८० नाघेका वृद्धवृद्धाको घरमै स्वास्थ्य जाँच

कान्तिपुर संवाददाता

काठमाडौँ — गोरखा ९० वर्षीय रविलाल अम्गाइलाई बुढ्यौलीसँगै श्वासप्रश्वासको समस्या छ । स्वास्थ्यमा सामान्य समस्या देखिए मेडिकलका स्वास्थ्यकर्मी गुहार्छन् । स्वास्थ्य चौकी पुग्न परे परिवारको सहारा चाहिन्छ । बारपाक सुलिकोट गाउँपालिका–८ प्रन्दुङमा रहेको देउराली भञ्ज्याङस्थित उनकै घरमा बुधबार स्वास्थ्यकर्मी पुगे । स्वास्थ्य जाँच गरे । पानी परिरहेकाले चिसो, खानामा चिल्लो तथा धुवाँ धुलोबाट बच्न सुझाए ।

‘अहिले दोस्रोपल्ट डक्टर घरमै आएर जाँच गर्नुभयो,’ उनले टेलिफोनमा भने, ‘डाक्टर हामीले खोज्नुपरेन, हामीलाई खोज्दै आउँनुभयो, साह्रै खुसी लाग्यो ।’ बारपाक सुलिकोट गाउँपालिकाले ८० वर्ष नाघेका वृद्घवृद्घाको घरमै पुगेर स्वास्थ्य जाँच सुरु गरेको हो ।

कार्यपालिका बैठकको निर्णय अनुसार गत भदौ १ बाट घरमै पुगेर सेवा सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक मोदराज भट्टले बताए । भने, ‘अब विरामी भएपनि/नभएपनि घरमै पुगेर कम्तिमा महिनाको एकचोटी वृद्घवृद्घाको स्वास्थ्य चाँज गर्छौं ।’ वृद्घवृद्घाको स्वास्थ्यमा समस्या देखिए आवश्यकताको आधारमा स्वास्थ्य जाँचका लागि घरमै जान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । ‘आवश्यकताको आधारमा विरामीको अवस्था हेरेर २–३ पटक पनि जान सक्छौं,’ उनले भने ।

नारी, प्रेसर, श्वास प्रश्वास, मुटु घड्कन, दिसापिसावको स्वास्थ्य जाँच हुने उने बताए । ‘दीर्घरोगी भए के औषधि खानुहुन्छ, स्वस्थ्य अवस्था कस्तो छ, वुझेर परामर्श दिन्छौं,’ उनले भने, ‘सुगर, प्रेसर, मुटुको रोग भेटिए सम्बन्धित अस्पताल जान सुझाव दिन्छौं ।’

स्वास्थ्यमा सामान्य समस्या देखिए स्वास्थ्य चौकीबाट औषधि उपलब्ध गराउने उनले बताए । ‘औषधि लिन चाँहि संरक्षकलाई स्वास्थ्य चौकी नै आउन भन्छौं,’ उनले भने, ‘कुनै वृद्घवृद्घा औषधि खाँदा/खाँदै छाड्ने पनि हुन्छन्,
घर परिवारले भन्दा स्वास्थ्यकर्मीले औषधिलाई निरन्तरता दिन भनेपछि उहाँहरूलाई पनि भरोषा हुने भयो ।’ दीर्घरोगीले औषधि सेवनले स्वास्थ्यमा क्रमिक सुधार भए नभएको स्वयं थाहा पाउने उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

गर्भवती युवती १४ दिनदेखि बेपत्ता

कान्तिपुर संवाददाता

(म्याग्दी) — बेनी नगरपालिका–८ बेनी न्युरोडकी १९ वर्षीया गर्भवती मनीषा परियार १४ दिनदेखि बेपत्ता छिन् । 

भदौ १८ गते साँझ अन्दाजी सात बजे घरबाट निक्लेकी मनीषा त्यसयता घर/माइती र आफन्तको सम्पर्कमा छैनन् । श्रीमान शंकर परियारका अनुसार बेपत्ता मनीषा ५ महिनाकी गर्भवती हुन् । श्रीमान टीभी कोठामा रहेको र सासु बाहिर गएको मौका छोपी मोबाइल, हाते पर्स समेत घरमै छोडेर मनीषा निक्लेकी हुन् । साँझ ९ बजेसम्म घर नफर्केपछि परिवारले माइतीलाई फोन गरी मनीषा सम्पर्कविहीन भएको खबर गरेका थिए । लगत्तै दुबै घर/माइती पक्षले मनीषा बेपत्ता भएकाले खोजी गरिदिन प्रहरीमा हुलियासहित खबर गरेका थिए ।

मनीषाको हुलियासहित मातहतका निकाय परिचालन गरी खोजी गरिरहेको प्रहरीले जनाउको छ । माइती/घर पक्षले पनि सम्भावित क्षेत्रमा खोजी गरिरहेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ ।

तीज मनाउन माइती गएकी मनीषालाई उक्त दिन आमा सिर्जना र ठूलो बुबा विकास परियारले जिल्ला अस्पताल बेनी ल्याई उपचारपछि घर पुर्‍याएर फर्केका थिए । यसअघि पनि मनीषा पटकपटक माइती जाने र माइतीले घर ल्याएर छोड्ने गरेका थिए । सकुशल फर्केको जानकारी दिन आमा सिर्जनाले साँझ छोरीको मोबाइलमा फोन गर्दा ज्वाइ शंकरले उठाई मनीषाले खाना खाँदै गरेको भनेका थिए । लगत्तै एक घन्टा नहुँदै मनीषा सम्पर्कविहीन भएको खबर गरेका थिए । ‘गर्भवती युवती बेपत्ता भएकीले परिवारसँग मिलेर खोजीमा जुटेका छौं ।

लामो समयदेखि फेला पार्न नसकिएकाले चुनौती थपिएको छ,’ प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘अनुसन्धान गर्न मनीषाको कल डिटेल झिकाएर अध्ययन गरिरहेका छौं ।’ जिल्ला प्रहरी कार्यालयको ०७५/७६ को अभिलेख अनुसार ४१ महिला, ७ बालक र ११ बालिका हराएको उजुरी परेकोमा १ महिला, ३ बालक र १ बालिका अझैं फेला परेका छैनन् ।

प्रकाशित : आश्विन ३, २०७६ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्