कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीन वर्षमा शून्यबाट उत्कृष्ट नगर

प्रकाश बराल

(बागलुङ) — पटक–पटक कर्मचारी समस्या झेलिरहेको बागलुङको गलकोट नगरपालिका स्थापनाको तीन वर्षमै जिल्लामा उत्कृष्ट घोषित भएको छ । महालेखा परीक्षकले गरेको अध्ययनमा पारदर्शिता, संस्थागत निर्णय र खर्चको व्यवस्थापनका आधारमा गलकोटलाई उत्कृष्ट ठहर गरेको हो । 

तीन वर्षमा शून्यबाट उत्कृष्ट नगर

२०७२ सालमा गलकोट नगरपालिकाको रेखांकन भएको थियो । २०७३ को निर्वाचनपछि ११ वडाको नगरपालिका संस्थागत भयो । स्थापनादेखि अहिलेसम्म यो नगरपालिका भाडाको घरमा छ । अधिकांस स्थानीय तहले वित्तीय समानीकरणबाट तलब भत्ता खाने गरेका छन् । तर यो नगरपालिकाले आन्तरिक स्रोत परिचालनबाटै चालु खर्च व्यवस्थापन गरेको छ । ‘हामीले सम्पत्ति कर र व्यवसाय कर लगाएका छौं, त्यसबाटै कर्मचारी व्यवस्थापन पनि गरेका छौं,’ नगरप्रमुख भरत शर्मा गैह्रेले भने, ‘कर राजश्वबाटै वित्तीय साक्षरता, कर अभिमूखिकरण र सामाजिक क्षेत्रका काम पनि गरेका छौं ।’ जनप्रतिनिधि आएपछिको पहिलो वर्ष गत वर्ष १ करोड २८ लाख रुपैयाँ आन्तरिक कमाइ गरेको यो नगरले गत आर्थिक वर्ष १ करोड ५० लाख आम्दानी गरेको छ । संघीय सरकारले दिने अनुदानलाई यो नगरपालिकाले विकास निर्माणमा मात्र लगाएको छ । सशर्त अनुदान बाहेकको बजेटलाई तलबमा खर्च नगरेको प्रशासकीय अधिकृत तुलबहादुर विकले बताए । ‘हामी शून्यताबाट आएका हौं, तर पनि एउटा सिस्टम बनाएर काम गरौं भनेर लागेका छौं,’ उनले भने, ‘महालेखा परीक्षकले गरेको अनुगमनले देखाएको बाटोमा हिड्ने प्रयास गर्दैछौं ।’ कर्मचारी र जनप्रतिनिधिले जथाभावी भत्ता खाने प्रवृत्ति समेत यो नगरमा नदेखिएको हो ।


लेखा व्यवस्थापनका लागि महालेखाले विशेष शुत्रको व्यवस्था पनि गरेको छ । पहिलोपल्ट शुत्र व्यवस्थापन गरेर काम थाल्ने पनि गलकोट नगरपालिका हो । यहाँ लेखा, प्राविधिक लगायत २२ कर्मचारी करारमा राखेर काम भैरहेको छ । सातजना मात्र स्थायी कर्मचारीले सेवा दिएका छन् । वडाहरू पनि खाली छन् । कर्मचारी अभावमा एउटै कर्मचारीले ३ वटासम्म वडा हेर्नुपरेको विकले बताए । भाडाको घरमा भएपनि नगरपालिकाले राखेको फाइल व्यवस्थापन उत्कृष्ट भेटिएको महालेखाका निर्देशक पदमबहादुर बस्नेतले बताए । ‘उहाँहरूको कार्यक्षमता उत्कृष्ट र कुशल व्यवस्थापन देखियो,’ उनले भने, ‘तोकिएको शीर्षक बाहेक अन्यत्र खर्च केहि भएको छैन, नेतृत्वले पनि भत्ता खाएको देखिएन ।’ कर्मचारीको हकमा समेत अत्यावश्यक अवस्थामा मात्र भत्तामा खर्च भएको उनले बताए ।


आर्थिक वर्षको अन्त्यमा समयमै काम सकेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा हिसाव बुझाउनेमा पनि गलकोट अब्बल देखिएको हो । ‘हामी धमाधम काम गर्दै थियौं, गलकोटका साथीहरू काम सकेर कोलेनिकामा हिसाब बुझाउन आइसकेका थिए’ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले भने, ‘थोरै कर्मचारी, नियमित मेहेनत र एकजुट भएर काम गर्दा सफल भइने रहेछ ।’ कुँवरले धेरै अदक्ष कर्मचारीबाट काम गर्दा समयमा काम फर्छ्यौट नभएको गुनासो गरे ।


नगरपालिकाले दर्जनबढी कानून बनाएको छ । बनाएका कानून कार्यान्वयनको काम समेत थालिएको उपप्रमुख रेणुका काउचाले बताइन् । ‘न्यायिक समिति बनाएर स्थानीय विवाद सभाधानको काम पनि गरेका छौं,’ काउचाले भनिन्, ‘नगरपालिका बनाउने मात्र नभई सफल कार्यान्वयन गरेर देखाउन सबै लागेर सफल भयौं ।’ यहाँका प्रमुख भरत शर्मा गैह्रे र उपप्रमुख काउचा दुवै अधिवक्ता समेत हुन् ।


यस अघि बागलुङको ३ वटा निर्वाचन क्षेत्रमा विभाजित भूगोल समावेश गरेर नगरपालिका बनाइएको थियो । गलकोट भन्ने पुरानो राज्य समेत भएकोले बिरासत थेग्न समेत सबै लागेको देखिएको गैह्रेले बताए । ‘यो पुरानो सदरमुकाम थियो, बिभाजित भयो र बिकास हुन सकेन’ उनले भने, ‘अब एकजुट भएर केही गरेर देखाउने बेला आएको छ, त्यसमा हामी जुटेका छौं ।’ समायोजनमा आएका कर्मचारी र करारमा राखिएकाहरूले समेत मेहेनत गरेर सफलतामा पुगिएको उनले बताए । ‘बिकासको बाधक भ्रष्ट्राचार हो, हामीले भ्रष्ट्राचार हुन दिएका छैनौं’ गैह्रेले भने, ‘सबैले पारदर्शीता र सुशासन दिनुपर्छ भन्ने मान्यता बोक्दा सफलतामा पुगिएको छ ।’ लेखा व्यवस्थापन र कार्यालय चुस्त भएपछि बिकास र समृद्धिमा जान सहज हुने उनले बताए ।


यो नगरपालिकाले चक्रपथ निर्माण मार्फत वस्तीमा पुग्ने स्तरीय सडकको योजना कार्यान्वयनमा ल्याएको छ । एक घर, एक धारा अभियानमार्फत कोष संकलन गरेर खर्च व्यवस्थापनको काम थालेको छ ।


प्रकाशित : आश्विन ३, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?