ओझेलमा सिद्ध गुफा

प्रताप रानामगर

(दमौली) — सरकारले घोषणा गरेको सय गन्तव्य भित्र परेको तनहुँको भीमाद नगरपालिकामा रहेको सिद्ध गुफा ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो । 

नेपालका गुफामध्ये सिद्ध गुफा सुन्दर भएको सिद्ध गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदी बताउँछन् । ‘सिद्ध गुफा सुन्दर छ,’ उनी भन्छन्, ‘सुन्दर भएकाले पर्यटकीय गन्तव्यमा पर्ने गरी सरकारले घोषणा गरेको हो ।’ गुफा भित्र झन्डै ३ सयजना बस्न मिल्छ । चुन पग्लेर बनेको भगवानका आकृति छन् ।

तीन तलासम्म मज्जाले हिंड्डुल गर्न मिल्छ । गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा ३ किमि लामो छ । यो नेपालकै लामो भएको उनले दाबी गरे । चमेरो गुफाभित्र पातालगंगा रहेको छ । ‘गुफाको प्रवेश मार्ग पुग्दा पानी झरेको आवाज सुनिन्छ,’ उनले भने, ‘तर, भित्र जाँदा पानी झरेको आवाज सुनिन्न ।’ सय मिटर पर पुग्दा दायाँतर्फ नदी कराएको सुनिन्छ । सय मिटर पर पुगेपछि बायाँतर्फ नदीको आवाज सुनिन्छ । तर, नदी देखिँदैन ।

सिद्ध गुफा र चमेरो गुफाको बीचमा हावाको लहरी चल्छ । यो नै सिद्ध गुफा र चमेरो गुफाको अनुपम रहेको उनले बताए । पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षअघि पञ्च वर्षीय गुरुयोजना बनाएर सिद्ध गुफा क्षेत्रको पूर्वाधार निर्माणमा गुफा विकास समिति जुटेको छ । जिदीखोलीदेखि सिद्धगुफा, सिद्ध गुफादेखि चमेरो गुफासम्म सिंढी बाटो निर्माण गरिएको छ । समितिले सिद्ध बाबाको मन्दिर, बाराही मन्दिर, ४ प्रतीक्षालय, २ सुविधासम्पन्न शौचालय निर्माण गरेको छ । पर्यटकलाई मध्यनजर गर्दै सिद्ध गुफा क्षेत्रमा वनभोज स्थल समेत तयार गरेको छ । सवारी साधनलाई व्यवस्थित गर्न पार्किङ स्थल बनाइएको छ । पर्यटकीय गन्तव्य कार्यक्रमको ५० लाख रुपैयाँ, श्रमशिवर सहित अहिलेसम्म पूर्वाधार निर्माणमा झण्डै एक करोड रुपैयाँ खर्च भइसेको छ ।

पूर्वाधार निर्माण करिब–करिब सकिएकोले अब प्रचारप्रसार गरेर पर्यटक भित्र्याउँने समितिका अध्यक्ष सुवेदी बताउँछन् । ‘भम्रण वर्ष २०२० मा पर्यटक भित्र्याउँने हो,’ उनले भने, ‘अब यसकै तयारीमा लाग्ने हो ।’ भीमाद बजारदेखि सिद्ध गुफा ३ किमि दुरीमा पर्छ । उक्त सडकको ग्राभेल भइसकेको छ । सहज रुपमा सवारीसाधन आउँजाउँ गर्न मिल्छ । ओझेलमा परेको सिद्ध गुफालाई अब चर्चामा ल्याउने उनले बताए ।

पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेको स्थानीय लालबहादुर थापाले बताए । ‘पूर्वाधार तयार भएको छ,’ उनले भने, ‘सिद्ध गुफामा आन्तरिक पर्यटक आउन थालेका छन् । यो खुसी कुरा हो ।’

आन्तरिक पर्यटक आउन थालेपछि प्रचारप्रसारमा सहयोग पुग्ने आशा उनी व्यक्त गर्छन् । ‘सिद्ध गुफा पर्यटकीय गन्तव्य बनाउन सकिए यस क्षेत्रको विकास हुन्छ,’ उनी भन्छन्, ‘सिद्ध गुफासँगै आसपासका क्षेत्रमा पनि पर्यटकीय गन्तव्यको पहिचान हुनुपर्छ ।’

