापाले भने, ‘विसं २०७३ मा अतिथि सत्कार होमस्टे सञ्चालन पश्चात भक्तजनलाई घर फर्किन ढिलाइ भएपनि समस्या भएको छैन ।


यसले गर्दा यस क्षेत्रमा पर्यटनको राम्रो आकर्षण बढ्नुका साथै स्थानीय स्तरमै रोजगारीको वातावरण सिर्जना हुँदा आर्थिक पाटो पनि बलियो बन्दै गएको छ ।’ विशेष गरेर मगर समुदायको बाहुल्यता भएको उक्त होमस्टेमा मगर समुदायको परम्परागत संस्कृति प्रदर्शनीका साथै संरक्षणमा पनि होमस्टे लागि परेको छ । अध्यक्ष थापाले भने, ‘हाम्रो परम्परागत बाँजागाँजा के–कस्ता हुन्छन् भन्नेबारे हामीलाई त्यति थाहा थिएन । अहिले हामीले धेरै पुराना–पुराना लोपोन्मुख संस्कृति, नाचगानको पनि खोजतलास गरी होमस्टेमार्फत त्यसलाई जीवन्त गर्ने प्रयास गरेका छौं ।

प्रकाशित : आश्विन ३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?