३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सोह्र श्राद्धमा तीर्थालुको भीड

घनश्याम खडका,

(म्याग्दी) — सोह्रश्राद्ध सुरु भएदेखि नै कालीगण्डकी नदी किनारामा पितृलाई श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ । आश्विन कृष्णपक्ष पितृपक्ष सुरु भएसँगै बेनी–जोमसोम सडकमा मुस्ताङस्थित कागवेनी र मुक्तिनाथ जाने तीर्थयात्रीको भीड बढेको हो । 

सोह्र श्राद्धमा तीर्थालुको भीड

घरमा भन्दा कालीगण्डकीमा सय गुणा र कागवेनीमा श्राद्ध गर्दा हजार गुणा बढी पृतात्मालाई मोक्ष प्राप्ति हुने जनविश्वास रहेकाले सदियौं कागवेनी र मुक्तिनाथ पुगेर पिण्डपानी चढाउने चलन छ । ‘घरमा भन्दा खोलामा, खोलामा भन्दा नदी र नदीमा पनि कालीगण्डकी अझ कागवेनी पुगेर श्राद्ध गर्दा दिवंगत आत्माले मोक्ष पाउने विश्वास छ,’ मुक्तिनाथ मन्दिरका पूर्व पुजारी तथा म्याग्दी क्याम्पसका सहायक प्राध्यापक नारायण सुवेदीले भने, ‘मैले पनि पितृकार्य सधैं कालीगण्डकी तटमा गर्छु ।’


सडक मार्गले सहज भएपछि कागवेनीमा तिथि मिलाएर श्राद्ध गर्ने, भौगोलिक वातावरण हेर्न, मुक्तिनाथ मन्दिरको दर्शन र शालग्राम पहाड तथा दामोदर कुण्ड नुहाउन आउने तीर्थालु बर्सेनि बढेका छन । पितृपक्ष सुरुसँगै मनसुन पनि सक्रिय भएकाले श्राद्ध गर्न निस्किएका तीर्थयात्रीलाई बेनी–जोमसोम सडकको यात्रा कष्टकर भएको छ । सडकको बेगखोलामा पुल नहुँदा दैनिक बिहानमा सवारी अवरुद्ध हुन्छ । सडकको विभिन्न खण्डमा पहिरोले समय–समयमा अवरुद्ध हुने गरेको छ । कहिलेकाहीं ३–४ दिनसम्मै सडक अवरुद्ध हुन्छ । मनसुनले गर्दा सडक झन् जोखिमपूर्ण भएको छ । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ । हिलोमा गाडी फस्दा घण्टौं सडक जाम हुने गरेको छ । ७६ किमि सडक छिचोल्न ठूला बसलाई पूरै ७ घण्टासम्म लाग्ने गरेको छ । ‘हिलो र पहिरोको लेदोले सवारी सञ्चालन जोखिमपूर्ण भएको छ । सडकको स्तरोन्नति गर्न परिचालन गरिएका डोजर लगाएर दैनिक सडक सफा गरी यातायात चलाउने गरेका छौं,’ जोमसोम–पोखरा बस सञ्चालन गरेका म्याग्दी कोरला यातायातका मोहन केसीले भने, ‘बेनी–जोमसोम सडकका यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । सवारी साधन पनि छिट्टै मर्मत गर्नुपर्ने हुन्छ ।’


असोजमा पर्ने दसैंमा नेपाली र चैतेदसैंको समयमा भारतीय धार्मिक पर्यटक बढी आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । नेपाली तथा भारतीय पर्यटकको अभिलेख नराखिने भएकाले संख्या यकिन नभए पनि भदौ–असोजमा दैनिक १ हजार ५ सयको हाराहारीमा चैत–वैशाखमा २ हजारको हाराहारीमा धार्मिक पर्यटक आउने अनुमान एक्यापको छ ।


यसैबीच कागवेनीमा पितृ कार्यमा अवरोध भएको भन्दै विश्व हिन्दु महासंघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध गरेको छ । श्राद्ध गर्न खटिएका दर्जनभन्दा बढी ब्राह्मणसँग एक लाख रुपैयाँ शुल्क तोकिएको विज्ञप्तिमा छ । बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले भने धार्मिक आस्थामा चोट पुर्‍याउने र अवरोध नभएको जनाएको छ । गाउँपालिकाले कागवेनी बजार र धार्मिक क्षेत्र व्यवस्थित गर्न सार्वजनिक शौचालय प्रयोग शुल्क र सामान बिक्री गर्न बसेका व्यापारीलाई व्यावसायिक शुल्क उठाउने विषयमा छलफल चरणमा रहेको प्रस्ट पारेको छ ।

प्रकाशित : आश्विन १, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?