सिद्ध गुफा सहित भीमाद–९ का पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गरेको वडाध्यक्ष इमानबहादुर थापाले बताए । ‘भीमाद–९ लाई पर्यटकीय क्षेत्र बनाउने हो,’ उनले भने, ‘पर्यटकीय सम्भावना रहेका ठाउँको पहिचान गरी डीपीआर तयार गरेका छौं ।’ इलुङ झरना, मोहोरियाको घाउच्च लुम्हुँ पाइमीको भ्यूटावरलाई समेटेर एकीकृत पयर्टकीय डीपीआर तयार भएकाले पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने उनले बताए । परापूर्वकालमा जंगलमा सिकार खेल्ने क्रममा मृग र कुकुर गुफा भित्र पसेपछि कुकुरले मृग खोज्ने क्रममा सिद्ध गुफा पत्ता लागेको जनविश्वास छ ।

प्रकाशित : आश्विन २, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपीडितको राहतमा झमेला

ओमप्रकाश ठाकुर

(सर्लाही) — असार अन्तिम साता आएको बाढीबाट पीडित बनेकाहरूले अझै पनि राहत पाउन सकेका छैनन् । बाढीपीडितको विस्तृत विवरण संकलनमा स्थानीय तहले झमेला गरेपछि राहत वितरण रोकिएको हो । स्थानीय तहले अस्वाभाविक विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाएपछि समिति राहत वितरण गर्न हच्केको छ । 

झन्डै दुई महिनाअघि आएको बाढीबाट पीडित बनेकाहरू राहत पाउन नसक्दा थप पीडामा छन् । डुबानमा परी घर भत्केकाहरू महिनौंसम्म पालमा बसेर पुन: घर बनाएका छन् । बाढीको क्षतिको विवरण संकलन गर्न साउन ३ गते जिल्ला विपद् व्यवस्थापन समितिले ३२ वटा टोली गठन गरेको थियो । समितिले एक साताभित्र राहत वितरण गर्ने जनाएको थियो । तर, दुई महिना बित्न लागेको छ अझै पनि राहत वितरण हुन सकेको छैन ।

साउनको पहिलो साता बसेको विपद् व्यवस्थापन समितिको बैठकले हरेक पालिकामा वडाध्यक्षहरूको नेतृत्वमा स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस प्रतिनिधि सहभागी भएर विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको थियो । विस्तृत विवरण दुई दिनभित्र उपलब्ध गराउन भनिए पनि स्थानीय तहले बल्ल विवरण बुझाएका छन् । स्थानीय तहले बुझाएको विवरण अपूर्ण, फर्मेटमा नआएको, अस्वाभाविक आएका कारण राहत वितरण गर्न नसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसको जानकारी स्थानीय तहलाई गराउँदा पनि तदारुकता नदेखाएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

स्थानीय तहले उपलब्ध गराएको विवरणमा बाढी पीडितबाट ९ जनाको मृत्यु, २ सय ५७ जना बेपत्ता, ३ हजार ८ सय ९८ घर पूर्ण क्षति, १२ हजार ६ सय ९६ घरमा आंशिक क्षति पुगेको उल्लेख छ । प्रहरीको तथ्यांकमा भने बाढीबाट ३ जनाको मात्र मृत्यु र ६ सय ५ घर मात्र क्षति भएको उल्लेख छ ।

प्रहरीको तथ्यांकमा बेपत्ता संख्या नभए पनि बरहथवा नगरपालिकाले १ सय ७६ जना र धनकौल गाउँपालिकाले ८१ जना बेपत्ता भएको विवरण बुझाएको र अन्य स्थानीय तहले अस्वाभाविक विवरण पठाएपछि विपद् व्यवस्थापन समिति राहत वितरणमा पछि हटेको समितिका संयोजक जिसीले बताए ।

‘बेपत्ता भएको कही कतै उजुरी नपरे पनि केही स्थानीय तहले सयौंको संख्यामा बेपत्ताको विवरण ल्याए, विवरण सच्याउन भनिए पनि उनीहरूले तदारुकता देखाएनन्,’ उनले भने, ‘अस्वाभाविक विवरणका कारण विपद् व्यवस्थापन समिति राहत वितरणमा पछि हट्नुपर्‍यो ।’ प्रजिअ जिसीले जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट वास्तविक पीडितको घरधुरी सर्वेक्षण गरेर उनीहरूका लागि केन्द्र सरकारसँग ठोसरूपमा राहत वितरणको प्रयास भइरहेको जानकारी दिए ।

