कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गुराँस मास्ने नै संरक्षणमा

नवीन पौडेल

(नवलपुर) — हुप्सेकोट गाउँपालिका–५ का रणबहादुर राना लालिगुराँस संरक्षण कसरी गर्ने भन्ने चिन्तामा छन् । केही वर्ष अगाडिसम्म डाँडाभरि देखिने गुराँस अहिले देखिन छाडेको छ । खोरिया फँडानीसँगै गुराँस पनि मासिएको हो । अहिले यही गुराँस संरक्षणका लागि राना जस्तै हुप्सेकोट–५ का स्थानीय संरक्षणमा लागिपरेका छन् । 

‘पहिला बाबु बाजेले यसको महत्त्व बुझ्न सकेनन् । तत्कालको आवश्यकता पूरा गर्न खोरिया फाँडेर खेती गर्न थाले,’ रानाले भने, ‘न खेती भयो, न गुराँस नै रह्यो । अहिले गुराँस फुलाएर पर्यटक आकर्षित गर्न कम्मर कसेका छौं ।’ हुप्सेकोट–५ धौवादी रुद्रपुरगढीमा केही वर्ष पहिले रातै लालिगुराँस फुल्थ्यो ।


स्थानीयवासीले लालिगुराँस काटे । खोरिया फाँडेर अदुवा खेती गर्न थालेपछि लालिगुराँस मासियो । अहिले गाउँपालिकाले नांगो डाँडामा गुराँस फुलाएर पर्यटकीय क्षेत्र बनाउने योजना ल्याएपछि स्थानीय पनि यसको संरक्षणमा लागि परेको स्थानीय खड्गबहादुर रानाले बताए । ‘हामीले नै मास्यौं, अब हामी गाउँले मिलेर यसको संरक्षणमा जुटेका छौं,’ उनले भने, ‘मगर होमस्टे, लालिगुराँस अनि हाम्रो मौलिक संस्कृतिले पाहुनालाई स्वागत गर्नेछौं ।’


हुप्सेकोट गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन लालिगुराँस संरक्षण अभियान नै चलाएको छ । गाउँपालिकाले ५ हजार लालिगुराँसका बिरुवा यस क्षेत्रमा रोप्ने लक्ष्य लिएको छ । त्यसमध्ये एक हजार विरुवा रोपिसकिएको छ ।


रुद्रपुरगढी ऐतिहासिक स्थल हो । यहाँ सेन वंशीय राजा बस्ने गरेको इतिहास छ । पाल्पाको सेन राजाको थलोको रुपमा यो गढिलाइ चिनिन्छ । सेन वंशको यहाँ पुरानो दरबारको भग्नावशेष पनि छ । यसको संरक्षण र लालिगुराँस फुलाउन सके यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे बताउँछिन् । ‘तराई भएपनि रुद्रपुरमा वर्षभरि नै चिसो हावा चल्ने शीतल वातावरण छ,’ उनले भनिन्, ‘पूर्वपश्चिम राजमार्गबाट केहि घण्टामा नै रमणीय गुराँस फूल्ने स्थानमा बसेर हिमाल हेर्न सकिने यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।’ गुराँस रोपेर स्थानीयवासीलाई संरक्षणको जिम्मा लगाउने स्थानीय तहको तयारी छ ।

प्रकाशित : आश्विन २, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?