बाढीबाट विस्थापित बनेर पालमा बसेकाहरू घर फर्के पनि राहत भने पाउन सकेका छैनन् । उनीहरू राहतको आश मार्दै बेलैमा नपाएकोमा आक्रोस पोखिरहेका छन् । बाढीबाट पीडित बनेकाहरू विपद्का बेलामा पनि सरकारी रवैया चुस्त दुरुस्त नभएको गुनासो गरे । उनीहरूले स्थानीय सरकार पनि विपद्मा सहयोगी बन्न नसकेको दु:खेसो पोखे । ‘बाढीले विस्थापित बनाएकोमा झन्डै डेढ महिनामा पुन: घर फर्केका छौं, यो समय पालमा बस्दा निकै दु:ख भोग्यौं, तर राहत पाएनौं,’ धनकौल गाउँपालिका–३ ढापटोलका राजेन्द्र पासवानले भने, ‘विपद्मा पनि सरकारी रवैया सुध्रिन सकेन, स्थानीय सरकार पनि सहयोगी बन्न सकेन, यसले हामीलाई आशाभन्दा पनि निराशा बढाएको छ ।’
समितिले वास्तविक पीडितभन्दा अर्कै व्यक्तिले राहत पाउन सक्ने आशंकाका आधारमा एकद्वार प्रणाली लागू गरेर राहत वितरण नगरी विस्तृत विवरणमा जुटेको थियो । नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाको राहत सामग्री त्यसै थन्किएर बसेको छ । बाढीपीडितका लागि प्रदेश सरकारले दिएको १० लाख रुपैयाँ र महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले उपलब्ध गराएको ३ लाख रुपैयाँ विपद् व्यवस्थापन समितिको कोषमा थन्किएको छ ।

बाढी तथा डुबानपीडितहरू खुला आकाशमुनि भोकभोकै बस्दा समेत राहत पुर्‍याउन नसक्नु दु:खको कुरा भएको नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले बताए । उनले स्थानीय तहको अकर्मण्यताका कारण गैरसरकारी संस्थामार्फत वितरण भएको राहत पनि वास्तविक पीडितले पाउन नसकेको बताए ।

‘बाढी पीडितका लागि आएको राहत तथा विवरण संकलनमा आना नेता तथा कार्यकर्ता र आसेपासेलाई वितरण गर्न वा नाम समावेश गर्न केही स्थानीय तहमा जनप्रतिनिधि र नेताबीच तछाडमछाड नै चलेको थियो,’ झाले भने, ‘यही तछाड मछाडका कारण वास्तविक पीडितले राहत पाउन सकेनन्, राहतको पोका सबै गोदाममा थन्किएका छन् ।’

राहत वितरणमा स्थानीय तह जिम्मेवार बन्न नसकेको झाको कथन छ । उनले राहतमा स्थानीय तहलाई कमिसन नआउने भएकाले विवरण संकलनमा तदारुकता नदेखाएको आरोप लगाए । स्थानीय तहलाई निगरानी गर्न सक्ने कुनै निकाय नभएकाले अटेरीपन बढेको नागरिक समाजका अध्यक्ष झाको भनाइ छ ।

असारको अन्तिम साता आएको बाढी तथा डुबानका कारण जिल्लाको दर्जनौं बस्तीका सयौं परिवार बेघर भएका थिए । यसअघि अनुमानित विवरण अनुसार भीषण वर्षाबाट जिल्लामा २ हजार ४ सय घरधुरी प्रभावित भएको समितिले जनाएको थियो । तर, भर्खरै स्थानीयतहले दिएको विवरणमा यो संख्या झन्डै सातगुणा बढी छ ।

वर्षाले सप्तरी प्रभावित

राजविराज । पछिल्लो दुई दिनदेखिको निरन्तर वर्षाका कारण सप्तरीको जनजीवन प्रभावित भएको छ । बाढीका कारण कोसी, खाडो, महुली लगायतका नदीमा जलस्तर बढेको छ । मौसम पूर्वानुमान महाशाखाले ती नदीहरूको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सर्तक रहन आग्रह गरेका छन् ।

निरन्तर वर्षापछि खाडो नदीमा आएको बाढी तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीका केही घरमा पानी पसेको गाउँपालिकाको विपद व्यवस्थापन शाखा संयोजक राजेशकुमार झाले जानकारी दिए ।

खाडोकै बाढीले तिलाठी कोइलाडी १ स्थित राजविराज भन्सार कार्यालय, प्रहरी चौकी तिलाठी र सशस्त्र प्रहरीको आउटपोष्ट पनि जलमग्न भएको झाले बताए ।

महुली खोलाको बाढी हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर २ पोर्ताहाका केही घरमा पसेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले जानकारी दिए ।

वर्षाकै पानीको निकास नहुँदा सदरमुकाम राजविराजका सडक पनि दुई दिनदेखि जलमग्न हुँदै आएका छन् ।

मुख्य सरकारी कार्यालयहरू रहेको अड्डा लाइन बगरमा परिणत भएको छ । राजविराजका नालाहरू सफा नभएका कारण पानीको निकास रोकिन गई कम वर्षामा पनि सडकबाटै पानी बग्ने गरेको छ । राजविराज नगरपालिका वडा नम्बर ५ का केही घरमा पानी पसेर समस्या भएको वडाध्यक्ष समीरकुमार झाले बताए ।

प्रकाशित : आश्विन २, २०७६ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्